विवाह शुक्रबार दिउँसो तय भएको थियो। तर विवाहकै बिहान मेकअपका लागि जाँदा कार दुर्घटनामा परेपछि दुलही गम्भीर घाइते भइन्। तर बिहे रोकिएन।
घटना भारत, केरला अलाप्पुझाको हो। त्यहाँ अवनी र थम्बोलीका शेरोन भीएमको बिहे तय भएको थियो। तर दुर्घटनामा परेपछि अवनीको मेरुदण्डमा चोट लाग्यो। अनि उनलाई कोट्टायम मेडिकल कलेजबाट एर्नाकुलमको एक निजी अस्पतालमा सारियो।
दुवै परिवारको अनुरोधमा डाक्टरहरूले आपतकालीन कक्षमा नै शुभ समय (मुहूर्त) मा विवाह गराउन व्यवस्था गरिदिए। स्थानीय समय अनुसार दिउँसो १२:१५ देखि १२:३० सम्म डाक्टर, नर्स र आफन्तहरूको उपस्थितिमा शेरोनले अवनीसँग विवाह गरे। अस्पतालका अनुसार यो समारोह अवनीको आराम र सुरक्षालाई प्राथमिकता दिँदै साधारण रूपमा सम्पन्न भयो।
अवनीको मेरुदण्ड चोटको सर्जरी सम्पन्न भएको छ। तर उनी अझै आइसियुमा उपचाररत छिन्।
यसैबिच, समारोहको क्लिप भाइरल हुँदा सामाजिक सञ्जालमा बलिउड अभिनेता शाहिद कपूरको बलिउड फिल्म ‘विवाह’ को दृश्यसँग तुलना गरेका छन्। एक प्रयोगकर्ताले लेखे, ‘यस प्रकारको प्रेमले मलाई विवाहको सम्झना दिलाउँछ।’ अर्कोले भने, ‘साँचो प्रेम र मानवता अझै पनि अवस्थित छ।’
तर केहीले आलोचना पनि गरेका छन्। ‘उनलाई कम्तीमा निको हुन दिनुहोस्। अस्पतालको बेडमा मंगलसुत्र बाँध्नु के जरुरी छ? कति अनौठो। यदि साँचो प्रेम हो भने प्रमाणित गर्नु आवश्यक छैन। यस्तो अनौठो भारतमा मात्र हुन्छ।’ एजेन्सी
प्रकाशित: ८ मंसिर २०८२ १३:०६ सोमबार