सरकारी जागिर खाने सपना पूरा गर्न नसकेपछि ऋणको बोझमा परेका एक व्यक्ति चोरीको आरोपमा पक्राउ परेका छन्।
भारतको बिहारका एक व्यक्ति मुम्बईको गहना पसलबाट ५ लाख भारु मूल्यको सुनको सिक्री चोरी गरेको आरोपमा एक वर्षपछि पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ४२ वर्षीय सतीश कुमार कृष्णप्रसाद केसरी छन्। कम्प्युटर विज्ञानमा स्नातक गरेका उनी भारतीय प्रशासनिक सेवाको अधिकारी बन्न चाहन्थे। त्यसका लागि उनले पार्ट टाइम काम गर्दै संघ लोक सेवा आयोगको परीक्षा तयारी गरे पनि सफल हुन सकेनन्।
त्यसपछि उनले चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ मा भाग लिए। तर, ‘फास्टेस्ट फिंगर फर्स्ट’ चरण पार गर्न नसक्दा हट सिटमा पुग्ने उनको सपना पनि अधुरै रह्यो।
एनडीटीभीका अनुसार त्यसपछि उनले श्रीमतीसँग मिलेर टुर्स एन्ड ट्राभल्स (भ्रमण तथा यातायात) व्यवसाय सुरु गरे। व्यवसायका लागि ऋण लिएर ४-५ वटा गाडी किने र ओला तथा उबरमा दर्ता गराए। तर, व्यवसायमा घाटा भएपछि उनी ऋणको बोझमा परे।
प्रहरीका अनुसार ऋण तिर्न नसकेपछि उनले गहना पसलमा ग्राहक बनेर जाने र गहना हेर्ने बहानामा लिएर भाग्ने योजना बनाए। सोही योजनाअनुसार २०२५ नोभेम्बर १५ मा मुम्बईको कांदिवली पश्चिमस्थित पद्मावती ज्वेलर्सबाट ४३.२ ग्राम तौलको सुनको सिक्री चोरी गरेर फरार भएको आरोप छ। उक्त सिक्रीको मूल्य ५ लाख भारु थियो।
प्रहरीबाट बच्न उनले मुम्बईको एक छात्रावासमा नक्कली आधार कार्ड प्रयोग गरेका थिए। मोबाइल फोनसमेत बन्द गरेर बसेका उनलाई प्रहरीले सिसिटिभी दृश्य र प्राविधिक अनुसन्धानका आधारमा खोजी गरेको थियो।
एक वर्षको खोजीपछि मुम्बई प्रहरीले २८ अक्टोबरमा दिल्लीको उत्तम नगरबाट उनलाई पक्राउ गरेको हो।
प्रहरीले चोरी भएको सुनको सिक्रीसमेत बरामद गरेको छ। प्रहरीका अनुसार सोधपुछका क्रममा केसरीले कांदिवलीको घटनासँगै मुम्बईको डिन्डोशी क्षेत्रमा भएको अर्को यस्तै चोरीमा पनि संलग्नता स्वीकार गरेका छन्। उनी हाल प्रहरी हिरासतमा छन्।
प्रकाशित: २३ कार्तिक २०८३ १७:२८ सोमबार