अन्य

साहित्यमा पुनरावृत्त भूगोल

कुनै लेखकको नाम लिनासाथ ऊ बसेको भूगोल र उसले लेख्ने निश्चित स्थान याद हुन्छ तपाइलाई? यसरी लेख्ने कति होलान्? हुन त अधिकांश लेखक आफू बाँचेको स्थान र परिवेशवारे नै लेखिरहेको दावी गर्छन्। विश्व साहित्यको सन्दर्भ चर्चा गर्दा कुनै निश्चित शहरसँगै परिचय गाँसिएका लेखक वाक्लै भेटिन्छन्।
अघिल्लो पटकका नोवेल विजेता प्याटि्रक मोदियानो पेरिसका गल्लीगल्लीमै घुमाइरहेछन् आफ्ना पात्र–यथार्थ हुन् या कल्पित। पेरिस शहरसँगको उनको अनुराग पछाडि विशेष ऐतिहासिक प्रभाव छ जस्तो लाग्छ। नोवेल वक्तव्यको एक ठाउँमा उनले भनेका छन्, '१९ औं शताव्दीको प्रारम्भबाटै शहरहरु उपन्यासकारका खास भूगोल बनेका छन्। महान केही उपन्यासकारका कथानक कुनै खास शहरसँगै सम्बन्धित छन्। जस्तो कि वाल्जाकको पेरिससँग, डिकेन्स्को लण्डनसँग, दोस्तोव्स्कीको सेन्ट पिटर्सवर्गसँग, नागाइ काफूको टोकियोसँग अनि हाल्मार सोडरवर्गको स्टकहोमसँग।'

खास शहरबाटै मानक परिचय बनेका पुराना लेखक अरु पनि छन्। आइरिस लेखक जेम्स ज्वाइसका धेरै पात्र राजधानी शहर डब्लिनको फेरो मारिरहन्छन्। पश्चिमी महाआख्यान 'यूलिसिस' मात्र होइन, गत वर्ष प्रकाशनको सय वर्ष पुगेको उनको कथासंग्रह 'डब्लिनर्स'का हरेक कथा साक्षी छन् यसका। राजनैतिक घटनाक्रमको चर्चा खासै नरहेको तर मानवीय सम्बन्धका आयाम प्रशस्त भेटिने 'डब्लिनर्स'का कथामा वीसौं शताब्दीका प्रारम्भको डब्लिनको सूक्ष्म अनि सुन्दर वर्णन पाइन्छ। अमेरिकी लेखकद्वय विलियम फोकनोर र मार्क ट्वेनको मिसिसिपी शहरका किंवदन्ती, पुराकथा र इतिहाससँग कसिलो भावनात्मक सम्बन्ध छ। आफ्ना धेरै उपन्यासका चरित्र चित्रणमा इजिप्टको राजधानी कायरोमा नै केन्द्रित भए, नोवेल पुरस्कार विजेता लेखक नाग्ाुइव माहफौज। 'दि कायरो टि्रलोजी' यसको सशक्त प्रमाण हो। अर्जेन्टिनाका विख्यात लेखक लुइज् खोर्खे वोर्गेजका कृतिहरुमा व्यूनस् आयर्स शहरका अनुद्घाटित जीवनका विविध रङ्गहरु पोतिएका हुन्छन्।

अहिलेका सक्रिय लेखकका हकमा पनि स्थानविशेषको सम्बन्ध रमाइलो भेटिन्छ। नयाँ पुस्ताकी एकजना रुसी लेखक छन्– इन्ग्रीद बेन्गिस्। उनका बाबुआमा त वीसौं शताब्दीको शुरुदेखि नै अमेरिकावासी बने। उनी चाहिं दोस्तोव्स्कीकै पदचाप पछ्याउँदै प्रवासी जीवन त्यागेर सन् १९८५ मा सेन्ट पिटर्सवर्ग फर्किन् सदाका लागि। 'मेट्रो स्टप दोस्तोव्स्की' मार्फत् उनले यो शहरलाई फेरि व्यँूताएकी छन्। पुरानै लेखकको प्रतिच्छायाँ घुमिरहेको छ उपन्यासभर। उनी भन्छिन्, 'यो शहर भयानक छ, साथै सुन्दर पनि। मूल्यहीन छ साथै भव्य। र यो शहर सबथोक हो मेरा लागि। कम्तिमा सेन्ट पिटर्सवर्गसँग गाँसिएका साहित्यमा म त्यही विगतको धङ्घङी पाउँछु र यसले मलाई भित्रैसम्म स्पर्श गर्छ।'

