अन्य

होश रखियो

'केहरी ओर?' हतारिएर हिँडेकी छिमेकलाई उसले कतातिर भन्ने भावमा प्रश्न गरी। 'जुलुसमें नाइ जैबु? सारा गौवाँ उलटके जात बा, होश रखियो!' नाकको नस्ता हल्लाउँदै छिमेकीले तिमी जुलुसमा नजाने भनेर उल्टै प्रश्न तेर्साई।त्यही प्रश्नमा सदरमुकाममा भइरहेको धर्ना र जुलुसमा जान लागेको भन्ने उत्तर लुकेको छ। आन्दोलित मधेसका बासिन्दा कोही रहरले त कोही करले धर्ना र जुलुसमा सहभागी भैरहेका छन्। उसले आफ्नो गाउँबाट लोग्नेमान्छेसँगसँगै आइमाईहरु जुलुसमा गएको देख्छे। अरु काम गर्न त पढ्नलेख्न पर्ने, जुलुसमा जान धेरै पढेलेखेको हुनु पनि नपर्ने, लोग्नेमान्छे नै हुनु पनि नपर्ने, आफू पनि हात उचालेर मुट्ठी कस्दै नारा लगाउन जाउँजाउँ लाग्छ। साँझपख लखतरान गाउँलेहरु अश्रुग्यासका गोलाले पिरो आँखा पार्दै घर फर्केको देख्छे, 'त्यही गोला टिपेर उतै हुर्र्या उन किन नसकेका लाछीहरु?' मनमनै प्रश्न गर्छे। 'होइन हामी जुलुसमा नजाने भन्या?' प्रश्न लोग्नेतिर फाल्छे। 'मर्नु छ र हामीलाई?' लोग्ने जवाफ फर्काउँछ। 'होश रखियो!' सारा गाउँले गइरहेको ठाउँमा नजाँदा भोलि गाउँमा बस्नै गाह्रो होला, होश गर्नू भनेर लोग्नेलाई सम्झाउँछे।

घरमा दिनदिनै मान्छेहरु आएर सदरमुकाम जानू भनेर उर्दी लाउँछन्। 'होश रखियो!' भन्दै औंला ठड्याएर तर्साउँछन्। लोग्ने बिरामीको बहानाले टारिरहेको छ। आन्दोलन उत्कर्षमा पुगिसक्यो, यति मरे, यति घाइते भए, यति सिरियस छन भन्ने समाचार आउँछ। भोलिदेखि जान्छु भन्ने लोग्ने डराएर घरभित्रै खुम्चिन्छ।

आज आन्दोलनको चालिसौं दिन, जे पर्ला पर्ला, ऊ पनि जुलुसमा जान निस्की, लोग्नेले 'काँ मर्न जान लागेकी? न जा, पुलिसले गोली पियाइदेला' भनेर तर्सायो। तर आज ऊ एकदुईतीन मान्नेवाला छैन, 'होश रखियो!'

हिँड्ने बेलामा लोग्नेले भनेको शब्द चेतावनी होइन। बेलाकुबेला झर्कोफर्को गरिरहने, रक्सी खाएर कुट्ने, निहुँ खोजिरहने लोग्नेले आज आफ्नो ख्याल गरेस् भनेको उसलाई मन पर्योे। 'कुच्छु नाईं होई' केही हुँदैन भन्ने भावमा मुन्टो हल्लाउँदै ऊ सडकमा निस्की। उसले आफ्नो काखमा पटकपटक परेको घाउ बिर्सेकी छैन, जेठी छोरीलाई ससुरालवालाहरुले दाइजो कम भएको निहुँमा जिउँदै जलाएर मारेको भुल्न सकिरहेकी छैन, बालखैमा बिहेदान गरिएकी माइली छोरी पराइघरमा छटपटिँदै रगत बगाएर मरेको बिर्सेकी छैन। साहिँली छोरीले सामुहिक बलात्कारपछि आत्महत्या गरी। बलात्कारीहरु निर्धक्क गाउँमा छन्, तिनलाई देख्दा कोखै चिरिएजस्तो हुन्छ। कान्छी छोरी घर गरेर खाँदैछे, छोरीछोरी पाउन थालेपछि तीनपटक नौतनवाँ लगेर घरवालाले उसको गर्भपात गराइदिए। अचेलका डाक्टरले गर्भमा छोरा छ कि छोरी फ्याट्टै पत्ता लाइदिन्छन्। 'मर्छु कि बाँच्छु, सँगै जाऔं आमा' छोरीले रुँदै भनेकी थिई। आफ्नै काखमा राखेर उसले छोरीको गर्भ निमोठ्न डाक्टरलाई सहयोग गरी।

