अन्य

सामाजिक सञ्जालमा २७ लाख बढी फलोअर्स भएका ज्योतिषले पाए ३३ मत

भारतको राजस्थानस्थित जोधपुरमा सामाजिक सञ्जालमा लोकप्रिय एक ज्योतिषले गाउँको चुनावमा जम्मा ३३ मत पाएका छन्।

इन्स्टाग्राम, फेसबुक, युट्युब र गौशालाको सामाजिक सञ्जाल खातासमेत जोड्दा ओमप्रकाश बिश्नोईसँग २७ लाखभन्दा बढी फलोअर्स तथा सब्सक्राइबर छन्।

बिश्नोईले जोधपुर जिल्लाको ओसियान तहसीलस्थित इन्दोन की धानी-२ ग्राम पञ्चायतको सरपञ्च पदमा उम्मेदवारी दिएका थिए। उनी सामाजिक सञ्जालमा भविष्य बताउने दाबी गर्दै आएका छन्। तर आफ्नै गाउँको चुनावमा भने उनले जम्मा ३३ मत पाए।

बिश्नोईका इन्स्टाग्राममा १४ लाखभन्दा बढी फलोअर्स, फेसबुकमा दुई लाख ३२ हजारभन्दा बढी फलोअर्स र युट्युबमा पाँच लाख ५० हजारभन्दा बढी सब्सक्राइबर छन्। उनी एउटा गौशाला पनि सञ्चालन गर्दै आएका छन्, जसको ६ लाखभन्दा बढी फलोअर्स छन्।

करिब एक हजार ६०० मतदाता रहेको गाउँमा उनले ३३ मत मात्रै पाए। सामाजिक सञ्जालमा ठुलो संख्यामा फलोअर्स भए पनि त्यसलाई चुनावी समर्थनमा बदल्न नसकेको भन्दै उनको नतिजाबारे अनलाइनमा चर्चा भइरहेको छ।

नतिजा सार्वजनिक भएपछि बिश्नोईले सामाजिक सञ्जालमार्फत गाउँका मतदातालाई धन्यवाद दिएका छन्। उनले मतदाताको निर्णयलाई सम्मान गर्दै चुनावी नतिजा स्वीकार गरेका छन्।

प्रकाशित: १० कार्तिक २०८३ १०:०१ मंगलबार