प्रवासिएका लेखकहरु अमिताभ घोष, झुम्पा लाहिरी भारतको कोलकोता, ताहमिमा आनम बङ्गलादेशको ढाका, रोमेश गुणेसेकेरा श्रीलंकाको कोलम्बो, एद्विज दाँतिका हैटीको राजधानी शहर पोर्ट ओ प्रिन्स, वेन ओक्रीदेखि चिमामाण्डा अदिची नाइजेरियाको लेगोसको स्मृतिदंशबाट विघ्नै विथोलिन्छन्।

झण्डै चार दशक लामो साहित्यसाधनामा एउटै परिवेशमा पूरै केन्द्रित छन् टर्कीका लेखक ओह्रान पामुक। टर्कीको पुरानो राजधानी शहर इस्तानवुलमै जन्मे, हुर्केबढे, त्यहींको विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरे। त्यही परिचित भूगोलका कथा टिप्न थाले आफ्ना कृतिमा क्रमशः। उनका अधिकांश आख्यान र गैरआख्यानको केन्द्र इस्तान्ावुल शहर हो। आर्किटेक्चरको प्राविधिक अध्ययन बीचैमा छाडेर लेखनमा होमिएका पामुकका कृतिहरुमा यही शहरका पुराना सम्पदा, कला, संस्कृति, कालिगढी अटेसमटेस समेटिएका छन्। यसैले त इस्तानवुलका जीवित संग्रहालय नै मानिन्छन् उनी।

'माइ नेम इज रेड' का हरेक अध्यायमा लास, रङ्ग, स्वास्नीमान्छे, मृत्यु जस्ता विविध पात्र बनी कथावाचकले इस्तानवुलका फरक फरक यथार्थ वताउँछ। 'इस्तान्ावुलः मेमोरिज् एण्ड द सिटीज्' त पामुकको आफ्नै कथा भैहाल्यो, वाल्यकाल र किशोरवयको। यो मेम्वारमार्फत् उनले समग्र इस्तानवुल शहरसँगै आफ्नै जीवनले जवानीतर्फ अग्रसर गर्दाका क्षणहरुको आकर्षक शब्दाङ्कन गरेका छन्। 'म्युजियम अव इन्नोसेन्स' पनि सोलोडोलो इस्तानवुलको परिवेशमा लेखिएको छ। प्रेमिका फुसुनसँगको विछोडपछि उससँग सम्बन्धित चीजहरु ब्ाटुलेर संग्रहालय बनाउँछ कथावाचक पात्र। रमाइलो प्रसंग के भने पामुकले असी विभिन्न चीज संग्रह गरेर इस्तानवुलमा उनको व्यक्तिगत संग्रहालय बनाउन भ्याए यो किताब लेख्ने क्रममा।

