अन्य

'स्वामी र माँ'हरुको कर्मसाधना र ध्यान

काठमाडौं सतुंगल चोकदेखि करिब डेढ किलोमिटरभित्र पर्छ धौलागिरी आवास क्षेत्र। त्यही क्षेत्रमा अवस्थित छ पथिक फाउन्डेसन। फाउन्डेसनभित्र पथिक ध्यान केन्द्र, ज्ञाननिकेतन त्रिभुजीय शिक्षा स्कुल, सिद्धार्थ सभागार ध्यान केन्द्र र पथिक आवास, इन्द्रप्रष्ट ओशो भवन र गाई गोठमा दुई दर्जन गाईहरु।बिदालाई उपयोग गर्दै मध्य पुसको शुक्रबार म त्यहाँ पुगेकी थिएँ। एक रात त्यहीँ बिताउने गरी। केही साधकहरुसँग परिचय भयो। त्यहाँ बस्ने पुरुष साधकहरुलाई नामसँगै 'स्वामी' र महिला साधकलाई 'माँ' भनेर सम्बोधन गरिँदो रहेछ। त्यो साँझ म निलम माँसँगै सुतें। बिहान चियाको घण्टी बज्यो। म बाहिर निस्किएँ। त्यो बिहान फाउन्डेसनमा मैले धेरै कुराहरु सोचेभन्दा फरक देखेँ।

साधकहरु म उठ्नुभन्दा पहिला नै उठेर काम गरिसकेका थिए। साधकहरुको शैली हेर्दा लाग्थ्यो यो कुनै श्रम शिविर हो। मभन्दा पहिल्यै उठेका सत्यम स्वामी र बन्दना माँले उज्यालो हुनु अगावै गाई दुहिसकेका थिए।

एक समुह नजिकैको गोलभेडा बारीतिर लागे। त्यहाँ थिए सतनाम स्वामी, साबु माँ, तुलसा माँ, ठूली माँ र अन्य साधकहरु। त्यो दिन साधकहरुले कीराले खाएको गोलभेडाको पात काटिरहेका थिए।

काम गर्दै गरेकी सावु माँँ साधनामा लागेकै नौ वर्ष बितेको छ। सानै उमेरदेखि साबु साधनामा लागेकी हुन्। उनी अहिले स्नातक तहमा पढ्छिन्। उनले साधनाकै क्रममा धेरै काम सिकेकी छन्। गाई दुहुन, गाईको सेवा गर्न, खाना पकाउन, खेतीपातीको काम सबैमा पोख्त छिन्। उनलाई कुनै पनि काम गर्न अल्छी नै लाग्दैन।

उनको विचारमा साधकले नियमित गर्ने कामले ध्यान राम्रो बन्छ। 'जति कर्मसाधना गर्छ, त्यति नै धेरै ध्यान गर्दा फाइदा दिन्छ' साबुले भनिन्। सानैदेखि मानिसको जन्मको कारण खोज्ने क्रममा ठूली माँले बाबा आचार्य पथिकसँग भेटाइदिइन्। उनको बुझाइमा बाबाको संगतसँगै जिज्ञासाहरु मेटिँदै गएका छन्।

उनको साधनाको एकमात्र लक्ष्य हो आत्मज्ञान प्राप्त गर्नु। 'जिन्दगीमा पाँच? कुरा प्रसन्नता, सुख, शान्ति, आनन्द, सम्पन्नता मान्छेले जिन्दगीमा खोजेको यिनै हुन्,' उनले सिकाएकै शैलीमा भनिन्। यी सबै गुरुको निर्देशनमा गरेमात्र प्राप्त हुने उनी बताउँछिन्।

'मान्छेको लक्ष्य जे गरे पनि आनन्द प्राप्त गर्नु हो,' उनले भनन्। उनले साधनाको प्रतिफल सुनाउँदै भनिन्, 'अहिले तपाईंले एक झापड हान्नुभयो भने पनि सहन सक्छु।'

सावु माँ फाउन्डेसनको बसाइसँगै ध्यान, कर्म र सामुहिक जीवन प्रणालीमा जिउन अभ्यस्त बनिसकेकी छिन्। 'निजी सम्पत्ति हुँदैन, जीवन नै सार्वजनिक, यत्रो कर्मसाधना हाम्रो लागि पनि हो,' उनले भनिन्। सामुहिक खेतीबाट साधक र बाहिरकालाई खुवाउन सफल भएको बताइन्।

माँले कर्मसाधनाले दिएको उपलब्धिको लेखाजोखा गरेकी छन्, 'हामी कस्तो प्राकृतिक कुरा खाइरहेका छौं, दश दिनमा सुई हानेर फलाएको गोलभेडा जस्तो हैन।'

