लगभग दुई सय वर्ष अघिको सामाजिक पृष्ठभूमिमा लेखिएको बधूशिक्षाबारे विभिन्न कालखण्डमा विद्वान–विदुषीहरुले मत मतान्तर राख्दै आएका छन्। ढकालले वधूशिक्षाबारे पूर्व उल्लेखित विचार विश्लेषण गर्दै सही तथ्य र वधूशिक्षाले दिने सामाजिक स्ान्देश प्रस्तुत गरेकी छन्।
वधूशिक्षाको प्रकाशन गर्ने र यस कृतिलाई परोपकारी कृति भन्ने मोतीराम भट्ट लगायत चार दर्जन साधकहरुले वधूशिक्षामाथि गरेका टिप्पणी विश्लेषण गरेकि छिन्। एउटै कृतिमाथि यति धेरै समीक्षा हुने दुर्लभ कृतिमध्येे वधूशिक्षा पनि एक होला। यसको संरचना बनोटका सन्दर्भमा यकिन श्लोक संख्या बारे पनि विभिन्न मत थिए। कतै सत्र श्लोक, कतै बत्तीस, कतै तेत्तीस, कतै साढे चौतीस, कतै पैतीस र कतै अढ्तीस श्लोक भनिदै आएकामा ढकालले तथ्यसहित पैतीस्ा श्लोकको मूल पाठ र तीन श्लोक मित्र तारापतिलाई सम्बोधन गरेको सहित जम्मा अढ्तीस श्लोक रहेको निश्चित गरेकी छन्।
वधूशिक्षा लेखिएको समयमा नेपालको राजनीतिक, सामाजिक र साँस्कृतिक अवस्था कस्तो थियो भन्नेमा पनि उनले अध्ययन गरेकी छन्। प्रधानमन्त्री जंगबहादुरले पहिलो पटक बेलायत यात्रा गरेको बखत थियो यो। विश्व विकासको गतिमा अगाडि बढे पनि नेपाल शिशु अवस्थामै थियो। भानुभक्त जन्मेको चार वर्षपछि जर्मनीमा कार्लमार्क्सको जन्म भएर समाजलाई मार्क्सवादी दृष्टिकोणबाट हेर्ने प्रवृत्ति विकास विस्तारै हुन थाले पनि नेपालमा राणा शासन भएकाले शिक्षाको ज्योतिसमेत बल्न पाएको थिएन।
तत्कालीन नेपाली समाजले भोगेको सामाजिक परिपाटी र अवस्था पनि नाजुक थियो। महिलाले पढ्न पाउने वातावरण थिएन। पुरुषसमेत पढ्न भारत जानुपर्दथ्यो। भानुभक्त पनि वनारसबाटै अध्ययन गरेर रम्घा फर्किएका थिए।
कुनै पनि लेखकका विषयवस्तु आफू बाँचेको युग नै हुने गर्छ। यसबाट भानुभक्त पनि अछुतो थिएनन्। वधूशिक्षामा पनि त्यतिबेलाका नारीहरुले बाँचेको समाज र त्यसको प्रतिविम्ब कृतिमा झल्कनु असामान्य भएन। यसलाई बुझेर ढकालले चनाखो बनेर कृतिलाई फरक आँखाले हेरेकी छन्।
वधूशिक्षा भन्नेबित्तिकै नारीवादी दृष्टिकोण राख्नेहरुले नाक खुम्चाइहाल्नु पर्ने स्थिति छैन्ा। दुई शताब्दी अघिको नेपाली समाजमा नारीको अवस्था कस्तो थियो भन्ने केलाउनु बुद्धिमानी हुन्छ। भानुभक्तलाई गाली गर्नुभन्दा पनि त्यतिबेलाको समाज अध्ययन गर्नु महत्वपूर्ण हुन जान्छ। महिलालाई होच्याएर रचना लेख्ने भानुभक्त मात्र होइनन् उनीभन्दा शताब्दी पछिका रुद्रराज पाण्डे, गुरुप्रसाद मैनाल्ाी, भीमनिधि तिवारी र बालकृष्ण समका रचनामा पनि नारीलाई हेय दृष्टिले नै प्रस्तुत गरिएको छ। मैनालीको ...नासो' कथामा शुभद्रालाई जसरी दीनहीन पात्रका रूपमा उभ्याइएको छ त्यसैगरी तिवारीको सहनशीला सुशीला, समको मुकुन्द–इन्दिरा र रुद्रराज पाण्डेको रूपमतीमा पनि नारी पात्रलाई निरीह पात्रका रूपमा नै चित्रण गरिएको छ।
