यही परिवेशबीच अहिले कांग्रेस निकट भनिने नेपाली लेखक संघको चितवनमा चैत १९–२० मा हुन लागेको अधिवेशन समीक्ष्य दृष्टिले अघि सारिएको छ। त्यसो त यस भन्दा अघिको सन्दर्भ उठान गर्दै केही लेख्ने र भन्ने मेरो मन थिएन। अपितु कवि वियोगी बुढाथोकीको एउटा कविता अंशले मलाई यति लेख्न प्रेरित गर्योः
भन्न त मन छैन
तर, नभन्दा मन दुख्छ।
नभनेर आफ्नै मन दुखाउनु भन्दा केही भनेर मन हल्का गर्न–गराउन यति लेखिरहेछु। नेपाली लेखक संघले नेपाली कांग्रेस पार्टीको तेह्रो महाधिवेशनको मुखमा आएर शुभेच्छुक संस्थाको 'ट्याग' पाउन पार्टीमा विन्ती विसाएको थियो। खासगरी शुभेच्छुक संस्थालाई प्राप्त हुने महाधिवेशन प्रतिनिधिको 'कोटा–प्राप्ति'का लागि संघका पण्डितहरुले कट्टर कांग्रेस हुन निवेदन दर्ता गराएको सबैले बुझेको तथ्य हो। संघ वास्तवमा नै कांग्रेस पार्टीको सुख दुःखको साथी र शुभेच्छुक हुन चाहन्थ्यो भने त्यसले किन विगतमा निवेदन दिएन? यसलाई यसैगरी सोच्नु पर्दछ।
संविधानसभा निर्वाचनको दुई/दुई श्रृंखला सम्पन्न हुँदा र त्यसअघिका अनेकन् आरोह–अवरोहमा जतिखेर कांग्रेस जर्जर र थिलथिलो थियो, त्यतिखेर लेखक संघ, त्यसको नेतृत्व र त्यही समेटिएका 'लेखकहरु' कहाँ थिए? सोध्नेले नसोधोस् यो प्रश्न। तर खोज्नेले खोज्नैपर्छ यसको उत्तर। वि.सं. २००८ सालमा दर्ता गरिएको दाबी गर्ने लेखक संघ ०६२/०६३ सालको आन्दोलनपछि अस्तित्वमा आए पनि संघका गतिविधि र यसका 'हर्ताकर्ता'हरुले कहिल्यै पार्टी नीति र पङ्क्तिमा रहेर काम गरेको कसैलाई पत्तो छैन। संघमा एकसे एक स्वनामधन्य र पढेलेखेका चर्चित–अचर्चित डाक्टर साप पदाधिकारी छन्। तर तिनीहरु वि.सं. २०४६ सालपछि कांग्रेसको सरकार गठन हुँदा 'लाभ' भेटेकाहरु बढी देखिन्छन्। पार्टीको 'शुभ' काममा एकदिन पनि सानेपा परिसरमा नदेखिने र वालुवाटार वृत्तको सत्तामा 'डेलिगेसन' गएर 'वडा कांग्रेस' ठहरिनेहरुकै हालिमुहाली संघमा थियो र छ।
कांग्रेसमा दुःख पाएका, विद्यार्थी कालमा नेविसंघको राजनीतिबाट उदाएका, क्षेत्रगतरुपमा विभिन्न इकाइ र क्षेत्रमा काम गरेका भन्दा सत्तालोलुपहरुको बुई चढेर झण्डा हल्लाउनेहरुसँग लुकेर 'जयनेपाल' गरेकै भरमा सत्ता र भत्ता लिने सूत्र बुझेकाहरु संघका 'मठाधीश' छन्। वास्तवमा साझा प्रकाशन, रेडियो नेपाल, नेपाल टेलिभिजन, त्रिभुवन विश्वविद्यालय, गोरखापत्रदेखि प्रज्ञा प्रतिष्ठानका कुर्सीहरु खाली हँदा त्यहा विराजमान हुन मात्र जुर्मुराउनेहरुकै हावी छ नेतृत्वमा। अनि संघको नेतृत्वमा पुग्ने र पुर्यानइने अर्को अनिवार्य शर्त त्यहाँ छ : 'कि तिमी झापाली होऊ नभए कि कार्की किचेनमा मार्फाली समाऊ।'