गोबर सफा गर्दै थिए साधक स्वामी। फाउन्डेसनकै ज्ञान निकेतन स्कुलमा पढाउँछन्। बिहानबेलुकी गाई चराउनु, मल खेतबारीमा पुर्यािउनु उनको दैनिकी हो। उनी दुई वर्षदेखि साधना गरिरहेका छन् । उनले यहाँ गर्ने सवै काम उनकै रोजाइ हो।

झट्ट हेर्दा अप्ठेरोझैं लाग्ने उनको काम छ तैपनि आफूले आनन्द पाइरहेको साधक स्वामी बताउँछन्। कर्मसाधनाबाटै उनलाई यो कुराको बोध भयो कि समझदारीमा गरेको काममा रमाइलो हुन्छ। 'उता काम गरिरहेको हुन्छु, त्यही समयमा नियालिरहेको हुन्छु, 'साधक स्वामीले भने, 'शरीरमा कसरी ऊर्जालाई व्यवस्थापन गर्ने? त्यसलाई हेरिरहेको छु।'

गाईको सेवा गर्दा उनलाई दुइटा कुराको बोध भयो, गाई सजीव प्राणी रहेछ र यिनीहरुले अरुले गरेको व्यवहारको प्रतिक्रिया जनाउँदा रहेछन्। 'सुरुमा गाईको रौं तान्दा लात्ताले हान्थे, अहिले त्यही रौं तान्दा हल्का प्रतिक्रिया मात्र जनाउँछन्,' उनले भने। गाईको सेवाबाटै गाईको प्रतिक्रिया बु‰ने अवसर मिलेको उनले सुनाए। 'सेवा गर्दै जाँदा गाईले मलाई पे्रमको प्रतिक्रिया दिएको थाहाँ पाएँ,' उनले भने।

साधना अघि उनमा मोटोपन र बोलीमा अवरोध समस्या थिए। अहिले नियन्त्रण भइसकेका छन्। 'पहिला रुघा लाग्दा औषधी खान्थेँ, अहिले नाक बन्द भयो भने अहिले योगासनबाटै नाक खुलाउँछु,' उनले भने।

त्यो बिहान गोलभेडा बारीमै भेटिएकी हुन् तुलसा माँ। नियमित ३० जनालाई खाना पकाउनु नियमित काम हो। खाना पकाएर बचेको समय गाई सेवामा बिताउने गरेको उनले बताइन्। परिवारमा पिताको निधनपछि उनमा एक्लोपनाले सतायो। यो घटनापछि उनी अरुको पनि पीडा बोध गर्न सक्थिन्। सडक बालबालिकाको हेरचाहमा जुट्थिन्। पहिल्यैदेखि साधनामा लागिसकेकी दिदी ठूली माँले उनलाई बाबा पथिकसँग भेटाइदिइन्।

सात वर्षको साधनासँगै माँलाई जीवन सार्थक लाग्न थालेको छ। उनी भन्छिन्, 'परमात्मासँग मिलाउँदै सार्थक जीवन बिताउने नै हो,' माँले फेरि भनिन्, 'हामीलाई कसले बनायो भन्ने स्रोतलाई भेट्ने बाटो नै परमात्मा हो। जहाँबाट आयौं, त्यहीँ गएर मिल्नु नै परमात्मामासंग मिल्नु हो।'

अध्ययनले जीव विज्ञानमा स्नाकोत्तर हुन् सत्यम् स्वामी। ज्ञान निकेतन स्कुलमै पढाउनु र बिहान–बेलुकी आश्रमको आर्थिक व्यवस्थापनको काम, गाईसेवा, दूध बेच्ने लगायतका काम गर्छन्। न उनको अध्ययन अनुसारको काम हो न क्षमता अनुसारको। श्रमको सम्मान, ध्यान र साधनाकै लागि सबै काम गरेको उनले बताए।

साधना गर्नेहरुको लागि पूरै समय यहीँको कर्मसाधनामा लगाउन पाउने र बाहिर जागिरमा जाने छुट छ। 'हामी उत्पादन गरिरहेका छौं, बाहिर गएर केही गर्छु भन्नेलाई रोकतोक छैन,' उनले भने। साधकहरु मध्ये ५० प्रतिशत जागिरमा जान्छन्। बाँकी यसकै व्यवस्थापनमा खट्छन्। छोटो अवधि बस्नेको हकमा खाना र थोरै बसाइको शुल्क लाग्छ भने त्यहीँको कर्मसाधना गर्नेलाई शुल्क लाग्दैन।

सत्यम स्वामीका अनुसार साक्षी भावले हेर्दै गर्ने काम ध्यान हो। अनविज्ञ शरिरलाई भाव र बिचारले कसरी बोध गर्छ भन्ने कुरा बुझेको उनले बताए। 'कर्मसाधना गरिरहेको छु, हावा जसरी ठोक्किएर शरीरले जसरी बोध गर्छ। ती सबै कुराको समायोजन कर्मसाधनाले गर्छ,' उनले भने। ध्यान र विचारको अध्ययन कर्मसाधनाबाटै सम्भव भयो।

