अन्य

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाख बढीमाथि कारबाही

सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि कारबाही गरेको जनाएको छ।

मेटाका अनुसार पछिल्लो दुई वर्षदेखि सिंगापुर प्रहरी बल (एसपीएफ) र मेटाबीच सूचना आदान–प्रदानसम्बन्धी सहकार्य हुँदै आएको छ।

यही सहकार्यका माध्यमबाट मेटाका अनुसन्धानकर्ताले ठगीमा संलग्न समूह तथा उनीहरूले सञ्चालन गरेका विभिन्न नेटवर्क पहिचान गरी ध्वस्त पार्न सहयोग पुगेको कम्पनीले जनाएको छ।

मेटाका अधिकारीहरूका अनुसार जनवरीदेखि जुनसम्म फेसबुक र इन्स्टाग्राममा ठगी तथा जालसाजीसँग सम्बन्धित एक लाख १३ हजारभन्दा बढी अकाउन्ट, पेज तथा अन्य इकाइ हटाइएको थियो।

जुन महिनामा मात्रै विद्यालय बिदाको समयमा परिवारहरू सस्तो यात्रा प्याकेज खोज्न विभिन्न वेबसाइटमा जाने मौका छोपेर ठगी गर्ने प्रयासमा रहेका समूहसँग सम्बन्धित ३३ हजार ६०० भन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरिएको मेटाले जनाएको छ।

त्यस्तै, जुलाईमा मेटाले ठगीसँग सम्बन्धित ३६ लाखभन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरेको थियो।

तीमध्ये अधिकांश ‘शेल पेज’ अर्थात् हाल कुनै सामग्री नराखिएका वा सक्रिय रूपमा प्रयोगमा नरहेका पेज थिए।

यस्ता पेजहरू भविष्यमा ठगीका गतिविधिका लागि अपराधीहरूले खरिद वा कब्जा गर्न सक्ने भएकाले कारबाही गरिएको कम्पनीले जनाएको छ। यद्यपि, मेटाले अघिल्लो वर्षको तुलनात्मक तथ्यांक भने सार्वजनिक गरेको छैन।

ठगी गर्ने समूहहरूले विभिन्न देश र विभिन्न डिजिटल प्लेटफर्ममा एकैसाथ गतिविधि सञ्चालन गर्ने भएकाले समस्याको सम्पूर्ण तस्बिर एउटै संस्थासँग नहुने मेटाले जनाएको छ।

मेटाका एसिया–प्रशान्त क्षेत्रका कानुन कार्यान्वयनसम्बन्धी निर्देशक ड्यारिल पुनले सिंगापुर प्रहरीसँगको सहकार्यले आफूहरूले आफ्नै स्रोतबाट पहिचान गर्न नसक्ने जोखिम तथा गतिविधिबारे जानकारी प्राप्त गर्न सहयोग गरेको बताए।

उनका अनुसार प्राप्त सूचनाका आधारमा ठगी गर्ने नेटवर्कलाई ठूलो स्तरमा कारबाही गर्न सकिने भएकाले ती समूहले धेरै मानिससम्म पुग्नुअघि नै उनीहरूको गतिविधि रोक्न मद्दत पुगेको छ।

मेटाको दक्षिणपूर्वी एसियाका सार्वजनिक नीति निर्देशक क्लारा कोहले ठगी गर्ने समूहहरू अहिले औद्योगिक स्तरमा सञ्चालन भइरहेको बताए।

उनका अनुसार उनीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर ठूलो संख्यामा नक्कली प्रोफाइल निर्माण गर्नुका साथै नक्कली तस्बिर र अन्य सामग्री तयार गर्ने तथा हानिकारक कोडसमेत उत्पादन गर्ने गरेका छ।

मेटाले आफ्ना प्लेटफर्ममा सुरक्षा प्रणाली थप मजबुत बनाउने र प्रयोगकर्ताले देख्नुअघि नै ठगीसम्बन्धी सामग्री पहिचान गरी हटाउने प्रयासलाई निरन्तरता दिने जनाएको छ। एएफपी

प्रकाशित: ७ आश्विन २०८३ १८:३३ बुधबार