अन्य

तराईमा फस्टाउँदाे तस्करी रोक्न टोली परिचालन

लहान–छ महिना लामो मधेस आन्दोलनले जन्माएको तस्करी तराईका सीमावर्ती जिल्लामा टाउको दुखाई बनेको छ। स्थानीय प्रहरीसँग सेटिंग मिलाएर थोरै सामान वारपार गर्नेहरु अहिले ठूलै परिमाणमा समान भित्रयाउन थालेपछि नियन्त्रणका लागि डिआइजीले अभियान सुरु गरेका छन्।पछिल्लो समय पूर्वी जिल्लामध्ये सिरहा र सप्तरीको नाकामा तस्करको रजाँइ छ । जिल्ला, इलाका र सीमाका प्रहरी अधिकारीसँग सेटिंग मिलाएर सुरु भएको तस्करी अहिले फस्टाउँदो छ। सेटिंग मिलेपछि तस्करका सामान स्थानीय सुरक्षाकर्मीबाट पक्राउ पर्ने भय हुँदैन,' सीमावर्ती ठाढीका एक व्यपारीले भने,'यहाँको दृष्य हेर्दा सीमानाका तस्करको नियन्त्रणमा जस्तो लाग्छ।'

भारतीय बजार लौकाहा र खुटौनाबाट तस्करको सामान सिरहाको सीमावर्ती ठाढी नाकाहुँदै लहान बजार आइपुग्छ। यहाँ ती समान स्टक भएर चारैतिर छरिन्छ । कुनै समय तेस्रो मुलुकको सुपारी र लसुन तस्करी हुने प्रमुख नाकाको रुपमा चर्चा पाएको यो नाका पछिल्लो समय तेस्रो मुलुकको स्याउ तस्करीको प्रमुख नाका बनेको छ। पारिबाट वारि सुर्ती र वारिबाट पारि तेस्रो मुलुकको स्याउ तस्करी हुने प्रमुख नाका ठाढी र झाझपटी बनेको क्षेत्रीय व्युरोको टोलीको कारबाही तथ्यांकले देखाउँछ।

मधेस आन्दोलनको आडमा सुरु भएको तस्करी पछिल्लो समय सेटिंग मिलाएर फस्टाइरहेको समाचार बाहिरिएपछि पूर्व क्षेत्रीय प्रहरी कार्यालयले नियन्त्रणका लागि ब्युरोको विशेष टोली सक्रिय बनायो । टोली सक्रियता बढाएसँगै सीमानाकामा हुने सेटिंग तस्करी माथिको पर्दा उर्घिन थालेको छ ।

आइतबार राति झाझपट्टी सीमानाकाको मेनहा गाउँबाट व्युरोको प्रहरी टोलीले भारी परिमाणमा तस्करीको सामानसहित तस्कर समहलाई पक्रेको छ । टोलीले प्लेटमा नम्बर नलेखिएको ट्रयाक्टरमा लोड भएर भारततर्फ तस्करी हुन लागेको १ सय ४७ कार्टुन चाइना एपलहित चार भारतीय र दुई नेपाली गरी छ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत लौकाहा थाना अन्तर्गतको ललमनीयाका मोहम्मद मदेश्वर, मधुवनी बेल्हाका शिवनारायण यादव, मालिन बेल्हाका सुरेन्द्र यादव, सोही ठाउँका बैजनाथ यादव, सिरहा नवराजपुर ८ का बलराम साह र सिरहा मझौरा ३ का बद्री यादवलाई वारीबाट पारी तस्करी गरिरहेको स्याउ र ट्रयाक्टरसहित पक्राउ गरिएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

सन १९५० को नेपाल–भारत वाणिज्य सन्धिमा तेस्रो देशबाट आयातित कुनै पनि वस्तु तथा सामान आफ्नै मुलुकमा खपत गर्नुपर्ने उल्लेख छ । नेपालका लागि भित्रिने तेस्रो मुलुकको चाइना एपल भारत लग्दा अवैध ठहरिन्छ ।

तेस्रो मुलुकको स्याउ मात्र नभई पारिको सुर्ती पनि तस्करीकै माध्यमले वारिका सहरमा खोलिएका सुर्ती उद्योगसम्म पुग्ने गर्छ । आइतबारै व्युरोका टोलीले पारिबाट भित्र्याएको अवैध सुर्तीसहित लहान–८ का उपेन्द्र साहलाई पक्राउ गर्यो । उतm सुर्ती लहान–८ स्थित जगबिर सुर्ती उद्योगको भएको प्रहरीलाई साहले वयान गरे । प्रहरीले उतm सुर्ती उद्योग पुग्दा संचालक फरार भए । साहलाई ३९ बोरा सुर्तीसहित पक्राउ गरी प्रहरीले कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय लहानमा बुझाएको छ ।

एक साता अगाडि व्युरोकै टोलीले लहान ८ स्थित धरमबिर सुर्ती उद्योगका संचालक सहित दुईजनालाई तस्करीका सुर्तीसहित पक्राउ गरी कारबाहीका लागि राजस्व कार्यालयमा बुझाएको थियो । तर, राजस्व कार्यालयले दुबैजनालाई एकघण्टामै छाडिदिएका थिए ।

राति पक्राउ परेको स्याउ लहानबाट भारततर्फ लग्दै गरेको स्रोतले बतायो । नम्बर नलेखिएको ट्रयाक्टरको ट्रलीमा भरी समान बोकेर झाझपट्टी नाका सम्म पुग्दा सम्म स्थानीय प्रहरीको नजर पुगेन । लहान, महेशवारी र झाझपट्टी गरी तिनवटा प्रहरीको घेरा उछिन्दै दशगज्जा नजिक पुगेको तस्करी हुन लागेको स्याउ क्षेत्रबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको घटनाले स्थानीय प्रहरी र अधिकारीहरुको संरक्षणमा तस्करी फस्टाएको छर्लङ भएको स्थानीय बताउँछन्।

झाझपट्टी नाकाका एक स्थानीयले भने,'रातभर तस्करी गर्नेहरु दिनभर सुरक्षा अधिकारीसँग बसिरहेका हुन्छन्। बन्दका बेला तेल र ग्यासको तस्करी गर्नेहरु अहिले तेल छोडेर अन्य समान तस्करी गरिरहेका छन् । यहाँका सुरक्षा अधिकारीसँग उनीहरुको बन्दबेलादेखिकै हिमचिम छ ।'

पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआईजी केशरीराज घिमिरेले भने,'तस्करीका घटनालाई शून्यमा झार्न यहाँबाट बिशेष टोली परिचालन गरेको छु ।' तस्करी र गैरकानुनी कार्यमा जुनसुकै प्रहरीकर्मीको संलग्नता पाइए कारबाही हुने मातहतलाई सर्कुलर गरिएको छ । अटेर गरेर तस्करीलाई मलजल गर्ने प्रहरीकर्मीमाथि पनि छानबिन गरी दोषी पाइए कारबाही हुने डिआजी घिमिरेले बताए।

प्रकाशित: १३ वैशाख २०७३ २३:१८ सोमबार