कालिदाश श्रेष्ठ कलाक्षेत्रका युग पुरुष हुन्। अहोरात्र शैक्षिक परिश्रम र लगनले आजको ललितकला क्याम्पसको स्वरुप निर्माण भएको हो। श्रेष्ठ सानै उमेरदेखि कलामा रुचि राख्थे। कलाको व्याकरण सिक्नेक्रममा कलाकार चतुररत्न उनका प्रथम गुरु बने। चतुररत्नबाट कला सम्बन्धि केही कला ज्ञान लिएपछि उनी जुद्धकला पाठशालामा भर्ना भए। र २००० सालमा प्रथम श्रेणीमा प्रवीण परिक्षा सफलतापूर्वक उतीर्ण गरे। यही समयदेखि उनको शिक्षण पेशाको कालखण्ड सुरु भयो। उनको शैक्षिक जीवन सोहि जुद्धकला पाठशालाबाट शुभारम्भ भयो। उनी कला शिक्षकका रुपमा क्रियाशिल थिए। यधपि उनको जिवन पाठशालामा मात्र संकुचन भएर रहन सकेन। उनलाई २००८ सालमा म्याटि्रक पास गरेपछि कोलम्बो प्लान अन्तर्गत छात्रबृति प्राप्त भयो र मुम्वईस्थित सर जे. जे. स्कूल अफ फाईन आर्टमा कलाको उच्चशिक्षा हासिल गर्न पठाईए।
मुम्बई रहँदाबस्दा पनि उनी सवल र मेहनती विधार्थी बने। अध्ययनकालदेखि नै उनका काम उच्चकोटिका रुपमा दरिन्थे मुम्बईमा। उनका प्राय साथी र प्राध्यापक उनको काममा उत्कृष्टताको छनक देखेर उनलाई त्यहि बसेर काम गरिरहन उक्साउथे। तर पनि उनको लक्ष्य र भावना नेपाल र नेपाली कलाको विकास नै थियो। त्यसैले २०१३ सालमा कलामा डिप्लोमा उत्तिर्ण गरिसकेपछि स्वदेश फर्किए र नेपाली कलालाई सम्बृद्ध बनाउने तर्फ अगाडि बढे।
यस बीच श्रेष्ठका धेरै कृति सिर्जना भएतापनि उनी सिर्जना कर्ममा मात्र तल्लिन रहन सकेनन्, कलाज्ञान बाँड्ने कर्मलाई पनि अधि बढ्दै गए। त्यसैले उनले जुद्धकला पाठशालामा आफ्नो रुचीको शैक्षिक पेशा अवलम्बन गरी शिक्षकको रुपमा कार्य गर्न थाले। उनको शैक्षिक पेशामा देखिएको समर्पणमा उनलाई उ"चाईमा धकेल्दै लग्यो। कलाज्ञान बाँड्दा बाँड्दै सोहि विधाका इन्चार्जसम्म बनाईए। यस पश्चात भने पाठशालामा क्रान्तिकारी परिवर्तन आयो। पाठशाला महाविधालयमा परिणत भयो।
वास्तवमा २०२४ सालमा जुद्धकला पाठशाला ललितकला महाविधालयका रुपमा रुपान्तरित हुनमा उनको ठूलो योगदान छ। उनकै सक्रियता र सोचले शैक्षिकक्षेत्रमा परिवर्तन आएको भन्नेमा दुइमत छैन। यसरी कलापाठशाला महाविधालयको रुप परिवर्तन भए पनि यस पेशाबाट उनी अलग बस्न चाहेनन। बरु त्यहि क्याम्पसमा उनी २०३० सालदेखि २०३६ सालसम्म कार्यरत भईरहे। उनकै प्रयास र प्रयत्नले उक्त क्याम्पसमा डिप्लोमासम्मको पढाई आरम्भ भएको हो।
श्रेष्ठ कला सिर्जनाको क्षेत्रमा पनि उत्तिकै होनहार र सक्षम प्रतिभा हुन। मुम्बईको अध्ययन सकेर नेपाली भूमिमा टेके पश्चात शुरुकादिनहरुमा उनले थुप्रै पोट्रेट सिर्जना गरे। त्यसकालमा उनले सिर्जना गरेका राजामहाराजा र राणाहरुका मुहारचित्र अझै पनि संग्रहालय र नीजि भवनहरुमा संग्रहित छन्। उनी मुहार चित्रमा मात्र रुचि भएका कलाकार थिएनन। उनलाई नेपालीपनका सांस्कृतिक, धार्मीक र दृष्यचित्रमा पनि उत्तिकै रुचि र जागरण रहेको देखिन्छ। उनका यस्ता चित्र पनि प्रशस्त भेटिन्छन।
कलाजिवनको पछिल्लो चरणमा उनले मूर्तचित्र लगायत, अर्धअर्मूत, अमूर्त, भावप्रधान, अभिव्यञ्जनावादी प्रशस्त चित्रहरु सिर्जना गरे। र कलामा विविध प्रविधि र माध्ययमलाई अवलम्वन गरे। उनी जुनै माध्यमवाट पनि चित्र कोर्न सिपालु थिए भन्ने उनको कामले नै प्रस्ट पार्छ। चारकोल, जलरङ, तैलरङ, एक्रेलिक लगायतका माध्यम प्रयोग भएको उनको चित्रमा देख्न सकिन्छ। यसरी नेपाली कला भूगोलमा लामो समयदेखि दिएको योगदानलाई हृदयंगम गर्दै बिभिन्न समयमा विभिन्न संधसस्था र निकायहरुले उनलाई थुप्रै पुरस्कार, सम्मान र कदरले विभूषित पनि गरिसकेका छन्।
उनी २०५२ सालमा नारायणवहादुर सिंह स्मृति पुरस्कार र २०५५ मा ललितकला क्याम्पसबाट सम्मानित भएका थिए। यस्तै तत्कालिन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट महेन्द्र प्रज्ञा पुरस्कारबाट उनलाई विभूषित गरियो भने यस्तै शुभ राज्यभिषेक र दीर्धसेवा पदकबाट पनि सम्मानित गरियो। यस्तै पछिल्लो समयमा ललितकला प्रज्ञाप्रतिष्ठानले उनको विशिष्ठ प्रकारको सम्मान गरेको थियो्।
अन्ततः यस्ता कलाकारको निधनले नेपाली कलाक्षेत्रमा तथा राष्ट्रमा नै अपुरणीय क्षति पुगेको र एउटा अभिभावक गुमेको अनुभूति कलाक्षेत्रले गरेको छ।
प्रकाशित: ५ चैत्र २०७२ २१:४९ शुक्रबार