भिन्न होइनन् नेपाल–भारत !
नेपालबाट भारतको वाराणसीमा पढ्न गएका छात्रलाई उतैतिर गोलबन्द गरी स्थापना भएको कांग्रेसले आरम्भमा नेपालमा प्रजातन्त्र अथवा समाजवाद स्थापना गर्ने लक्ष्य राखेको थिएन । नेपालभित्र उत्पन्न हुने भारतका समस्या समाधान गर्नु उसको मूल ध्येय थियो । संगठनको नामअघि 'नेपाल–भारत' शब्दावली राखेर यसलाई नेपालमा भारतको स्वार्थसिद्ध गर्न सहयोग पु¥याउने हतियार बनाउन खोजिएको थियो ।
पछि कांग्रेसका दुई खेमा (नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस)ले स्वतन्त्र ढंगले समानान्तर रूपमा सांगठनिक कार्य अघि बढाउँदै गए । कालान्तरमा उनीहरूबीचको एकीकरणबाट नेपाली कांग्रेस जन्मियो । यसरी जन्मिएको नेपाली कांग्रेसले नेपाल राष्ट्रिय कांग्रेसबाट 'राष्ट्रिय' शब्द झिक्यो र नेपाल प्रजातान्त्रिक कांग्रेसबाट 'प्रजातन्त्र' झिक्यो । कांग्रेसप्रति अनुदार केही राजनीतिशास्त्रीका अनुसार नेपाली कांग्रेस त्यतिबेलैदेखि राष्ट्रिय र प्रजातान्त्रिक चरित्रबाट विधिवत रूपमा च्युत भयो ।
यस्ता अनुदार राजनीतिशास्त्रीका दाबीलाई सही साबित गर्ने हर्कत र अभिव्यक्ति त्यतिबेला कांग्रेसी नेताबाट प्रशस्तै भएका थिए । नेपाल प्रजा परिषद् र नेपाल प्रजा पञ्चायतले काठमाडौँमा राणाशाहीको नाकैअगाडि शान्तिपूर्ण संघर्षको बिगुल फुक्ने काम गरिरहँदा भारतीय भूमिमा नेपाली कांग्रेसका नेताहरू भारतीय समाजवादी नेतामार्फत भारत सरकारले गरेको 'प्रोक्सी' सहयोगको भरमा नेपालमा सशस्त्र संघर्ष गर्ने तानाबाना बुनिरहेका थिए । नभन्दै बर्मादेखिका हतियार झिकाएर राणाशाहीविरुद्ध सशस्त्र युद्ध सुरु भयो, जसले नेपालभित्र मौलाउन खोज्दै गरेका शक्तिलाई निस्तेज गरिदियो र मूल विपक्षी शक्तिका रूपमा कांग्रेसको विधिवत उदय भयो ।
भारतको छद्म अस्त्र
राणाशाहीविरुद्ध जारी संघर्षलाई गति दिन कलकत्तामा कांग्रेसको बैठक डाकिएको थियो, जसमा सहभागिता जनाउन गोपालप्रसाद रिमालजस्ता प्रजातन्त्र पक्षधरहरू पनि काठमाडौँबाट कलकत्ता पुगेका थिए । बैठकमा उठेका विषय र भएको छलफलका आधारमा नेपाल फर्किएपछि कवि रिमालले 'नेपाली कांग्रेसको बैठक भनेर गएको, भारतीय कांग्रेसको बैठकमा पुगे जस्तो पो लाग्यो' भन्ने आशयको व्यंग्यात्मक अभिव्यक्ति दिएको लेखक अरविन्द रिमालले आफ्नो किताब '१९९७ सालदेखि १७ सालसम्मः एक अवलोकन'मा उल्लेख गरेका छन् ।
प्रजातन्त्रसँगै समानान्तर रूपमा स्वाधीनताको आकांक्षा राख्नेहरूका लागि कांग्रेसको त्यो बैठक वास्तवमै अत्यासलाग्दो थियो । बैठकमा उपस्थित भारतीय नेताहरूले नेपाल स्वाधीन राष्ट्र नभई भारतअधीनस्थ राज्य भएको यथार्थ आत्मसात् गर्न र तदनुरूपको व्यवहार गर्न नेपाललाई खुला चेतावनी दिएका थिए । यसको प्रतिवाद गर्नुको सट्टा बीपीले सोही बैठकलाई सम्बोधन गर्दै भनेका थिए, 'वास्तवमा नेपाल र भारत दुई देश होइनन् । नेपाल जातीय, धार्मिक दृष्टिबाट हरेक प्रकारले भारतवर्षकै एउटा प्रमुख अंग देखिन्छ । आज राजनीतिक दृष्टिले जुन भिन्नता देखिन्छ, त्यसको मूलमा कुटनीतिज्ञ र स्वार्थी राजनीतिज्ञको चालबाजीमात्र छ । नेपाललाई भारतभन्दा भिन्न देश घोषित गर्दा केवल ब्रिटिस साम्राज्यवादलाई मात्र लाभ छैन, बरु यसबाट हाम्रा देशका स्वेच्छाचारी शासकहरूको पनि ठूलो स्वार्थसिद्ध हुन्छ ।'
