अन्य

ढाका : जाम जीवनशैली

ढाका जानुअघि बाङ्लादेशबारे मैले पढे–सुनेको सामान्य ज्ञान चार–पाँच बुँदामा थियो।
बाङ्लादेशलाई भाषा, कला, संगीत, नाटक र नृत्यको देश भनिन्छ। संसारमा यो मात्रै यस्तो देश हो, जहाँ मातृभाषा नै देश निर्माणको मुख्य कडी बन्यो र देशको नामै भाषाबाट राखियो। बाङ्ला साहित्यको प्रसिद्धि संसारभरि फैलिएको छ। बाङ्ला वाङ्मयको ठूलो नाम हो रवीन्द्रनाथ टैगोर। विद्रोही कवि काजी नजरुल इस्लाम बाङ्लाभाषी हुन्। बाङ्लादेशको राजधानीको नाम हो ढाका, अनि मुद्राको नाम हो टाका।

बाङ्लादेश उदिची शिल्पीगोष्ठी नामक संस्थाको आयोजनामा जब ढाका पुगियो, बाङ्लादेशबारे थप केही ज्ञान 'फस्ट ह्यान्ड' हासिल गर्ने मौका मिल्यो। त्यसमध्ये एक हो– जाम जीवनशैली!

फेब्रुअरी १७ मा काठमाडौ"को जामलाई केही दिनका लागि हात हल्लाएर हामीले बिदा गर्यौँन। अनि फेब्रुअरी १९ देखि २३ सम्म हामीलाई हात हल्लाएरै स्वागत गरिरह्यो ढाकाको सडक–जामले। ढाका पुगेका थियौँ 'नेपाल थेके चार जोन'– कवि तथा समालोचक डा. अमर गिरी, कवि तथा निबन्धकार मित्रलाल पंज्ञानी, आख्यानकार युग पाठक र यो पंक्तिकार।

काठमाडौँमा हामीलाई कवि निरज भट्टराईले ढाकाको जामबारे केही चुट्किला र केही सत्यकथामा आधारित प्रसंगहरू सुनाइसकेका थिए। कवि निरज डाक्टरी विद्या पढ्नका लागि केही वर्षदेखि ढाकामा छन्। उनले आफ्नो एकजना साथीको अनुभव भन्दै हामीलाई जामकथा सुनाएका थिए। काठमाडौँदेखि एक घण्टाको हवाई दूरीमा पुगेको यात्री ढाका ओर्लेपछि आधा घण्टा पैदल दूरी पार गर्न छ घण्टाको जाम झेल्नु परेको किस्सा सुनाउँदै निरजले भनेका थिए, 'मेरो त्यो साथी भन्थ्यो– अब त पुष्पक विमानमै आउने मौका मिले पनि म ढाका आउँदिनँ।' निरजका अनुसार ढाकामा जाममा आपसमा ठोक्किएर कुनै पनि गाडीको हालत सद्दे हुँदैन। सबै गाडी कुच्चिएका, नेप्टिएका हुन्छन्। गाडी ठोक्किँदा काठमाडौँमा जस्तो कोही पनि झोक्किन्न, जाममा गाडीको आपसी ठक्कर सामान्य कुरा हो।

बाङ्लादेशी दूतावासमा भिसा प्रक्रियामा जाँदा भेटिएका एकजना नेपाली सज्जनले पनि हामीलाई तर्साएका थिए। ती सज्जनले हामीलाई दूतावासको प्रतीक्षालयमा प्रश्न गरे, 'तपाईंहरू ढाका जान लाग्नुभएको हो?'