छोटो विदेश वसाइका वावजूद नयाँ भूगोलवारे कविता, कथा, उपन्यास, संस्मरण लेख्ने नेपाली लेखक वग्रेल्ती छन्। अमेरिका सम्बन्धी यसरी लेखिएका कृतिहरु पनि निकै भइसके। दुःखको कुरो, पढ्नेलेख्नेको जमातवीच तिनको प्रभावको ध्वनि भने झीनो सुनिन्छ। महत्वपूर्ण डिस्कोर्स पैदा गर्न नसकेका अधिकांश यस्ता साहित्यिक उत्पादनहरु प्ार्यटकीय लेखनका रुपमा कुनै कुनामा थन्किन अभिशप्त छन्। नाइजेरियाली र अमेरिकी जीवन पद्धति, सोच, संस्कारका विविध आयामको अन्तर्यमा पसेर गहिरो तर निष्पक्ष घटनाक्रम पस्किएको चिमामाण्डा अदिचिको 'अमेरिकाना' जस्ता गम्भीर कृति हाम्रा भ्रमणशील स्रष्टाहरुबाट कहिले आउने? विपरित सत्य के भने, पामुक पटक पटक गरी केही वर्ष अमेरिका बसेका छन्, त्यहाँका केही विश्वविद्यालयमा पढाए पनि उनले। अमेरिका बसाइका वावजूद उनले टर्कीकै कथा लेखे, इस्तान्ावुललाई केन्द्रमा राखेर। अमेरिका वा अन्य भूगोलले कहिल्यै स्थान पाएन उनको लेखनमा। राम्ररी नबुझेको भूगोलवारे लेख्ने मोह कहिल्यै जागेन उनलाई।

पामुक स्वीकार्छन्, 'म आफूलाई इस्तानवुलको कथावाचक ठान्छु। मेरो कथाको विषय मेरो यही शहर हो। शहरका छद्म गल्लीहरु, यहाँका अँध्यारा र रहस्यमय ठाउँहरुभित्र लुकेका विविध पाटाहरु उधिन्नु मेरो काम हो जस्तो लाग्छ। यिनै चीजहरुलाई म औधी मन पराउँछु।' यो रहस्यको खोज रोकिएको छैन अझै पनि। पछिल्लो उपन्यास 'अ स्ट्रेन्जनेस इन माई माइन्ड' पनि त्यही ध्येयमा अडिग छ। मेभ्लुट पात्रको सहयोगमा सन् सत्तरीको समयदेखि अहिलेसम्मको इस्तानवुललाई विभिन्न कोणबाट नियालिएको छ यहाँ। गाउँ छाडेर जीविकोपार्जनका लागि यताउता भौंतारिएको हुन्छ ऊ। काँधमा खर्पन बोकेर वोजा अर्थात् कम अल्कोलयुक्त स्थानीय पेय बेच्दै इस्तानवुलको वल्लो छेउदेखि पल्लोपट्टि पुग्छ। जीवनको कुनै चरणमा ऊ सैन्य सेवामा प्रवेश गर्छ। कुनै वेला क्याफेमा काम गर्न पुग्छ त कहिले सवारी पार्किङ्ग स्थलमा पाले बन्छ। प्राचीन 'इस्तानवुल संसारकै केन्द्र' रहेको दावी गर्छ पामुकको पात्र।

आधुनिक इस्तानवुलले पुराना धेरै कुरा छोडीसक्यो। मुस्लिम सम्प्रदायमाझ पनि वोजाको ठाउँमा राकी (आधुनिक मदिरा)को प्रचलन सामान्य बनिसक्यो। वहुतले भवन, सपिङ्ग मल, अपार्टमेन्टले इस्तानवुलको आदिम सौन्दर्यलाई खर्लप्पै निलिसके। आफ्नै जीवनका वदलिएका भूमिका र अवस्थावीच मेभ्लुट पहिलेदेखि अहिलेसम्मका अचम्मका परिवर्तन दिमागमा खेलाइबस्छ। यसरी 'अ स्ट्रेन्जनेस इन माइ माइन्ड' उपन्यासको शीर्षकको ओज र सार्थकता झल्किन्छ हरेक खण्डमा। 'मेभ्लुटले टाढैबाट शहरका बत्तीहरु ब्ालिरहेको देख्थ्यो। ती मखमली रात अनि इस्तानवुलका नीला बत्तीहरु सम्झन्छ अझै पनि ऊ। उसका खिरिला हातले बाबुको बलिया हात समाउँदै हिंडेको सम्झन्छ। यत्रतत्र बलेका बत्तीको उज्यालोले शहरको असल रुप र आकृति नै छोपिन्थ्यो। कहिले चाहिं तुषारो र वाक्लो कुहिरोका कारण नजीकैका थुम्काबाट आइरहेको प्रकाश समेत विलाउँथ्यो। त्यतिखेर कुकुर भुकेको आवाज मात्र उसको कानमा ठोकिन्थ्यो।'

