अन्य

अमेरिकी पेस्तोल बोकेर भारतबाट नेपाल भित्रिएका दुई पक्राउ

सिरहा–भारतको जयनगर थाना अन्तर्गतको खजौलीबाट स्वचालित पेस्तोल खरिद गरि नेपाल आउँदै गरेका दुई युवालाई सिरहा प्रहरीले सिरहा-१७ माड्र सिमाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिर्चैया २१ का मोहम्मद मैनुदिन अन्सारी (२१) र सोही ठाउँ वडा नम्बर ३ का आकाश यादव (२०) छन्।यादव र अन्सारी सवार स ३ प ७७९ नम्बरको मोटरसाईकल जाँच गर्दा सिटमुनी लुकाई राखेको मेडईन युएसए लेखिएको स्वचालित पेस्तोल, ९ राउण्ड गोली लोड गरिएको दुई थान म्यागजिन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपि एकनारायण कोईरालाले जानकारी दिए।

पक्राउ परेकाहरुको साथबाट सिमकार्ड सहितको मोवाईल एक थान, भारतीय सिमकार्ड चार थान, आईडिबिआई बैंकको एटिएम कार्ड र स्टेट बैंकको भिसा कार्ड एक एक थान बरामद भएको कोईरालाले बताए।

उनीहरुको साथबाट प्रहरीले भारतीय विशिष्ट पहचान प्राधिकरण लेखिएको कार्ड समेत बरामद गरेको छ। न्यु होराईजन आर्याभिनव ईन्जिनियरिङ लेखिएको कार्ड समेत उनीहरुको साथबाट प्रहरीले बरामद गरेको छ।

पक्राउ दुबैजनामाथि हातहतियार तथा खरखजना ऐन अन्तर्गत आईतबार जिल्ला प्रशासन कार्यालय सिरहाबाट म्याद अनुमति लिई थप अनुसन्धान भैरहेको कोईरालाले जानकारी दिए। उनीहरुको आपारधिक पृष्ठिभूमिबारे समेत प्रहरीले विवरण खोतल्दै छ। उनीहरु हतियार कारोबार गिरोहका हुन वा अपराध गर्ने उद्देश्यले हतियार भित्र्याएका हुन् भन्नेबारे अनुसन्धानबाट खुल्ने कोईरालाले बताए।

प्रकाशित: १४ चैत्र २०७२ ०१:०३ आइतबार