झिनामसिना होइन, महान विधा हुन्, कविता र गजल । गालिव हुन् या मीर, उनीहरूका गजलका शेर उक्ति वा उखान जसरी प्रयोग हुन्छन् । गजलको दुई लाइनले पाँच सय पृष्ठको उपन्यासले भन्दा बढी झट्का दिन्छन् । राम्रा कविताका हरफ त मलाई कुनै दार्शनिकले कानमा फुकेका मन्त्रजस्ता लाग्छन् । लेखनाथ पौडेलका हरफहरू मलाई मन्त्रजस्ता लाग्छन् । कविताहरू लामो समयपछि उखानजसरी प्रयोग हुन्छन् । भूपीको 'घुम्नेमाथि अन्धो मान्छे' होस् वा देवकोटाको 'पागल', उखानजसरी प्रयोग भइरहने छन् । त्यसैले यस्ता महान् विधाहरू मेरो वर्कतका होइनन् भन्ने लाग्यो । मलाई जुन कुरा भन्नु छ, जुन कुरा सुनाउनु छ, यी विधामा सक्दिनँ जस्तो लाग्यो । त्यसैले उपन्यासको बाटो रोजेँ । र, सन्तुष्ट पनि भएँ । कविता पढ्ने र लेख्ने त गरिरहेको नै छु । कविता अचेल पनि लेख्छु । तर, छाप्न मन लाग्दैन ।
पत्रपत्रिकामा काम गरेर आएको पृष्ठभूमिले तपाईंलाई लेखनमा कत्तिको सहयोग गर्यो ?
धेरै नै । 'कर्नाली ब्लुज' आउनुअघि नै मेरा धेरै लेख पत्रिकामा प्रकाशन भए, जसले पाठकहरूमाझ मलाई पु¥याइदियो । छापिएको रचनाको तात्तातो प्रतिक्रिया पनि आउँथ्यो । भएका कमी–कमजोरी मैले तात्तातै अर्को रचनामा सुधार्ने मौका पनि पाउँथेँ । र, न्युजरुममा बस्दा मैले समाजका धेरै पाटाबारे पनि थाहा पाएँ । जसले मेरो लेखनीलाई अझै सुधार्ने मौका दियो ।
तपाईं उपन्यासमा पात्र र प्रस्तुतीकरणमा खास ध्यान दिनुहुन्छ । साहित्यमा 'कन्टेन्ट' गौण हो र ?
पात्र र प्रस्तुतीकरण मेरो पहिलो रोजाइ हो तर कन्टेन्ट नभै उपन्यास कसरी होला र ? म उपन्यासमा धेरै ठूलो कन्टेन्ट समाउँदिनँ । म त त्यस्ता कन्टेन्ट समाउँछु, जो सबैले बेवास्ता गरेका छन् । लेखक दुई खाले हुन्छन्, एउटा कन्टेन्टको काँध चढेर आफू माथि आउँछन् । दोस्रा, कन्टेन्टलाई काँधमा राखेर माथि ल्याउँछन् । मलाई दोस्रो खाले बन्न मन पर्छ ।
बेवास्ता गरेकै कन्टेन्ट पनि 'जूठी आमै'जस्ता सीमान्तकृत पात्रलाई केन्द्रमा राखेर लेखेको भए हुँदैनथ्यो ?
