महिलाको भेषमा बच्चा बोकेर भाग्ने प्रयास गरिरहेका एक संदिग्ध पक्राउ परेका छन्। घटना ब्राजिलको हो, जहाँ प्रहरीले सिरियल किलर भएको दाबी गर्ने ३३ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको हो।
प्रहरीले उनीसँग सम्बन्धित दर्जनौं पुराना मुद्दा पुनः खोल्ने बताएको छ। रियो दि जेनेरियोबाट करिब दुई हजार ५०० किलोमिटर उत्तरमा पर्ने पाराइबा राज्यको मुलुङ्गु क्षेत्रका जोरलान लोपेस दा सिल्भा कम्तीमा १६ घटनामा संलग्न रहेको प्रहरीले पुष्टि गरेको छ। दुई दिनसम्म खोजी गरेपछि उनलाई गत आइतबार पक्राउ गरिएको हो।
पाराइबा प्रहरी प्रवक्ता गेर्लेन परेराका अनुसार सिल्भाले सोधपुछका क्रममा थप ११ घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। तर उनले आफू ८० जनाको हत्यामा संलग्न रहेको दाबी गरेका छन्। प्रहरीले भने हालसम्म १६ घटनामा उनको संलग्नता पुष्टि गरेको छ।
पक्राउ पर्दा दा सिल्भाले सेतो धर्का भएको कालो पोशाक, लामो कालो विग, महिलाको चप्पल, सनग्लास र रंगाएको नङ लगाएका थिए। प्रहरीले पक्राउबाट बच्न उनले महिलाको भेष धारण गरेको हुन सक्ने बताएको छ। उनी भाग्ने क्रममा एउटा बच्चा बोकेर हिँडिरहेका थिए। प्रहरीले उक्त बच्चा सिल्भासँग सम्बन्धित नभएको बताएको छ।
स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा उनी महिलाको पोशाक र विग लगाएको अवस्थामा देखिएका छन्। यस घटनाको अनुसन्धानका क्रममा प्रहरीले अन्य दुई संदिग्धलाई पनि पक्राउ गरेको बताएको छ।
प्रहरीका अनुसार सिल्भा केही हप्ताअघि पक्राउ गर्न खोज्दा सुरक्षा बलसँगको भिडन्तपछि भागेका थिए। त्यसपछि उनको खोजी तीव्र पारिएको थियो।
सोधपुछका क्रममा सिल्भाले आफूले एक्लै अपराध गरेको र संगठित अपराधसँग आफ्नो सम्बन्ध नरहेको बताएका छन्। उनले आफूले लक्षित गरेका सबै व्यक्ति आपराधिक गतिविधिसँग जोडिएका रहेको दाबी गरेका छन्। आफू र आफ्नो परिवारलाई दिइएको धम्कीको प्रतिक्रियामा कानुन हातमा लिएको उनले बताएका छन्।
उनले आफू मानसिक रूपमा अस्वस्थ रहेको आरोप पनि अस्वीकार गरेका छन्। साथै, १३ वर्षको उमेरमा पहिलोपटक यस्तो अपराध गरेको बताएका छन्।
यसअघि उनलाई पक्राउ गर्ने प्रयासका क्रममा प्रहरीले बुलेटप्रुफ भेस्ट, सबमेसिन गनको भण्डार र १०० भन्दा बढी गोली बरामद गरेको थियो। सोधपुछका क्रममा सिल्भाले ती सामग्री आफ्नो भएको स्वीकार गरेको प्रहरीले जनाएको छ।
अधिकारीहरूले सिल्भासँग सम्बन्धित अन्य घटनाको समेत अनुसन्धान अघि बढाइरहेका छन्। ब्राजिलको कानुनअनुसार दोषी ठहर भए उनलाई अधिकतम ४० वर्षसम्म जेल सजाय हुन सक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: ४ आश्विन २०८३ ०८:१७ आइतबार