मेभ्लुटको आँखाबाट गरिएको पचास वर्ष पहिलेको इस्तानवुल शहरको यो चित्रण मात्र होइन, कुरुप वर्तमानको वर्णन समेत उत्तिकै वेजोड छ उपन्यासमा। इस्तानवुललाई केन्द्रमा राखेर अस्थिर राजनीतिबाट गुजि्ररहेको टर्कीको नालीबेली केलाइरहेछन् पामुक, निरन्तर।

नेपाली लेखकहरुमा पनि पहिलेदेखि नै निश्चित स्थानका पात्र र प्रवृति टपक्क टिप्नेहरु नभएका होइनन्। दिवंगत आख्यानहस्तीहरु गोेविन्द बहादुर मल्ल गोठाले र विजय मल्लका अधिकांश लेखनमा असन, भोटाहिटी, मरुटोल, न्यूरोड र काठमाण्डौका भित्री नेवारी वस्तीहरुको चित्र आउँछ। प्रवासी लेखक इन्द्र बहादुर राई र लील बहादुर क्षेत्री क्रमशः दार्जिलिङ्ग र आसामका मौलिकतामा लेखिरहेका छन्, वार्ध्यक्यका वावजूद। राष्ट्रकवि माधव घिमिरेका रचनाहरुमा लम्जुङ्गको पुस्तुन गाउँको हरक, मर्स्याङ्गदीको सुसेली अनि गाउँले संस्कृतिको उपस्थिति वारम्वार देखिन्छ। रमेश विकलका प्रारम्भिक कथा उपन्यासमा पाठकले इन्द्रावती तथा आसपासको ग्रामीणपना, त्यहाँका शोषण उत्पीडन स्पष्ट अनुभव गर्छन्।

'तमोर निलो बग्छु' लगायतका वैरागी काइँलाका कवितादेखि पछिल्लो पुस्ताका स्वप्निल स्मृति, विमला तुम्खेवासम्मका कवितामा प्रायः आफू हुर्केको गाउँका व्यक्ति, बिम्ब र विषय दोहोरिन्छन्। आख्यानहस्ती ध्रुवचन्द्र गौतमका पहिलेका उपन्यासमा पुरानो वीरगंज र अझ त्यहाँको देहातको जीवनचर्याको राम्रो झलक पाइन्छ।

तेह्रथुमको पहाडमा हुर्केका खगेन्द्र संग्रौला काठमाण्डौको स्थायीवासका वावजूद सूदुरपूर्वकै बोली, वान्की र स्थानीयतालाई हालिरहेछन् आफ्ना रचनामा। 'लछमनियाको गौना' जस्ता कथामार्फत् सनतकुमार रेग्मीले पश्चिम नेपालका थारु समाजका दुःखदर्दसँगै संस्कार संस्कृति पस्केका छन्। अभि सुवेदी र डीपी भण्डारीका निबन्धमा क्रमशः तेह्रथुमको सावला र डोटीको निरोलीका सुदूर सम्झनाहरु घोलिएको पाइन्छ सघनरुपमा। मनु व्राजाकीका धेरै कथामा तराईको जनजीवनका दुःख्ासुख र लवज छन् भने केही उनी जन्मेको महोत्तरीका भूगोलमा सामिप्य राख्छन्।

अति प्रयोगवादी कुमार नगरकोटीका सर्रियल चिन्तनमा पाटनका अँध्यारा, अवोध्य तान्त्रिक गल्लीहरु भेटिन्छन् धेरै। नयनराज पाण्डे नेपालगंज, राजन मुकारुङ्ग भोजपुर, श्याम शाह सिराहा र बुद्धिसागर कैलालीमा हुर्केबढेका हुन् भन्ने बुझ्न उनीहरुका कुनै प्रतिनिधि लेखन पढे पुग्छ।