केन्द्रमा जुठी आमा नै छन् । उनलाई बोक्सीको आरोप लाइन्छ । जुठी आमै कस्तो समाजमा बस्छिन् ? कस्ता चिन्तनहरूको बीचमा उनी छन् ? भन्न सुरुवातका धेरै पृष्ठ खर्चेको छु । एउटी विवश महिलालाई बोक्सी बनाउन कसरी षड्यन्त्र हुन्छ ? कसरी सामान्य मानिस प्रयोग हुन्छन् ? कसरी उनलाई गाउँ निकाला गरिन्छ ? र, उनलाई गाउँबाट निकालेपछि त्यसको कस्तो प्रभाव रहिरहन्छ भनेर भन्न मैले पोस्टकार्ड नामको एउटा खण्ड नै लेखेको हुँ । मलाई मूल मुद्दामा अचानक पस्न मन लाग्दैन । अचानक पसेर प्रभावकारी हुँदैन भन्ने पनि लाग्छ । त्यसैले प्रभावकारी बनाउन धेरै पात्र प्रयोग गरेको छु र धेरै पृष्ठ खर्च गरेको छु । त्यसैले किताब साह्रै मोटो पनि भएको होला ।
'कर्नाली ब्लुज'देखि 'फिरफिरे'सम्ममा बुद्धिमा केही 'चेन्ज' छैन भन्ने पनि सुनिन्छ । पात्र र परिवेशमा उही पुरानै 'फर्म'मा डोहोरिएझैँ लाग्दैन ?
मलाई त्यस्तो लाग्दैन । दुवै पुस्तक पश्चिम नेपालका पात्र र परिवेशमा छन् । त्यसैले धेरैलाई त्यस्तो लाग्दो होला । मैले किशोरावस्थामा साहित्य पढ्दा बुटवल कटेर पश्चिमतिर लागेका कुनै आख्यान पढ्न पाको थिइनँ । आफ्नो ठाउँको बारेमा पढ्ने मेरो तिर्खा अतृप्त थियो । त्यही हुटहुटीले दुवै उपन्यास पश्चिमकै परिवेशमा आए । 'फिरफिरे' २०÷२५ पन्ना पढेर कमेन्ट गर्नेहरूलाई उस्तै भएको लाग्ला । तर, पूरै पढिसकेपछि त्यस्तो लाग्दैन ।
. अनावश्यक ठाउँमा तन्काउँदा उपन्यास लामो भएजस्तो लाग्दैन ? यसो गर्दा पाठक तानिएका छन् कि बिच्किएका ?
मलाई लाग्दैन । धेरै पाठकलाई लागेको पनि छैन । थोरैलाई लागेको होला । आख्यान लेख्दा म रेसम किराजस्तो हुन मन पराउँछु । मलाई रेसम किराले रेसा बुनेझैँ आख्यानका रेसा बुन्न मन पर्छ । 'फिरफिरे' त्यही बुनाइ हो । बोक्सीको आरोप लगाएर गाउँ निकाला गरिएका, हत्या गरिएका, आँखा फुटालिएका, तात्तातो पन्यूले डामिएका समाचारहरू आइरहेका हुन्छन् । ती समाचार छापिन्छन्, अनि हराउँदै जान्छन् । बोक्सीको आरोप लाइएका समाचार त पढ्न पाइन्छ तर किन बोक्सीको आरोप लाइन्छ ? किन धनी र हुने खानेहरू बोक्सी हुँदैनन् ? किन गरिब र असहायमात्र बोक्सी मानिन्छन् भन्न मैले धेरै पृष्ठ खर्च गरेको हुँ ।
फिल्म अत्यधिक हेर्नुहुन्छ । उपन्यास लेख्ने बेलाको 'सिनेमाटोग्राफी' त्यतैको हो ?
कहिलेकाहीँ कुनै दृश्य लेख्दा म सिनेमाको क्यामेराको एंगलले पनि सोच्छु । तर, सधैँ होइन । लेखनमा बढी समय बिताइरहेका बेला अक्षरको दुनियाँलाई एकछिन बिर्सन भए पनि सिनेमा हेर्ने गरेको छु । सिनेमाका संवादहरूबाट समाजमा अपडेट भइरहेका भाषा पनि सिक्ने मौका पाएको छु । राम्रा सिनेमाले लेखकलाई धेरै कुरा सिकाउँछन् । नराम्रा सिनेमाले भने लेखनलाई फिल्मी हुनु हुँदैन भनेर सचेत पनि गराउँछन् ।
विदेशी साहित्य बढी पढ्नुहुन्छ । नेपाली साहित्यमा खासै केही छैन भन्ने लागेर हो ?