संघमा विधि–विधान र बैठकको अर्थ छैन। कांग्रेसको काँधबाट सरकारी नियुक्ति पाएर रेडकार्पेटमा हिड्नेहरुले १० बाई १२ फिटको एउटा कोठासम्मको कार्यालय खोलेका छैनन्। कहिले 'लेदर व्याग'त कहिले 'साइड व्याग'मा बोकेर संघलाई पारिवारिक क्लबभन्दा माथि उठाइएको छैन। चार पान्ने विधान भन्नुको मात्र छ। न त्यसको दर्ता छ, न त अनुगमन नै। विधानमै नभएको क्षेत्रीय उपाध्यक्षदेखि अञ्चल समिति गठन भए गरिएका छन्। कहाँ कसलाई कुन पद दिने? त्यो अधिकार तजविजी होइन चुनाव क्रममा तत्काल निर्णय लिइन्छ। संघ सदस्य हुन स्रष्टा कम र 'शायर' बढी हुनुपर्छ। सदस्यता नवीकरणमा पारदर्शिता त छैन, छैन, त्यसमाथि महाधिवेशन प्रतिनिधि चयन शिवरात्रिको नांगा बाबाहरुकै मर्जी झैं कि 'स्वाट्ट' पारिन्छ कि 'च्वाट्ट' काटिन्छ।
एकसे एक वडानामधारी स्रष्टाहरुको जमातमा होनहार युवा सर्जकहरु संघका सदस्य छन्। वडाहरुले छोटामाथि स्नेह र अनुराग देखाउँदैनन्। भाइ–कांग्रेसहरुको डरमा बोझिलो सम्बोधनले दाइहरु वामपन्थ चिन्तनका खेताला स्रष्टाहरु खोज्छन्। उनीहरुलाई ज्यान गए पनि क्रियाशील सदस्यताको 'घनेन्द्र' मन पर्दैन। रमेश सुन्दर–शिल्पका स्रष्टा हुन्, त्यसमाथि उनीहरु 'भर' गर्दैनन्। सम्भावना भएका 'हेमन्त'सँग नेतृत्वले सल्लाह गर्दैन। ठाकुर–भोजराज दमदार र ओजदार छन्, तिनीहरुलाई क्षेत्रीय संकीर्णताले ठाउँ दिँदैन। गोकुल–विवशमा विराट प्रतिभा छ तर उनीहरु मोरङ्गका परेपछि चासो कस्को? तीर्थ–धु्रव–विजय केवल नाम बचाउन समेटिएका हुन्। कालीकोटका बम र धनगढीका रामलालको अवस्था त्यत्तिकै फालिएका मोतीभन्दा कहाँ प्रसंशित र सुरक्षित छन् र! प्लस टु का आँकुरा शिष्य भए पुग्छ, उनीहरुलाई। त्रिविका कतिपय 'सर'सँग पनि उनीहरुको डर नै देखिन्छ।
यी विडम्वनाका तस्वीर र तथ्य बोकेको लेखक संघ वाध्यात्मक अवस्थाले गर्दा मात्रै अधिवेशन–उन्मुख भएको हो। अधिवेशनको हतारो र चटारोबीच संघको नीति–कार्यक्रम र योजनामाथि अहिले कुनै चर्चा र चिन्ता देखिएको छैन। नेतृत्वमा पुग्ने र पुर्याचइने गठजोडकै लागि भेटघाट र 'एसएमएस' शुरु गरिएको छ। विगतको समीक्षा विना आगतको गन्तव्य प्रष्ट नहुने सत्य बुझेर संघका सदस्यहरुले गम्भीर मन्थन र वहस थालिनपर्छ। स्वाभिमानी स्रष्टाको चरित्र भन्नु नै देखेको बोल्नु र बोलेको लेख्नु हो। त्यसैले अधिवेशन प्रक्रियालाई फगत् कसैको कुनै समूह र केही मठाधीशहरुकै 'अभिसिञ्चन–विधि' बनाउने हो भने, भन्नु केही छैन। अन्यथा एउटा बहसको थालनी यहीबाट थालियोस् अपेक्षा यही हो।
अन्त्यमा यति भनिसक्दा मेरो पनि मन दुख्न छाडेको छ। नभनेको भए त्यही हुन्थ्यो त्यसैगरी जो विगतमा भए गरिएका थिए र धेरैको मन दुखाइएको थियो। कम्तिमा अब लिनु केही छैन, संघ 'तीनपाते' क्लब शैलीबाटमाथि उठेर सबै अटाउने बटवृक्ष बनोस्। शुभकामना!
प्रकाशित: ५ चैत्र २०७२ २१:५५ शुक्रबार