अन्य

तीन लघुकथा

अविश्वास
एकजना मान्छे लामो यात्रामा कतै जाँदै थियो । ऊ एक्लो थियो । बाटोमा कसैसित केही बोलेन । बाटोमा कोही कसैले केही बोल्न खोज्दा पनि ऊ तर्केर नबोलीकन हिंडिरहेको थियो । मानौं ऊ जोसित पनि बचेर हिंड्न चाहन्थ्यो ।


पहिला ऊ त्यस्तो थिएन । जो कोहीसित पनि नमस्कार ! कता जाँदै वा के छ हालखबर भनेर आत्मीयतापूर्वक भलाकुसारी गथ्र्यो ।

उसको स्वभावमा परिवर्तन देखेर ईश्वरलाई समेत अचम्म लाग्यो । कारण बुझ्न ईश्वर मान्छेको रुप लिएर उसको नजिक पुग्यो । उसले वास्तै गरेन । जति पटक अगाडि पर्दा पनि देख्यानदेख्यै गर्यो। उसित ठोक्किएला जस्तो गरी सामुन्ने पर्दा पनि उसले कुनै प्रतिक्रिया जनाएन । झन तर्केर पो हिंड्न थाल्यो । अब त भएन, कारण के हो बुझ्न प¥यो भनेर ईश्वरले उसको बाटै रोकेर सोध्यो – कता जाँदै ?

कतै होइन, बाटै रोकेकाले छोटो जवाफ दिएर पाइला चालिहाल्यो ।

ईश्वरले फेरि रोकेर सोध्यो – त्यसो भए यो हतारो किन ?

अँ, त्यतिकै । यति भनेर त्यो मान्छे फटाफट हिंडिहाल्यो ।

ईश्वरलाई झनै अचम्म लाग्यो । कस्तो मान्छे रैछ यो ? यसको दिमाग पो ठीक छैन कि ?

ए मूर्ख मनुवा, मलाई चिनेनौ म ईश्वर हुँ । भन्, किन यसरी मुन्टो बटारेर हिंड्छस् । कारण के हो ?

उसले अझै केही बोलेन । ईश्वरलाई पनि शंकालु आँखाले हे¥यो ।

पत्याएनौ, म साँच्चिकैको ईश्वर हुँ ।, त्यसपछि ईश्वर प्रकट भयो । ईश्वरको तेजिलो रुप देखेर उसको आँखा तिरमिरायो ।

क्षमा, प्रभु मैले हजुरलाई चिनिनँ । पहिला पहिला मान्छे भेट्दा ईश्वर भेटेसरह हुन्थ्यो । तर अचेल मान्छे भेटियो कि कतिखेर यसले घात गर्ने हो भन्ने त्रास पैदा हुन्छ । मान्छेहरु सहयोगी र विश्वासपात्र हुन छोड्यो । त्यसैले म मान्छे देख्नासाथ तर्केर बाटो लागिहाल्छु, प्रभु ।

००

जनताको लागि

सम्पूर्ण कलकारखाना, होटल, स्कूल, बजार र यातायात बन्द भएको सफलतामा आन्दोलनकारी नेताजी बडो प्रफुल्ल देखिन्थे ।

खाना खाइवरी नेताजी कोठामा आएर बसेका मात्र के थिए । आन्दोलनको सफलताबारे सोध्न एकजना परिचित सम्वाददाताको फोन आइहाल्यो ।

– नेताजी नमस्कार ।

नमस्कार पत्रकार बन्धु , नेताजीले बडो हार्दिकतापूर्वक भने ।

खाना खानुभयो ?

खाएँ , नेताजीलाई पत्रकार बन्धुले बन्द हडतालको सफलताबारे सोध्ला भन्ने थियो ।

के के खानुभयो ?

के खानु, संधै खाइने दालभात तरकारी अचार त हो नि ।

ए तपाईँले खानुभयो है, सधैजसो खाइने दालभात तरकारी अचार.... !

अँ.... , नेताजीले अनमनष्क भएर भने ।

नेताजी, तपाईँलाई बन्दले कुनै असर गरेन । तपाईँको पेटमा त मजासंग माड लाग्यो । तर तपाईँको बन्दले आज कति मजदुर ज्यामीले काम पाएनन् । काम नगरेपछि ज्याला पाएनन् । कति परिवार भोकभोकै परे । कति व्यवसायीलाई घाटा भयो त्यसबारे तपाइँले केही सोच्नुभो ?

हामी पनि दिनभरि खटेर लाग्यौं । बन्दमा अलिकति दुःख त भइहाल्छ नि ।

तपाईँ यसलाई अलिकति दुःख भन्नुहुन्छ, तपाईहरुको एउटा पार्टीको मागका लागि पुरा मुलुक ठप्प पारिएको छ । तपाइँहरुको एकदिनको बन्दले मुलुकको कति नोक्सानी हुन्छ हिसाव गर्नुभाछ ?

हेर्नुस् देश र जनताका लागि राज्यले केही नोक्सानी बेहोर्नुपर्छ नै, नेताजीले भने ।

तपाईहरुको माग पुरा भएको छैन । त्यसो भए माग पुरा नभएसम्म के फेरि बन्द हडताल गर्नुहुन्छ त ?

देश र जनताको पक्षमा माग पुरा नभएसम्म ....,नेताजी बोल्दै थिए ।

नयाँ खेल

त्यहाँ विचित्रको खेल भइरहेको थियो । चारैतिर मान्छेहरुको अराजक देखिने भीड थियो र बीचमा डबली जस्तो ठाउँमा चारपाँच जना सुकिलामुकिलाहरु आपसमा भिड्दै थिए । हेर्दै ज्ञानी सोझा बुद्धिमान भव्य व्यक्तित्व जस्ता देखिने ती मानिसहरु नयाँ नयाँ रंगीचंगी आकर्षक लुगामा थिए । ती एकापसका विचित्रको खेल खेल्दै थिए ।

एउटाले अर्कोको बाहुला उप्किने गरी तान्यो । यो देखेर एउटा समूह दङ्ग पर्यो । अर्को समूह खिस्रिक्क पर्यो ।

जवाफमा अर्कोले प्रतिपक्षीको कठालो समातेर तान्दा पछाडिको पातै उप्कियो । यसले एउटा समूहमा हाँसोको फोहरा छुट्यो ।

यसैगरी एउटाले हिलो ल्याएर छ्याप्प हान्यो । सेतो टिलिक्क परेको लुगा हिलाम्य भयो ।

यो देखेर हेर्नेहरु रमाए ।

अर्कोले आएर हिलो छ्याप्नेको सुरुवालको इजार फुस्काइदियो । हेर्नेहरुले झन रमाइलो मानेर ताली बजाए । केही अधबैंसे महिलाहरु हेर्न नसकेर त्यहाँबाट हिंडे ।

डबलीमा बसेर विचित्र खेल खेलिरहेकाहरु स्वयं पनि अर्कोको अवस्थामा हास्यास्पद रुपले रमाइरहेका थिए ।

एकले अर्कोको लुगा च्यात्ने, सुरुवाल फुस्काइदिने, थुक्ने, हिलो छ्याप्ने, छड्के हालेर लडाइदिने जस्ता खेल भइरहेको थियो ।

तिनीहरुको खेल हेर्दाहेर्दै दर्शकहरुलाई पसिना छुट्न थाल्यो तर ती भने अझै त्यस्तै खेल खेल्नमा मग्न थिए ।

प्रकाशित: २१ फाल्गुन २०७२ २२:०९ शुक्रबार