भारतीय नेताहरूको उपस्थितिका कारण हडबडाएर बीपीले हठात् यस्तो अभिव्यक्ति दिएका थिएनन् । नेपाल र भारत फरक राजनीतिक इकाई रहनु हुँदैन भन्ने मान्यताले आरम्भको उनको राजनीतिलाई निर्देशित गरिदिएको थियो । किनकि, कलकत्ता बैठकअघि पनि उनले यस्तै आशयका भनाइ राखिसकेका थिए ।
सन् १९४६ मा गरेको एउटा भाषणमा उनले भनेका थिए, 'नेपालीसामु पहिलो नेपालतर्फ र दोस्रो भारततर्फ गरी दुईतर्फी जिम्मेवारी छन् । हामीले भारततर्फको आफ्नो जिम्मेवारी पनि भुल्नु हुँदैन । नेपाल भारतकै अभिन्न भाग हो ।'
स्थापनाकाल ताकाको बीपीका यस्ता अभिव्यक्ति र कांग्रेसको बैठकमा उठेका विषयमाथिको विमर्शसम्बन्धी जानकारी गृष्मबहादुर देवकोटाको 'नेपालको राजनीतिक दर्पण–१' र प्रदिप गिरिको 'बीपी कोइरालाः राजनीतिक अभिलेख' किताबमा उपलब्ध छन् । चीनमा माओत्से तुङको नेतृत्वमा जनवादी क्रान्ति समापन हुँदै गरेको बेला हिमालयलाई आफ्नो उत्तरी साँधसीमा मान्ने भारतले क्रान्तिपश्चात् चीनले आफूलाई स्थिर राख्नुअगावै नेपाललाई आफ्नो पोल्टामा पार्ने नियत राखेको र यसका लागि राणाशाहीविरुद्ध कांग्रेसलाई 'बार्गेनिङ चिप'का रूपमा प्रयोग गर्न खोजेको त्यसताकाका दस्तावेजको अध्ययन गर्दा प्रस्ट हुन्छ ।
स्वाधीनताप्रति असंवेदनशील
राणाशाहीको स्वेच्छाचारी तथा निरंकुश शासन अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि अग्रणी भूमिका खेलेको कांग्रेस नेपालको स्वाधीनताप्रति असंवेदनशील हुनु दुर्भाग्यपूर्ण थियो । नेपाली कांग्रेसका नेताको भारतपरस्त अभिव्यक्ति र कृत्यतर्फ औँल्याएर राणाशाहीलाई त्रासमा पार्दै भारतले मोहनशमशेरलाई सन् १९५० को शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गर्न बाध्य पारेको थियो ।
चीनमा माओको शासनले स्थिरता कायम गरेर सीमावर्ती क्षेत्रमा ध्यान दिनुअगावै नेपाल, भुटान आदिसँग दीर्घकालीन सन्धि गरेर यी दुई मुलुकमाथि 'सुजरिन्टी' कायम गर्ने ध्येय तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले राखेका थिए । यसका निम्ति उनले मोहनशमशेरलाई भारत भ्रमणमा डाकेका थिए । उचित सत्कार नपाए आफू भारत नआउने जनाउ मोहनशमशेरले दिएपछि उनले मागेजति तोपको सलामी चढाउँदै नेहरुले उनलाई भारत भिœयाएका थिए ।
यसपालि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी मोदीले मानमनितो गरी भारतमा स्वागत गरे, त्योभन्दा बढ्ता मानमनितो मोहनशमशेरलाई गरिएको थियो । मानमनितो भनेको फगत आभूषण हो र यसको महŒव मनोवैज्ञानिकमात्र हुन्छ भन्ने बुझेका मोहनशमशेर आफूलाई गरिएको खातिरदारीबाट वशीभूत हुँदै रवाफिलो तरिकाले भारतभित्र प्रस्तुत हुनबाट भने चुकेनन् ।
एउटा सार्वजनिक कार्यक्रममा उनले भनेका थिए, 'भारतको सुरक्षाका लागि जस्तोसुकै सहयोग गर्न पनि नेपाल तयार छ ।' आन्तरिक रूपमा भारत एकीकृत भइनसकेको र चीन तथा पाकिस्तानले दुईतिरबाट उसमाथि चुनौती सिर्जना गराइरहेको सन्दर्भमा मोहनशमशेरले नेहरु सरकारलाई सुरक्षाको आश्वासन दिएका थिए । सुरक्षाको 'थ्रेट' र लोभ एकसाथ देखाएर ब्रिटेनलाई जस्तै नवस्वाधीन भारतलाई पनि वशमा लिने अभिप्राय उनले राखेका थिए । त्यसको केही दिनपछि बीपी कोइरालाले भारतमा खुला रूपमै 'नेपालको परराष्ट्र र प्रतिरक्षा मामिलालाई भारतसँग एकाकार गरेर लैजान आफू तयार भएको' बताए । यसरी उनी मोहनशमशेरमाथि दबाब सिर्जना गर्ने भारतीय प्यादा बन्न पुगे । मोहनशमशेर र बीपीका यी अभिव्यक्तिको सन्दर्भलाई लियो ई रोजको 'इन्डियन डिप्लोमेसी इन नेपाल' किताबमा प्रकाश पारिएको छ ।
