अन्य

घर सजाउने समानकाे पाेकाेमा ड्रग्स, चार नेपाली पक्राउ

काठमाडौं–भूकम्पमा नेपालीलाई सघाउन आएका एक अष्ट्रेलियन नागरिकको उतैको ठेगाना दिँदा यता नेपालमा तीन नेपाली युवा पक्राउ परेका छन्। उनीहरुले हङकङ बस्ने एक नेपालीलाई अष्ट्रेलिया बस्ने रेमन्ड जोनको स्थानीय ठेगाना दिएका थिए ।लागु औषध नियन्त्रण ब्युरोका डिआइजी जयबहादुर चन्दका अनुसार घर सजाउने सामान पठाउने भन्दै हङकङमा रहेका धर्म पाख्रिनले सम्पर्क राखेपछी उनीहरुले जोनको ठेगाना दिएका थिए । उनको ठेगानामा घर सजाउने सामाग्रिको सट्टा २७ लाख अमेरिकी डलर बराबरको मेथाफेटामाइन गएपछि जोनसँगै एक नेपाली भुपेन्द्र तामाङ अष्ट्रेलियामा पक्राउ परेका थिए ।

पक्राउ परेका दुबै जनाको बयानमा नेपालमा रहेका मनिष श्रेष्ठ, विक्रम लामिछाने र होमबहादुर तामाङले घर सजाउने सामान आउँदैछ लिनु भनेकाले सो सामान लिएको खुलाएपछि अष्ट्रेलियन फेडरल पुलिसको सूचनाको आधारमा ब्युरोको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

ब्युरोको हिरासतमा रहेका तीनै जनाले आफूहरुलाईसमेत पठाउने सामान के थियो भन्ने जानकारी नभएको दाबी गरे। हङकङमा रहेका पाख्रिनलाई जोनको ठेगाना दिएको र उनले सो ठेगाना चीनमा रहेका फ्रयाङक नामका चिनियालाई दिएको बताउँदै' अष्ट्रेलिया पठाउने सामान ड्रग्स हो भन्ने थाहै नभएको' दाबी गरेका थिए ।

प्रहरी अनुसन्धानमा उनीहरुले ठेगाना उपलब्ध गराएर सामान बुझ्ने ब्यक्ति मिलाए वापत एक लाख ५० हजार रुपैयाँ पाउने सहमति भएको खुलेको जानकारी दिँदै ब्युरो प्रमुख चन्दले भने, 'ठेगाना मात्रै उपलब्ध गराएको आधारमा त्यत्रो पैसा त आउँदैन होला ।'

प्रकाशित: १५ चैत्र २०७२ ०३:५१ सोमबार