अन्य

आज यी क्षेत्रमा मेघगर्जन, चट्याङ र हुरीबताससहित वर्षाको सम्भावना

फाइल तस्बिर

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। 

साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बताएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १७ चैत्र २०८२ ०६:४६ मंगलबार