स्पष्टै छ, अमेरिकावासी नेपाली लेखक सम्राट उपाध्यायका उपन्यास, कथामा असहज यौन सम्बन्ध र सन्दर्भले प्राथमिकता पाउँछन्। यसैले उनीमार्फत् विश्वसाहित्यको मानचित्रमा नेपालको सच्चा प्रतिनिधित्व हुन नसकेको गुनासो छँदैछ। तर पनि उनी आफूले वाल्यकालदेखि नै छामेको काठमाण्डौ शहरका कुनाकाप्चाका घटनालाई महत्व दिइरहेछन् लगातार। लेखनमा परिचित भूगोलप्रतिको यो निष्ठा भने वन्दनीय छ उनको। काठमाण्डौका काँठे जनजीवनका सत्यतालाई नेपाली साहित्यमा भित्राउने लेखक नारायण ढकाल एउटै परिवेशमा लेख्ने विरल लेखक हुन्। उनका अधिकतर कथा, निबन्ध र उपन्यासमा उनी जन्मेको गाउँ मूलपानी केन्द्रमा रहेको देखिन्छ। असन, भोटाहिटी, रत्नपार्क लगायत राजधानीका अन्य परिवेश र पात्र पनि छन् उनका कृतिमा, तर सहायक मात्र।

पाँचथर मूलथलो रहेका कवि तथा कथाकार उपेन्द्र सुब्बाको ध्येय पनि खासै वदलिएको छैन। आफ्नै गाउँघरका चालचलन, मिथक, संस्कृति, दुःख सुस्केरा अनि अप्ठ्यारावीच पनि हाँस्ने लिम्बूहरुको विविध गाथा छ उनका कविता, कथाहरुमा। उत्तरवर्ती सोचका अगुवा स्व. थाम्सुहाङ्ग पुष्प सुब्बाले खनेको गोरेटो फराकिलो पार्दैछन् सगुन सुसारा, राज माङ्गलाकहरु अनवरत। आफू बाँचेको परिवेशका अनावृत पाटाहरु उत्खनन गरिरहेछन्। पूर्वकै लिम्बू मिथक, संस्कृति, अझ आफूले छामेको पाँचथर र यस आसपासकै भूगोलका इतिहासदेखि वर्तमानका कुराहरु लेखिरहेछन्, अनि बोलिरहेछन्। भूगोलकेन्द्रित लेखनशैलीवारेको यो सूचीमा अरु थुपै लेखकहरु छुटेका छन् पक्कै।

'चौविस रिल'को एउटा निबन्धमा कवि भूपिन भन्छन्, "भूगोल मात्र देश होइन। भूगोलका साथसाथै प्रविधि, जनशक्ति, संस्कृति, सम्पदा र चेतनाले एउटा देशको परिचय बन्छ।" यो विचारमा विमति कसको पो रहला र? अभ्यस्त भूगोलका संस्कृति, संवाद, लवज, जीवनपद्वतिलाई शब्दमार्फत् सूक्ष्मरुपबाट प्रस्तुत गरेर आम जनजीवनलाई व्यापक पहुँचमा ल्याइपुर्यािउन पुलेसो बनिरहेछन् नेपाली लेखकहरु पनि। तर निश्चित भूगोल टेकेर त्यहाँका सामाजिक, सांस्कृतिक, ऐतिहासिक, राजनैतिक यावत आयामहरु समेट्दै लेख्नुपर्ने धेरै नयाँ विषय छन् हामीसँग। पूर्वी तराई, मध्य र सुदूरपश्चिमका कति भूमि बाँझै छन् साहित्यिक दृष्टिले। पामुकले इस्तानवुलको इतिवृत केलाएझैं लामो साहचर्य रहेको परिचित परिवेशका परिवर्तित तर प्रभावकारी कैयौं कथा सुनाउनु पर्नेछ हामीले अझै।

प्रकाशित: ७ फाल्गुन २०७२ २३:३० शुक्रबार