पेशाले इन्जिनियर हुन् सतनाम स्वामी। फाउन्डेसनको व्यवस्थापनदेखि खेतबारीको सबै काम गर्छन्। 'किन सामान्य काममा ब्यस्त?' जवाफमा उनले भने, 'मुख्य कुरा श्रमप्रति सम्मान जगाउनु नै हो।' साधकहरुले गर्ने कर्मसाधनाको औचित्यबारे बाबा पथिकको छुट्टै तौरतरिका छन्।

स्वामी सतनामका अनुसार गौतम बुद्धले मान्छेमा दुःखको बारेमा जुन सम्बोधी प्राप्त गरे। त्यो ज्ञान बाँड्नकै लागि संघहरु बनेका थिए। संघमा आवश्यक कुराहरु भिक्षुहरुले गाउँबाट ल्याउँथे। यसले संघ गाउँसित परनिर्भर बनेको थियो। त्यो परम्परालाई तोडेर ओशोले संसारमै संन्यासको विकास गरे। त्यसलाई बाबा पथिकले थप परिमार्जन गरेका छन्। त्यो हो कर्मसाधना, उत्पादनसँगै ध्यान।

'संघको काम नै बुद्ध पुरुषले पाएको ज्ञानलाई सामुहिक रुपमा वितरण गर्नु हो,' स्वामीले भने। उनले अगाडि भने, 'संघमा जति बुद्ध पुरुषहरु जोडिएर रहन्छन्, त्यति नै संघको सार्थकता हुन्छ।' यही परम्परागत संघलाई बाबा पथिकले परिमार्जन गरेका हुन्।

पथिक फाउन्डेसन बुद्धकालीन बिहारकै परिमार्जित स्वरुप हो। जहाँ आध्यात्मिक ज्ञान र उत्पादनको मिश्रण छ। स्वामी सतनामका अनुसार पथिकले संघमा केही नयाँ प्रयोग गरेको छ। त्यो हो नेपालको कृषि क्षेत्रलाई परिपक्व गराउँदै औद्योगिक यात्रा गर्नु।

'खेतबारी खन्दा प्राणायमसँगै ध्यान हुने भएकोले यसमै लागेका हौं,' उनले भने, 'जीवन, दर्शन, प्राणायम र प्रकृति जोडिएको छ।'

कर्मसाधनासँगै पहिला व्यवस्थापनको काम गर्थे उनी। अहिले खेतीबारीको काम पनि। 'श्वास चलाउँछु, सक्रिय ध्यान भयो, दुई ठाउँमा उत्पादनशीलता,' उनले भने। एउटा कृषि जीवन्त चिजसँग जोडिएर साधकले निर्दोषी पेशा अपनाएको सतनामले बताए।

कामको प्रकृतिले पनि पुस्तौं प्रभाव पार्ने भएकोले साधकहरुले कामको प्रकृति पनि सरल र निष्कपट किसिमको गर्नु पर्ने पथिक फाउन्डेसनको मान्यता छ। 'मासु काट्ने, बेच्ने, ढाँटछल गर्नु हुँदैन,' स्वामीले भने। सतनामले प्रष्ट पारे, 'दिनभरि सक्रिय ध्यान गरेर गयो, बेलुकी ढाँटछल गरियो भने साधना खेर जान्छ।'

अध्यात्म आफैंमा विज्ञान भएकोले यसले मन र चेतनाको अध्ययन गर्ने स्वामी बताउँछन्। मानिसमा अध्यात्मिक ज्ञान बुझाउन कठिन कुरा भएकोले नै छिटो सवैलाई यो सामुहिक जीवनमा ल्याउन नसकेको सतनाम बताउँछन्। 'संस्कार र सिद्धान्तको कारण चैतन्यको अवस्था मिलेको हुँदैन,' उनले भने।

यहाँ कुनै एक ऋषि र बुद्ध पुरुषको मात्र सम्मान छैन, बरु जसले मानव समाजलाई सुखी बनाउने बारेमा चिन्तन मनन गरे, ती सवैको सम्मान छ। कार्ल मार्क्स, कृष्ण, कविर, नानक, महात्मा गान्धी, मीरा, आइन्सटाइन सबैको सम्मान गरिन्छ।

फाउन्डेसनको ध्यान मन्दिरमा यी सबैको शालिक तथा फोटोहरु राखिएका छन्। २१ औं शताब्दीमा कुनै पनि गलत कुरा नडराइकन भनिदिने गुरुको रुपमा आशोलाई गुरुको पनि गुरुका रुपमा लिने गरिन्छ।

प्रकाशित: १२ चैत्र २०७२ २३:२६ शुक्रबार