क्लिनिकमा उसकी छोरीजस्तै सयौं आमाहरु मुख सिएर गर्भपतनको लाममा बस्छन्। आत्मा जति रोए पनि, गर्भको मुनालाई जन्म दिन्छु भनेर जति बिन्तिभाउ गरे पनि, धेरै दाइजो दिनुपर्ने छोरीको जातलाई गर्भमै तुहाउन तम्तयार भएर आएका लोग्ने, सासु, ससुरा, अमाजुहरुसँग ती निरीह आमाहरुको कुनै जोड चल्ने हैन।

क्लिनिकको नालीबाट बग्ने रगतसँगै हरेक दिन बोल्न नसक्ने आमाहरुको मातृत्व बगिरहन्छ। कोखसँगै मुटु पनि धेरै दुख्छ, तर सहनै पर्ने चलन छ। यो क्रम रोकिएको छैन, बरु बढेको छ, आजका आमाहरु करकापमा परेर मात्र होइन, स्वेच्छाले छोरी तुहाउन थालेका छन्। हिजोका छोरीहरु पछौटेपन, गरिबी, अन्धविश्वास र कुरीतिका शिकार थिए, आज विज्ञान, प्रविधि र उन्नत अविष्कारको शिकार पनि छोरीहरु नै हुनुपरेको छ।

हिजो गाउँमा पञ्चैती हुँदा आइमाईहरु लोग्नेमान्छे बसेको ठाउँसम्म जान नपाएर न्याय नपाई मरे। अरुका पनि छोरीहरु जिउँदै जलेका छन्, बालविवाहको अत्याचारमा परेका छन्, बलात्कृत भएका छन्, आत्महत्या गर्न बाध्य पारिएका छन्, गर्भ तुहाउँदा कति पीडा भोगिरहेका छन्। यस्तो जमानाको अन्त्य उहिल्यै भैसक्नुपर्ने हो तर ढिलो भइरहेको छ। आज आइमाईहरु नेता, मन्त्री हुन पाएका छन् तर सबैलाई त्यो न्याय, त्यो समानता, त्यो पहुँच कहाँ छ र? सामाजिक परम्परा, संस्कार र कुरीतिको शिकार त अझै छोरीहरुले हुनु परिरहेको छ।

बदलिएको व्यवस्थाले बदलिएको अवस्था त ल्याएको छ गाउँमा तर अझै धेरेै बदलाव ल्याउनु जरुरी छ भन्दै ऊजस्ता आइमाईहरु आज राज्यसँग भीड्दैछन्, सत्तासँग लड्दैछन्, हतियारधारी पुलिसको जत्थासँग डराउँदैनन्।

'हरे! कुनैबेला लोग्नेले कुट्दा डराएर चुँ सम्म बोल्ने आँट थिएन आइमाईहरुमा, आज दिनदुनियाँ बदलिएर यस्तो जमाना आयो कि आइमाई बिनाको कुनै जुलुस हुनै सक्दैन, पुरुषले मात्रै कुनै आन्दोलन गरेको उसले देखेकै छैन।'

'हरे! यही व्यवस्था अलि छिटो आइदिएको भए, हिजो ती अकाल मर्ने छोरीहरुलाई न्याय मिल्ने रहेछ, आफ्नो लागि आफै बोल्न नपाइने ती दिन अनि आज चिच्याउन कराउन पाइने यी दिन।

अन्यायमा पर्दा न्यायको लागि लोग्नेमान्छेको मुख ताक्नुपर्ने त्यो समय अनि आज पुलिसको बन्दुक खोसेर उतैतिर ताक्नसक्ने आइमाइहरुको यो समय' उसको खिरिलो ज्यानमा बेपत्ताको बल भरिएर आउँछ। ऊ पाइला लम्काउँदै धर्ना भएतिर लाग्छे। जताततै भीडमभीड ठेलमठेल छ, अलि अग्लो ठाउँबाट घनघोर भाषण चलिरहेछ, 'आइमाईहरु पनि माइक समातेर कति मजाले बोलेका है' केहीबेर हातमा गाला थापेर भाषण सुन्छे, आफ्नै मातृभाषा भए पनि केही बुझेजस्तो केही नबुझेजस्तो लाग्छ, भरे फर्केपछि गाउँकै जान्ने आइमाईसँग सोधुँला भन्दै जुलुसमा मिसिन्छे। जुलुस नारा घन्काउँदै बजार परिक्रमा गर्दैछ, ऊ पनि गला च्यातेर त्यही शब्द दोहोर्यालउन खोज्छे तर कताकता लाज लाग्छ, कण्ठबाट शब्द फुत्किँदैन, 'आज पहिलो दिन हो भैगो, आज सुन्छु, भोलि सिक्छु, पर्सीदेखि त मलाई पनि लाजले छोड्ला, अनि स्वरमा स्वर मिसाउन सकुँला,' ऊ आशावादी देखिन्छे।

