भारतको कानपुरमा बालबालिकाबिच सुरु भएको विवादले उग्र रूप लिएपछि एक युवक गम्भीर घाइते भएका छन्।
पारिवारिक झगडाका क्रममा भाउजूले देवरको गुप्तांगमा टोकेको आरोप लागेको छ। घाइते युवकलाई उपचारका क्रममा ५५ टाँका लगाइएको हो। घटनामा संलग्न भएको आरोप लागेकी महिलालाई प्रहरीले पक्राउ गरी जेल पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यो घटना उत्तर प्रदेशको कानपुरस्थित साजेठी प्रहरी चौकी क्षेत्रको पुरौपुर गाउँमा भएको हो। आजतकका अनुसार, ३७ वर्षीय घाइते युवकको नाम रजनीश हो भने आरोपित महिलाको नाम गायत्री हो। उनीहरू एउटै परिवारका सदस्य हुन्।
विवाद बालबालिकाबिचको झगडाबाट सुरु भएको थियो। गायत्रीका छोरा रजनीशकी श्रीमती सुमनको घरमा गएका बेला विवाद भएको थियो। सोही क्रममा रजनीशले आफ्ना भतिजालाई कुटपिट गरेको बताइएको छ। बालकले घर फर्केर आमालाई घटनाबारे बताएपछि उनी आक्रोशित भएकी थिइन्।
त्यसपछि गायत्री देवरको घरमा पुगिन्। परिवारका सदस्यबिच भनाभन सुरु भयो र विवाद बढ्दै जाँदा हात हालाहालको अवस्था सिर्जना भयो। झगडाका क्रममा रजनीशले रिसमा आफ्ना लुगा खोलेका थिए। त्यसपछि विवाद थप चर्किएको र गायत्रीले उनलाई भुइँमा लडाएर गुप्तांगमा टोकेको आरोप लागेको छ।
घटनामा गम्भीर घाइते भएका रजनीशलाई उनका बुबाले सुरुमा घाटमपुरस्थित सामुदायिक स्वास्थ्य केन्द्र लगेका थिए। त्यहाँ प्राथमिक उपचारपछि उनलाई कानपुरको हेलेट अस्पताल रेफर गरिएको थियो। चिकित्सकले उनको चोटको उपचारका क्रममा ५५ टाँका लगाएका हुन्।
घटनापछि रजनीशकी श्रीमती सुमनले गायत्रीविरुद्ध प्रहरीमा लिखित उजुरी दिएकी थिइन्। उजुरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेको हो। प्रहरीले गायत्रीलाई ज्यान मार्ने उद्योगसम्बन्धी आरोपमा पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो। अदालतको आदेशपछि उनलाई जेल पठाइएको छ।
आरोपित महिलाका श्रीमान् पुष्पराज अहमदाबादमा निजी कम्पनीमा काम गर्दै आएका छन्। प्रहरीले घटनाको कारण, झगडाको क्रम र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
प्रकाशित: ९ कार्तिक २०८३ १३:१६ सोमबार