अन्य

यी महिलाले ४१ सयको ‘प्रेम बिमा’ किनिन्, १० वर्षपछि विवाह गर्दा २ लाख बढी जितिन्!

एक चिनियाँ महिलाले सन् २०१६ मा १९९ युआन (४१ सय ४६ रुपैयाँभन्दा बढी) मा ‘प्रेम बिमा’ पोलिसी किनेकी थिइन्। दशकपछि विवाह दर्ता गरेपछि उनले १० हजार युआन (दुई लाख ८ हजार रुपैयाँभन्दा बढी) दाबी गरिन्।

शान्सी प्रान्तको सियानकी वुले माध्यमिक विद्यालयमा भेटिएका आफ्नो पार्टनर वाङलाई यो बिमा उपहार दिएकी थिइन्। उनीहरूले सन् २०१५ मा विश्वविद्यालयमा सम्बन्धलाई आधिकारिक बनाएका थिए।

वाङले सुरुमा भने, ‘उनले प्रेम बिमा किनेको बताइन्, मेरो पहिलो प्रतिक्रिया उनी ठगिइन् भन्ने थियो।’

यो पोलिसी चाइना लाइफ इन्स्योरेन्सले जारी गरेको थियो। यसमा पोलिसीको तेस्रो वर्षपछि १० वर्षभित्र तोकिएको पार्टनरसँग विवाह गरे १० हजार गुलाब, ०.५ क्यारेटको हीराको औंठी वा १० हजार युआन नगद दिने व्यवस्था थियो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यो उत्पादन सन् २०१७ मा बन्द भइसकेको थियो, तर पुराना पोलिसी अझै मान्य थिए।

अक्टोबर २०२५ मा विवाह दर्ता गरेका उनीहरूले नगदको विकल्प राेजे। 

नगदको विकल्पबारे वूले भनिन्, ‘विवाह पहिले नै सकिएको छ। मलाई थाहा छैन कि १० हजार गुलाब कसरी जोगाउने?’

वाङले भने, ‘विवाह र हनिमून पहिले नै सकिएको छ। पैसा आएपछि के गर्ने भनेर हामी निर्णय गर्नेछौं।’

यसले अनलाइनमा निकै चर्चा पाएको छ। एकजनाले भनेका छन्, ‘मेरो श्रीमान र म कलेजमा भेटेका थियौं, पाँच वर्षदेखि डेट गरिरहेका थियौं र विवाह भएको नौ वर्ष भइसक्यो। त्यतिबेला हामीलाई यस्तो बिमाको बारेमा किन थाहा भएन?’

अर्कोले टिप्पणी गरे, ‘यस्तो देखिन्छ कि एक्चुअरीहरूले विश्वास गर्थे कि तीन वर्षभन्दा बढी समयसम्म चल्ने सम्बन्धहरू विवाहमा विरलै टुंगिन्छन्।’

प्रकाशित: ३ माघ २०८२ ०९:०१ शनिबार