जुलुस निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोज्यो। जुलुसमा मान्छे घट्नुको साटो थपिँदै गए। अगाडि बढेमा बल प्रयोग गर्न बाध्य हुने माइकिङ गर्दै पुलिसका कमान्डर परै बसेर कराइरहेछन्, तर उनीहरु केही सुन्नेवाला छैनन्। निहत्था प्रहरीहरुमाथि भीडले आक्रमणको प्रयास गर्दैछ।

पहिलो लाइनमा बस्ने प्रहरीहरु हतियाररहित हुन्, उनीहरुसँग भालाडन्डा बाहेक केही छैन, उनीहरुलाई चाहिएको खण्डमा थप मद्दत गर्न हतियारसहितका प्रहरीको टुकडी दोस्रो लाइनमा छ तर त्यो टोलीले आफूखुसी फायर खोल्न सक्दैन, माथिबाटै सकेसम्म्ा कम बल प्रयोग गर्ने आदेश छ।

त्यहाँ खटिएका कमान्डर पटकपटक मानवअधिकार लगायत थुप्रै तालिममा सहभागी अफिसर हुन्। उनी सकेसम्म हतियार चलाउनै नपर्ने गरी भीडलाई फर्काउन र आफ्नो काबिलियत देखाउन चाहन्छन् तर फिल्डमा सधैं दुईदुना चार कहाँ हुन्छ र? मानवअधिकारबारे आफूले पढ्नु सजिलो थियो तर यो भीडलाई कसरी पढाउने मानवअधिकार? भीडले पनि त बुझ्नुपर्योव नि अर्काको मानवअधिकार? अरिङ्गालसरी आफंैमाथि खनिन आउनेबाट जोगिने दाउमा आफ्नै ज्यान ठूलो लाग्छ प्रहरीलाई। अनियन्त्रित र उत्तेजित भीड टाढैबाट प्रहरीलाई ताकीताकी इँटाढुंगा बर्साउँदै र फुटेका सिसी बोतलहरु फाल्दै अघि बढ्यो।

लाठी, भाला, तरवार, खुकुरी, बन्चरो बोकेका मान्छेहरु पनि कताकताबाट आएर मिसिँदा भीड अराजक र उग्र बन्यो। उता अर्को समूह प्रहरीको गाडी तोडफोड गर्न अघि बढिसकेछ। आगो लगाउन खोज्दा त्यहाँ दोहोरो झडपपछि भीडन्त सुरु भयो। हवाई फायर, अश्रुग्यास केहीले भीडमाथि काबु पाउन सकिएन। त्यहीबेला कमान्डरको टाउकोबाट तरतरी रगत चुहियो, दुईचार सिपाहीसमेत मरणासन्न घाइते भइसकेको रिपोर्ट दिएपछि स्थिति नियन्त्रणमा लिन कमान्डरलाई माथिको आदेशले गोली चलाउने अनुमति मिल्यो।

उसलाई अब भने भागँुभाँगु लागिरहेछ, तर भाग्ने ठाउँ भेटिन। आँखै पिरो भएर आँसुआँसु भैसकी, हावासँगै के–के फोक्सोभित्र पसेर सास फेर्नै सकस परिसक्यो, आँसुग्यासका गोलाले ऊ छटपटाउन थाली। ड्याम्म–ड्याम्म बन्दुक पड्क्यो। एउटा गोली उसको छाती छेडेर वारपार हुन कत्ति बेर लागेन। मधेसको तातो धर्ती घोेप्टो परेर लडेकी उसको आलो रगतले भिजिरहेछ। अलि पर लडेको अर्को मान्छेको टाउकाबाट रगतको भल बगिरहेछ। तेस्रो किशोरलाई पनि गोली लागेर छटपटाउन थालेपछि प्रहरीले गोली बर्साउन बन्द गर्योल। भीड तितरबितर भएर कता पुग्यो कता?

