विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला टेक्ने सर एडमन्ड हिलारीको आज स्मृतिदिवस हो। हिलारीको निधन सन् २००८ जनवरी ११ मा भएको थियो।
सन् १९१९ जुलाई २० मा न्यूजील्याण्डमा जन्मिएका सर एडमन्ड पर्सिभल हिलारी एक पर्वतारोही हुनुको साथै उनी अन्टार्कटिक अन्वेषक समेत थिए। हिलारीले तेन्जिङ नोर्गेसँग सन् १९५३ मे २९ मा विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको सफल आरोहण गर्दै कीर्तिमानी राखेका थिए।
सन् १९५३ मे २७ मा सगरमाथ आरोहणको पहिलो प्रयास असफल भएपछि हिलारी र तेन्जिङले मे २९ मा पुनः सगरमाथा आरोहणको प्रयास गरेका थिए। कठिन मौसम र जोखिमपूर्ण अवस्थालाई पार गर्दै उनीहरूले सगरमाथाको शिखरमा पहिलो मानव पाइला राख्न सफल भएका थिए।
सगरमाथा आरोहण पछि करिब १५ मिनेट शिखरमा बसेर उनीहरूले सुरक्षित अवतरण गरेका थिए । हिलारीले आफ्नो सगरमाथा अनुभवलाई ‘हाई एडभेन्चर’ नामक पुस्तकमा समेत लेखेका छन् ।
प्रकाशित: २७ पुस २०८२ ०८:२६ आइतबार