अन्य

सुनको बुद्ध मुर्ती भन्दै १२ लाखमा बेच्ने पक्राउ

काठमाडौँ-धातुको बुद्धको मुर्तीलाई सुनको मुर्ती हो भनी ठगी गर्ने गिरोहका नुवाकोट कुमारी–६ बस्ने २६ बर्षीय प्रदिप वि.क.(सुनार) र काभ्रे खरेलथोका–२ घर भई कपन बस्ने २३ बर्षीय सन्तोष खरेललाई प्रहरीले पक्राउ गरेको छ।


काठमाडौँ चन्द्रगिरी नगरपालिका–१० थानकोट बस्ने भुवन सुनारलाई प्रदिप लगायतले राखी १२ लाख ७० हजारमा बेचेका थिए। उनीहरुले १ मुर्तीको १ करोड पर्ने भए पनि आफूहरुलाई पैसा अभाव भएकोले १५ लाखमा दिने भन्दै भुवनलाई फकाएका थिए। उनीहरुले मुर्तिको केही भागमा सुनको अंश राखी बेचेको प्रहरीले बतायो।

पछि मुर्ती हेर्दा नक्कली भएको थाहा पाएपछि पीडितले महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए। महाशाखाबाट खटिएको प्रहरी टोलीले फागुन ५ गते नुवाकोट कुमारी–६ घर भई मातातिर्थ बस्ने २२ बर्षीय दिपक सुनार र ५१ बर्षीय मिनबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो। सोहि कार्यमा संलग्न रहेर फरार रहेका उनीहरुलाई प्रहरीले आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो।

प्रकाशित: ३० फाल्गुन २०७२ ०६:५४ आइतबार