पूर्वी पाकिस्तान र सिक्किमबारे कांग्रेस
क्रान्ति सम्पन्न भइसकेपछि पनि कांग्रेसका नेताहरूको स्वाधीनताप्रति असंवेदनशील अभिव्यक्ति आउने क्रम रोकिएन । प्रधानमन्त्री भएर चीन जाँदा बीपीले नेपाल–चीन सीमा बैठकमा सहभागी हुनुअघि बेइजिङस्थित भारतीय राजदूतसँग परामर्श गरेको कुरा टीआर गोब्लेले 'चाइना–नेपाल रिलेसन्स एन्ड इन्डिया' किताबमा उल्लेख गरेका छन् । चिनियाँ प्रधानमन्त्री चाउएन लाईले स्वयं बीपीसँग कोदारी राजमार्ग निर्माणलगायत काममा सहयोग गर्ने इच्छा जनाउँदा पनि बीपीले ठाडै अस्वीकार गरिदिएका थिए ।
कांग्रेस सरकार तथा यसका नेताका यी र यस्तै गतिविधिले गर्दा राजा महेन्द्रले प्रजातन्त्रको घाँटी रेटेर स्वेच्छाचारी निर्दलीय पञ्चायती व्यवस्था लाद्ने मौका पाएका थिए । 'प्रजातन्त्रको बदलामा स्वाधीन नेपाल दिन्छु' भन्ने महेन्द्रको आशयमा नेपाली जनता २०१७ सालताका 'कन्भिन्स्ड' हुनुमा कांग्रेस नेतागणका यस्तै व्यवहारले पनि भूमिका खेलेका थिए ।
राजाबाट अपदस्थ भई जेलमा राखिएका बीपीले जेलमुक्त भएपछि पनि नेपालको स्वाधीनताप्रति असंवेदनशील अभिव्यक्ति दिने क्रम जारी राखे । भारतीय फौजले ९३ हजारभन्दा बढी पाकिस्तानी फौजलाई पूर्वी पाकिस्तानमा बन्दी बनाएर बंग्लादेशलाई स्वाधीन गराएको सन्दर्भमा बीपीले भारतमा आयोजित एउटा कार्यक्रममा 'राजाले हाम्रो शान्तिपूर्ण संघर्षलाई बेवास्ता गरे बंग्लादेशकै मोडलमा क्रान्ति गर्ने' चेतावनी दिएका थिए । त्यस्तै, सिक्किम विलय हुनुअघिको निर्वाचनमा लेण्डुप दोर्जेको पार्टी पहिलो भएपछि सिक्किम पुगेर बीपीले 'सिक्किममा जस्तै नेपालमा पनि निष्पक्ष निर्वाचन हुने हो भने लेण्डुपको जस्तै मेरो पार्टी पनि पहिलो हुन्छ' भनेका थिए । जब कि सिक्किमको निर्वाचन कत्तिको निष्पक्ष थियो भन्ने कुराको अनुमान सुनान्द के दत्त रायको किताब 'स्म्यास एन्ड ग्य्राब' पढेर सजिलै लगाउन सकिन्छ ।
बीपीका राजनीतिक गुरु भारतीय समाजवादी नेता जयप्रकाश नारायणले उठाएको आन्दोलनको लहर र अदालतले गरेको आफूप्रतिकुल निर्णयले गर्दा तिलमिलाएकी इन्दिरा गान्धीले भारतमा संकटकाल लगाएपछि भारतीय भूमिमा टिक्न नसकेर नेपाल फर्किएका बीपीले त्यसपछि मात्रै नेपाली राष्ट्रियताप्रति परिपक्व र संवेदनशील भनाइ राख्न थालेका थिए । यद्यपि, प्रधानमन्त्री छँदा भारतको सीमा उत्तरमा हिमालयसम्म हो भन्ने नेहरुलाई माफ मगाउने र 'नेपालको सीमा दक्षिणमा कन्याकुमारीसम्म हो भनेर मैले भनेँ भने के पत्याउनुहुन्छ ?' भनी नेहरु अभिव्यक्तिलाई सञ्चार जगत्मा नांगेझार पार्ने बीपीको कौशल र वाक्पटुतालाई यहाँ नजरअन्दाज गर्न खोजिएको होइन । महाधिवेशनको सन्दर्भमा राष्ट्रियतासम्बन्धी कांग्रेसको सन्दिग्ध पाटोलाई उद्घाटित गरेर कांग्रेसीजनलाई यसको पुनर्मूल्यांकनका निम्ति झकझक्याउन खोजिएको मात्र हो ।
प्रकाशित: २० फाल्गुन २०७२ ०१:०३ बिहीबार