अन्य

मासु र दुग्धजन्य पदार्थ बढी खाने पुरुषमा टेस्टोस्टेरोन कम, के खाँदा बढ्छ हर्मोन ?

मासु र दुग्धजन्य पदार्थबाट प्राप्त हुने प्रोटिन बढी खाने पुरुषमा टेस्टोस्टेरोनको स्तर कम देखिएको एक नयाँ अध्ययनले जनाएको छ।

त्यसको विपरीत, गेडागुडी, तरकारी, बदाम र बीउजस्ता वनस्पतिजन्य खानेकुराबाट बढी प्रोटिन लिने पुरुषमा टेस्टोस्टेरोनको स्तर केही बढी देखिएको छ।

पूर्वी फिनल्यान्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले ४२ देखि ६० वर्ष उमेर समूहका दुई हजार ५४६ पुरुषको खानपान र रगतमा रहेको टेस्टोस्टेरोनको मात्रा अध्ययन गरेका थिए। उनीहरूको चार दिनको खानपानको विवरणका आधारमा प्रोटिन सेवनअनुसार चार समूह बनाइएको थियो।

अध्ययनमा सबैभन्दा बढी पशुजन्य प्रोटिन खाने पुरुषमा सबैभन्दा कम खानेको तुलनामा टेस्टोस्टेरोनको औसत मात्रा कम देखियो। त्यस्तै, वनस्पतिजन्य प्रोटिन बढी खाने पुरुषमा यसको मात्रा केही बढी थियो। तर यी समूहबिचको भिन्नता ठुलो थिएन।

थप विश्लेषण गर्दा दूध तथा अन्य दुग्धजन्य पदार्थबाट प्राप्त प्रोटिन बढी खाने पुरुषमा टेस्टोस्टेरोनको मात्रा कम देखिएको थियो। तर मासुबाट प्राप्त प्रोटिनको बढी सेवन र टेस्टोस्टेरोनको मात्राबिच भने स्पष्ट सम्बन्ध भेटिएन। तरकारी, गेडागुडी र अन्य वनस्पतिजन्य खानेकुराबाट प्राप्त प्रोटिन बढी खाने पुरुषमा टेस्टोस्टेरोनको मात्रा उच्च देखिएको थियो।

टेस्टोस्टेरोन पुरुषको शरीरमा पाइने महत्त्वपूर्ण हर्मोन हो। यसले यौन इच्छा कायम राख्न, मांसपेशी र हड्डी बलियो बनाउन तथा रातो रक्तकोष उत्पादन गर्न सहयोग गर्छ। उमेर बढ्दै जाँदा यसको मात्रा स्वाभाविक रूपमा घट्न सक्छ। मोटोपना र टाइप २ मधुमेह पनि टेस्टोस्टेरोनको कम हुने कारण हुन्।

वनस्पतिजन्य प्रोटिन बढी खाने मानिसले फाइबर र शरीरका लागि उपयोगी असंतृप्त बोसो बढी सेवन गर्ने भएकाले यस्तो नतिजा आएको हुन सक्ने अनुसन्धानकर्ताको अनुमान छ। त्यस्तै, पशुजन्य प्रोटिन बढी खानेको खानामा सन्तृप्त बोसो र कोलेस्ट्रोल बढी हुन सक्ने उनीहरूको भनाइ छ।

तर खानपानमा हुने यस्ता भिन्नताले मात्रै अध्ययनको नतिजा व्याख्या गर्न नसकिने अनुसन्धानकर्ताले बताएका छन्। शरीरमा हुने सुजन, इन्सुलिनले काम गर्ने तरिका र रगतमा टेस्टोस्टेरोनको मात्रा कायम रहने प्रक्रियाले पनि यसमा भूमिका खेल्न सक्ने उनीहरूको भनाइ छ।

अनुसन्धानकर्ता मिका विन-एलिसका अनुसार टेस्टोस्टेरोनको मात्रामा देखिएको भिन्नता तथ्यांकका हिसाबले महत्त्वपूर्ण भए पनि निकै सानो थियो। यसले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा अध्ययनले स्पष्ट पारेको छैन। त्यसैले वनस्पतिजन्य प्रोटिन खाँदा टेस्टोस्टेरोन बढ्छ वा पशुजन्य प्रोटिन खाँदा घट्छ भन्ने निष्कर्षमा पुग्न मिल्दैन।

प्रकाशित: १६ कार्तिक २०८३ १४:२३ सोमबार