'हो, तपाईं पनि जाँदै हो र?' हामीले पनि उनलाई सोध्यौँ।

'होइन, म छोरीको लागि भिसा बनाइदिन आएको हुँ तर म धेरैपटक आइजाइ गरिसकेको छु। त्यहीँ बसेको पनि छु।'

'कस्तो छ ढाकाको हावापानी?' अमर गिरीले जिज्ञासा राख्नुभयो।

'हावापानी त काठमाडौँको जस्तै जस्तै हो, अलिकति गर्मी बढी छ। तर, जाम पो सहिनसक्नु छ।

'त्यस्तो जाम हुन्छ र?' मित्रलाल पंज्ञानीले आश्चर्य प्रकट गर्नुभयो।

'ढाका शहरमा मात्रै नेपालभरिका जति मान्छेहरू बस्छन्, सडकभरि गाडी नै गाडी छन्। आधा घण्टाको बाटो चार पाँच घण्टा लाग्छ।' ती सज्जनले हामीलाई यस्तो जामकथा सुनाए।

'साम्राज्यवाद र साम्प्रदायिकताविरोधी दक्षिण एसियाली सांस्कृतिक सम्मेलन'को छेकोमा हामी पाँच दिनसम्म ढाका बस्यौँ। त्यहाँ रहँदा बस्दा अत्यधिक जनसंख्या भएको शहरको अस्तव्यस्तता थोरबहुत जान्ने मौका मिल्यो। काठमाडौँमा हामीलाई सुनाइएका जामकथाहरू कति सत्य र कति मिथ्या रहेछन् भन्ने पनि धेरथोर भेउ पाइयो। सुविधाको केन्द्रीकरण र अव्यवस्थित शहरीकरणको परिणाम जसरी अरू विकासोन्मुख देशका राजधानीहरूले बेहोरिरहेका छन्, त्यो ढाकाले पनि बेहोरिरहेको रहेछ। जसरी काम खोज्ने मजदुरहरूदेखि आराम खोज्ने साहुजीहरूसम्म काठमाडौँमै ओइरिन्छन्, त्यसरी नै जिन्दगीभरि रिक्सा तानिरहनुपर्ने गरिबदेखि भ्रष्टाचारमा रमाइरहने उच्चपदस्थहरूसम्म ढाकाको सडकमा फसेका छन्। घना मानवबस्तीका लागि विश्वप्रसिद्ध ढाका शहरको केन्द्रीकरणको प्रतिविम्बन रहेछ जाम।

सडक–जाम काठमाडौँमा कार्यालय समयको अनिवार्य रीति जस्तो छ। यसलाई काठमाडौँको दैनिकी भन्दा पनि हुन्छ। ढाकामा भने जाम दैनिकीबाट दिनचर्या हुँदै जीवनशैलीमा कसरी रूपान्तरित भएको रहेछ भन्ने महसुस हुने गरी केही नयाँ अनुभूतिहरू सँगालियो।

हामी 'वर्किङ फर बेटर बाङ्लादेश' नामको संस्थाको गेस्ट हाउसमा थियौँ। त्यहाँदेखि कार्यक्रम थलो बाङ्लादेश शिल्पकला एकेडेमी पुग्न प्रत्येक दिन हामीलाई बिहान सातै बजे तयार हुन भनिन्थ्यो। सात बजे तयार नभए बाटोमा जाममा परेर आधा घण्टाको बाटोमा तीन–चार घण्टा लाग्न सक्थ्यो। फेब्रुअरी २१ मा शहीद मिनारमा पुगेर मनाइने विश्व मातृभाषा दिवसमा ८ बजे पुग्न हामी बिहान ६ बजे नै निस्क्यौँ। नेपालको राजदूतावास पुग्न र फर्कनका लागि हामीले चौथो दिन त्यस्तै लामो जाम झेल्यौँ। पाँचौँ दिन १२ बजेको उडान भेट्टाउन हामीले बिहान सातै बजे बासस्थानबाट निस्कनुपर्योज।

