ब्राजिलका ४९ वर्षीय एडिमार मार्टिन्सले अनलाइनमा प्रेमिका ठानेकी महिलालाई भेट्न आफ्ना सबै सामान बेचे र एक हजार २०० माइलभन्दा बढी यात्रा गरे।
तर, गन्तव्यमा पुगेपछि उनले ती महिला वास्तविक नभई कृत्रिम बुद्धिमत्ता (एआई) बाट बनाइएको पात्र भएको थाहा पाए।
मार्टिन्सले सन् २०२० मा जेसिका ओलिभेरा नामको सामाजिक सञ्जाल खाता देखेका थिए। उक्त टिकटक खातामा तीन लाखभन्दा बढी फलोअर्स थिए। भिडियोमा जेसिकाले आफूलाई फार्ममा साथ दिन आउने पुरुष खोजिरहेको र उनलाई आर्थिक सहयोग गर्ने बताएकी थिइन्।
अक्टोबर ९ मा मार्टिन्सले यात्रा खर्च जुटाउन आफ्ना व्यक्तिगत सामान बेचे। त्यसपछि उनी ब्राजिलको उत्तरपूर्वी क्षेत्रबाट दक्षिणपूर्वी सहर बेलो होरिजोन्टे जाने बसमा चढे। अक्टोबर ११ मा त्यहाँ पुगेपछि उनले जेसिकालाई खोजे, तर भेट्टाउन सकेनन्।
अन्ततः उनी एक स्थानीय रेडियो स्टेसनमा पुगे। त्यहाँ उनलाई जेसिका वास्तविक महिला नभएको जानकारी दिइयो।
न्युयोर्क पोस्टका अनुसार मार्टिन्सले आफू एक्लोपनबाट दिक्क भएर सम्बन्धको खोजीमा टाढा आएको बताएका छन्। उनले भने, ‘मैले मेरा सबै सामान बेचेँ, सबै कुरा त्यागेँ।’
घटनापछि टिकटक खाताको सञ्चालकले जेसिका एआईबाट बनाइएको पात्र भएको स्वीकार गरेका छन्। उनले मार्टिन्ससँग प्रत्यक्ष कुराकानी नगरेको र खाताको उद्देश्य दर्शकको ध्यान आकर्षित गरी सामान बिक्री गर्नु रहेको दाबी गरेका छन्।
घर फर्कने खर्चसमेत नभएपछि मार्टिन्सले बेलो होरिजोन्टेको स्थानीय प्रशासनसँग सहयोग मागेका थिए। त्यसपछि उनलाई घर फर्कन सहयोग गरिएको थियो। अहिले उनी परिवारका सदस्यसँग बसिरहेका छन्।
प्रकाशित: ४ कार्तिक २०८३ ०९:५५ बुधबार