पछि एम्बुलेन्सहरु कराएको सुनियो, प्रहरीहरु घाइते तथा मृतकहरुलाई उठाउन थाले। तीन मधेसीको शहादतले दिनभर बजार तनावग्रस्त रह्यो। भोलिपल्ट पोस्टमार्टम गरिएको लाश बुझ्न उसको लोग्ने प्रहरीहरुसँगै अस्पताल आयो। बजारभरि प्रहरीको बाक्लो तैनाथी छ, लाशहरु राखिएको अस्पतालको सुरक्षा कडा पारिएको छ। मोर्चाका मान्छेले लोग्नेलाई आजै लाश नबुझ, मागहरु धेरै छन्, पूरा गराउने बेला यही हो भनेर उचालेका थिए, तर लोग्ने मानेन। अस्पताल परिसरमा मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुको ठूलो जमातले नारा लगाइरहेछ।

उसको साहस र बलिदानी खेर नजाने कुरा उठिरहेछ। अब विवाद यो कुरामा छ कि ऊ कुन पार्टीकी कार्यकर्ता हो। 'यिनको जेठाजु हाम्रो पार्टीमा छन्, त्यसैले यिनी हाम्रै पार्टीकी शहिद हुन्,' फलानो पार्टीका जिल्लास्तरका नेताले उसको शवमाथि फूलमाला चढाए।

'होइन उनको सम्धी पर्ने त हाम्रै कार्यकर्ता हुन रे, उनी त हाम्रै पार्टीकी भइन् नि,' अर्को पार्टीका केन्द्रस्तरका नेताले दाबी गरे। 'होइन उनको माइती खलक सबै हाम्रो पार्टीमा छन्, यिनी त जन्मजात हाम्रै पार्टीकी कार्यकर्ता भइन् हैन र?' अर्का पार्टीको मान्छेहरुले उसको शवलाई अबिरले रंग्याए।

उसको लाशलाई घेरा हालेर गाउँले र नेताहरु कराइरहेको देख्दा लोग्नेलाई सहिनसक्नु भयो। 'चुप लाग तिमीहरु! मरेको मान्छेमाथि राजनीति गर्ने थुक्क? हिजो हाम्रा छोरीहरुको बेइज्ज्ती गर्ने अनि मिलापत्र गराउने पनि तिमीहरु, हाम्रा छोरीहरुलाई न्यायको बदलामा अन्याय थोपर्ने तिमीहरु, हाम्रा छोरीहरुलाई जिउँदै मार्ने पनि तिमीहरु, अझ मेरी स्वास्नीको लाशमाथि राजनीति गर्ने पनि तिमीहरु? यो कुनै नेता हो र? अरे! यो पगली त कोखमा आगो बोकेर हिँड्ने आमा हो, कोखको पिडा शान्त हुन्छ कि भनेर जुलुसमा पसी। छोरीहरुको आत्मालाई शान्ति हुन्छ कि भनेर भीडमा मिसिई। अब अरु छोरीहरु मर्न नपर्ने समय ल्याउन गोली खान गई। मेरी स्वास्नीलाई आइमाईहरु चुप बसेको मन पर्दैन, मेरी स्वास्नीलाई आइमाईहरु बोलेको मनपर्छ, मेरी स्वास्नीलाई आइमाईहरु कराएको मन पर्छ, उसलाई आइमाईहरु चिच्याएको मन पर्छ। मेरा छोरीहरु त नबोलेरै मरे तर उसकी आमा बोल्ने रहरमा मरी,' लोग्ने ग्वाँग्वाँ रुँदै लाशमाथिका फूलहरु पन्छाउन थाल्यो।

निधार, कपाल र अनुहारभरिको अबिर पुछ्न थाल्यो। विभिन्न पार्टीका झन्डा बोकेर उसलाई ओढाउन ठिक्क परेका नेता कार्यकर्ताहरु हच्केर अलि पर सरे। मुटुमा गाँठो पारेर लोग्नेले अबिरले पुरिएका उसका ट्वाल्ल आँखाका दुवै ढकनीहरु छोयो, 'होश रखियो!' भन्न खोजेझैं ती आँखाहरु विस्तारै बन्द भए।

प्रकाशित: ५ चैत्र २०७२ २१:५४ शुक्रबार