जाम कहिलेकाहीँ हुने ठाउँमा मान्छेलाई उकुसमुकुस हुन्छ, असिनपसिन हुन्छ। नेपालमा काठमाडौँबाहिर जाम भयो भने गाडीभित्रका मान्छे कराउन–चिल्लाउन थाल्छन्। कसैलाई सराप्न वा कसैलाई दोष थोपर्न यात्रुहरू पाखुरा सुर्केका धेरै घटना मैले देखे–भोगेको छु। चालकहरू जामभरि हर्न बजाएर काँ–काँ र कुँ–कुँ पारिरहन्छन्। त्यस्तो छटपटी काठमाडौँमा कम हुन्छ। जाम पर्यो् भने काठमाडौँका चालकहरू हर्न अलिअलि बजाउँछन्, यात्रुहरू अलिअलि गनगन गर्छन्। कतिपय चालकहरू वैकल्पिक रुट पक्रेर हुँइकन खोज्छन्। ट्राफिक प्रहरी अलि बढी चनाखो हुन्छन्। तर, ढाकाका यात्रुहरू हेर्नुस्, त्यहाँ छटपटी पटक्कै छैन। कसैलाई उकुसमुकुस पनि हुँदैन, कोही असिनपसिन भएको देखिन्न। चालकहरू ढुक्कले स्टियरिङ पक्रेर झोक्राइदिन्छन्। अनुहारमा न आक्रोश छ, न उदासी!

हामीले भने काठमाडौँबासीको परिचय झल्कने गरी जामभरि घरि आङ तान्ने, घरि टाउको उठाउने, घरि झ्यालबाहिर हेर्ने र घरि सिटमा चल्मलाउने गरेर ढाकाको जामलाई अटेर गर्न खोज्यौँ। १९ फेब्रुअरीको दिन बिहान ढाका प्रवेश गर्दा ४/५ घण्टा लामो जाममा परियो। जाम स्थिर थियो। सबै बसहरू अनुशासित भएर सडकमा शान्तिपूर्वक उभिएका थिए। मानौँ ती सबै टन्न अघाएर वार काडिरहेका त्यस्ता गुनी भैँसीहरू हुन्, जसलाई मालिकले कापकापमा कन्याइदिँदै छ। बसभित्रका यात्रुहरू सबै निदाइरहेका छन्। हाम्रा सहयात्री युग पाठक भने घरिघरि सिट छाड्दै ढोकामा पुग्दै अगाडि हेर्दै गर्थे। युगले मलाई पनि दुई/तीन पटक ढोकासम्म लगे। हाम्रो नेपाली पारा देखेर बसका चालक मुसुमुसु हाँसिरहेका थिए।

'अब यहाँबाट कल्याणपुर कति टाढा छ?' हामीले सोध्यौं।

'अब तीन घण्टा लाग्ला,' हामीलाई जवाफमा भनियो।

फेब्रुअरी २२ मा नेपाली राजदूतावास पुग्यौँ। कार्यवाहक राजदूत साहित्यप्रेमी सुशील लम्सालसँग भेटघाट गर्यौँह। त्यहाँ पुग्दा र फर्कंदा हामीले दिउँसोको ढाकाको जामले निर्माण गरेको मनोविज्ञान र जीवनशैलीलाई अझ बढी बुझ्न पायौँ। हामी सोध्थ्यौँ, 'यहाँबाट फलानो ठाउँ पुग्न कति टाढा छ?'

जवाफमा हामीलाई दूरी कसैले पनि बताउँदैनथ्यो, सबैले यति–उति घण्टा मात्रै भन्थे। एक पटक त मलाई दिक्क लागेर सोधेँ, 'मैले समय सोधेको होइन, दूरी सोधेको हो। कति किलोमिटर छ, त्यो भन्नू न!'

उदिची संस्थाका साथी अस्लमले भने, 'कति किलोमिटर छ भन्ने कुराको अर्थ छैन, मुख्य कुरा त यहाँको जाम हो कमरेड!' किलोमिटरको हिसाबकिताब नै ढाकाबासीहरूका लागि अर्थहीन रहेछ। उनीहरूको दिनचर्याको ठूलो समयांश जामले खाइदिँदो रहेछ। जसले गर्दा सोच्ने तरिका, बाँच्ने शैली वा समय–व्यवस्थापनमा उनीहरू जामको भूमिकालाई सबैभन्दा अगाडि राख्न अभ्यस्त भइसकेका रहेछन्।