विस १९१९ मा भानुभक्त काठमाडौँबाट घरतर्फ जाँदा मित्र तारापतिका घरमा बसेका थिए। भानुभक्त पाहुनाका रूपमा तारापतिका घरमा बसेको रात तारापतिकी पत्नी र बुहारीको चर्को कलह भयो। उनीहरुको झगडाले भानुभक्तलाई रातभर निन्द्रा नलागेकाले मित्रको पारिवारिक सुशासन कायम होस् भनेर छोरी बुहारी र पत्नीलाई अनुशासन पढाउन लेखिएको हो। यो व्यवहारिक जीवनको आर्दश कायम गराउन लेखिएको कृति भएको ढकालले स्पष्ट पारेकी छन्। परिवारमा महिलाको भूमिका अत्यन्त उच्च हुन्छ। घरलाई स्वर्ग बनाउने कि नरक भन्ने एउटी महिलाको हातमा हुन्छ त्यसैले आदर्श परिवार निर्माणका लागि भानुभक्तले उपदेशका रूपमा वधूशिक्षा रचना गरेको उनी अर्थ्याऊछिन्।
वधूशिक्षाका केही श्लोक नारीलाई अत्यन्त अपमान गर्ने खालका पनि लाग्छन्। अमरावती कान्तिपुरी नगरी जस्ता सुन्दर कविता लेख्ने भानुभक्तले नारीलाई त्यसरी खसालेर अभिव्यक्ति दिन हँुदैन्थ्यो भन्नेहरु पनि छन्। नारीले हाँस्न नहुने, पतिलाई नै भगवानसरह मानेर पुज्नु पर्ने, पत्नीलाई आधा अंग नमानि दासीको रूपमा हेरिने खालका श्लोकहरु उल्लेख हुनुमा त्यतिबेलाको सामाजिक संस्कारको उपज मान्न सकिन्छ। अहिलेको समयमा यी कुरा नारीमाथिको चरम अपमान र घोर निन्दनीय पक्ष भए पनि पतिको लाशसँगै जिउँदै जलाउने सतीप्रथा रहेको समयमा माथिका कुरा आश्चर्यलाग्दा नहोलान् भन्न सकिन्छ।
एक्काइसौँ शताब्दीमा समेत हाम्रो समाजमा नारीहरुको अवस्थामा खासै सुधार आउन सकेको छैन। नारी घर गृहस्थीमै सीमित हुन बाध्य छन्। भान्छा र घरको काम महिलाको मात्र हो भन्ने पुरुष मान्यताले निकास पाउन सकेको छैन। अतः भानुभक्तद्वारा लिखित कृतिको पनि सकारात्मक पक्षलाई लिई खराब पक्षलार्ई महत्व नदिनु बुद्धिमानी हुन्छ।
सात परिच्छेदमा विभाजित कृतिमा भानुभक्तको जीवनीदेखि वधूशिक्षा लेखनको पृष्ठभूमिगत सन्दर्भ, विवाद, वधूशिक्षाको विधागत स्वरूप र संरचना, योगदान र मूल्याकंनलाई आधार बनाइएको छ। परिशिष्टाङका रूपमा वधूशिक्षाको मूल पाठ छ। समालोचक वासुदेव त्रिपाठी र सिक्किम विश्वविद्यालयका प्रमुख कविता लामाको भूमिकाले कृतिको उचाइ थप बढेको छ। कृति नइ प्रकाशनले छापेको हो।
कृति : वधूशिक्षाको विश्लेषण र मूल्याङ्कन
लेखक : रजनी ढकाल
प्रकाशक : नइ प्रकाशन
प्रकाशित: १४ फाल्गुन २०७२ २१:१५ शुक्रबार