एक महिलाले गफ गर्ने बानीलाई अनौठो र सफल व्यवसायमा परिणत गरेकी छिन्।
कथा कोलम्बियाकी ६७ वर्षीया मिरियामको हो। उनले कन्टेन्ट क्रिएटर लेडी ड्यानिएला सँगको अन्तर्वार्तामा छिमेकीका कुराहरू बेचेर मनग्य आम्दानी गरेको र सोही पैसाले दुई वटा घर किनेको दाबी गरेकी हुन्।
मिरियाम आफ्नो घर बाहिर बसेर स्थानीय खबरहरू संकलन गर्छिन्। ‘मलाई गफ मन पर्छ,’ उनी गर्वका साथ आफूलाई ‘चिस्मोसा’ (गफ गर्ने महिला) भन्छिन्।
उनी सामान्य जानकारीको लागि पाँच हजारदेखि १० हजार कोलम्बियाली पेसोसम्म शुल्क लिन्छिन्। ‘छिमेकमा एक सम्मानित चिस्मोसालाई सबै कुरा थाहा हुन्छ,’ उनी बताउँछिन्।
उनी जहाँ गए पनि एउटा नोटबुक बोकेर सुनेका कुराहरू टिपोट गर्छिन्। ‘म यहाँ तपाईंसँग कुरा गर्न सक्छु, तर मेरा साना कानहरू मानिसहरूले के भनिरहेका छन् सुन्नको लागि राम्रोसँग राखिएको छ,’ उनी भन्छिन्।
उनको घरमा तस्बिर र कागजातले भरिएको एउटा बुलेटिन बोर्ड पनि छ, जसमा विवाहबाह्य सम्बन्धका कथित तस्बिरहरू समेत छन्। उनी अरूको व्यक्तिगत र गोप्य कुरा लुकाइदिए बापत दुवै पक्ष (श्रीमान् र श्रीमती) बाट पैसा असुल्ने गर्छिन्।
‘गल्फ टुडे’ का अनुसार उनले एक पुरुषसँग श्रीमतीको लुकाए बापत सात लाख कोलम्बियाली पेसो लिएकी थिइन्। अहिले उनको व्यवसायको नक्कल गर्ने अन्य छिमेकीहरूसँग प्रतिस्पर्धा बढेको छ। तर, आफू प्रमाणबिना कुरा नगर्ने मिरियाम बताउँछिन्। ‘म प्रमाण बिना कहिल्यै केही बोल्दिनँ,’ उनी भन्छिन्।
उनले खुत्रुके बैंक देखाउँदै गफ बेचेरै हप्तामा राम्रो कमाइ हुने र त्यही पैसाले दुई वटा घर किनेको उल्लेख गरिन्। साथीहरूसँग बोर्ड गेम खेल्दै गफ साटासाट गर्नु उनको अर्को शैली हो। ‘गफ मेरो जीवन हो; यो मेरो रगतमा बग्छ,’ उनी भन्छिन्। गफ कहिल्यै समाप्त नहुने उनको तर्क छ। ‘तपाईं जहाँ जानुहुन्छ, त्यहाँ गफ हुन्छ, त्यसैले यो कहिल्यै समाप्त हुँदैन,’ उनी थप्छिन्।
‘हरेक सम्मानित छिमेकमा एउटा गफ हुन्छ, र यदि तपाईंलाई गफ थाहा छैन भने, तपाईं नै गफ हुनुहुन्छ,’ उनी भनिन्। उनको यो अनौठो यात्राको भिडियो टिकटकमा भाइरल भएको छ।
प्रकाशित: २५ श्रावण २०८३ १४:१६ सोमबार