फर्कनुभन्दा अघिल्लो दिन साँझ हामी 'पाठक समावेश' नामको पुस्तक पसलमा पुगेका थियौँ। पुस्तकहरू खोज्दाखोज्दै आठ बजिसकेछ। बाङ्ला मित्र आरिफ नूर र मासुमा लिपा भन्दै थिए, 'अब निस्कने कि, बाटोमा जाम हुन्छ, बेलैमा पुग्न सकिन्न।' जामलाई ख्याल गर्दै हामी निस्क्यौँ र रिक्सा समातेर वर्किङ फर बेटर बाङ्लादेशको निवासतिर घिस्रन थाल्यौँ।

झण्डै दुई करोडको घना जनसंख्या धानिरहेको ढाका धेरै अर्थमा काठमाडौँ जस्तै छ। जनसंख्या र सार्वजनिक तथा निजी सवारी साधनको संख्या त्यहाँ काठमाडौँमा भन्दा कैयौँ गुना बढी छ। तर, सुविधाको खोजमा मान्छे शहरमा ओइरिनु सबैतिरको साझा विशेषता हो। काठमाडौँमा नाम्लो लिएर भारी खोजिरहेका मजदुर र ढाकामा रिक्सा धकेल्नेहरूको दुःखको तरिका फरक छ। तर, राजनीतिलाई भर्यारङ बनाएर भ्रष्ट आचरण संस्थागत गर्ने नेताहरूको जीवनशैली सायद दुवैतिर उस्तै छ। गरिबको दुःख र धनाढ्यहरूको अमनचयन दुवै धानिरहेको छ ढाकाले। हतारो सबैलाई छ। श्रमिकहरूलाई आफ्नो कष्टकर श्रमको लम्बाइ घटाउने हतारो छ, मोजमस्ती गर्ने वर्गलाई आफ्नो सुखी जिन्दगी लम्ब्याउने हतारो छ। त्यसैले त ढाका शहरका मान्छेहरू सडकमा हतार–हतार आइपुग्छन्, अनि सडकमा आइपुगेपछि बिना हतारो 'बिन्दास जाम' झेलिरहन विवश छन्।

गणितमा माइनस–माइनस प्लस हुन्छ। यता सडकमा पनि दुवै वर्गका हतारहरू टकराए भने ती नहतारमा फेरिँदा रहेछन्। ढाकाको सडकमा जाममा बसेका मान्छेको शान्त, धीर र ढुक्क मनस्थिति देख्दा लाग्थ्यो, मानौँ त्यहाँ जाम छैन, बरु मान्छेहरू आफूखुशी सवारी रोकेर कुनै दुर्लभ दृश्य हेरिरहेका छन्। यता नथामिएको काठमाडौँको केन्द्रीकरण पनि त्यस्तै 'शान्त ढाका'मा फेरिन तयार देखिन्छ। टल्सटोयले अन्ना करेनिना उपन्यासको थालनीमा भनेका छन्, 'सबै सुखी परिवार उस्तै उस्तै हुन्छन् तर प्रत्येक दुःखी परिवारका दुःख आफ्नै खाले हुन्छन्।' सायद युरोप–अमेरिकाका सुखी शहरहरूको सुख उस्तै होला, तर विकासोन्मुख देशका शहरहरूको दुःख आफ्नै खाले छन्, जसरी काठमाडौँका मजदुरहरूका दुःख र ढाकाका रिक्सावालहरूका दुःख आफ्नै खाले छन्। 

ढाकाबाट फर्कंदै गर्दा मेरो सामान्य ज्ञानमा एउटा नयाँ अनुभूति थपियो– शहरी अव्यवस्था हेर्न सपिङ मल वा ठूला भवनभित्र पस्नुपर्दैन रहेछ, सडक किनारमा उभिएर नियाले धेरै कुरा देखिन्छ।

प्रकाशित: ४ चैत्र २०७२ ००:५१ बिहीबार