पहिला–पहिला नेपाली र हिन्दी साहित्य खुबै पढेको हुँ । अचेल अंग्रेजी नि पढ्न थालेको छु । नेपाली पुस्तक त बजारमा आएको एकदुई दिनमै पढिसक्ने पाठकहरूको पहिलो पंक्तिमै पर्छु होला । नेपाली साहित्य कमजोर छ भन्ने मलाई लाग्दैन । तर, एउटा कुरा के हो भने हामी नेपाली लेखकहरू हाम्रा कृति अनुवाद होलान् र विदेशीले पढ्लान् भन्ने चाहिँ सोच्दैनौँ लेख्ने बेला । 'ऊ गणेशझैँ ठूलो पेट हल्लाउँदै आयो, यसो हेर्दा सुँढ पलाउन मात्रै बाँकी थियो' जस्ता हरफ लेख्छौँ । नेपालीले त यस्तो कुरा सर्लक्कै बुझ्ने भए । यदि अनुवादमा जाने हो भने त अनुवादकको पसिना नै छुट्ने भयो । त्यसैले लेख्दा यस्ता कुरा पनि ध्यान दिन जरुरी छ भन्ने लाग्छ ।
औसत विषय लेखेर पनि यति सफल र चर्चित भइयो भने अब 'विषयप्रधान' उपन्यास लेख्छु भन्ने लाग्न थालेको छैन ?
अरूलाई औसत लाग्ने विषय नै मेरा प्राथमिकतामा पर्छन् । मलाई अरूले औसत ठानेका विषय महत्वपूर्ण लाग्ने होलान् । बोक्सी औसत विषय हुँदै होइन । लामो समयदेखि नेपाली समाजमा प्रभाव पार्दै आइरहेको विषय हो । बोक्सीको नाममा हजाराैं नेपाली महिलाले यातना खेपिरहेका छन् । एउटी असहाय महिलामाथि पूरै गाउँ खनिन्छ । दिसा कोचाइन्छ । हत्या गरिन्छ । यो कसरी औसत विषय भो ?
'बुद्धिसागर घमण्डी छ' भन्नेहरू पनि छन् नि ?
कम्तीमा मलाई भेट्नेहरूले घमण्डी भनेको अहिलेसम्म सुनेको छैन । कतिलाई नभेटी, नसुनी त्यत्तिकै घमण्डी लाग्दो हो । कतिलाई यसको अनुहार हेर्नै नपरोस् पनि लाग्दो हो । एउटा कुराचाहिँ के हो भने मलाई अनावश्यक लोलोपोतो लगाउन आउँदैन । त्यसैले पनि भनेका हुन् कि ? म काठमान्डू पस्दा जस्तो थिएँ, अहिले पनि त्यस्तै छु । तर, मलाई हेर्ने नजरियामा फरक आएको छ । २०६० सालमा एकेडेमीको कविता महोत्सवमा प्रथम हुँदा केही कविलाई म घमण्डी लागेँ । 'कर्नाली ब्लुज'लाई पाठकले मन पराउन थालेपछि केही लेखकलाई म घमण्डी लागेँ । अहिले 'फिरफिरे' आउँदासम्म त धेरैलाई घमण्डी लाग्न थालिसकेको छु ।
'फिरफिरे'को प्रमोसन किन कम गर्न खोजेको ? पुरानो आरोपको खण्डनका लागि हो कि ?
कतिलाई 'फिरफिरे'को साह्रै प्रचार भयो भन्ने पनि लागिसकेको छ । तपाईंलाई कम लागेछ । अचेल पुस्तकका जज भनेका पाठक हुनुहुन्छ । उहाँहरूको हातमा सोसियल मिडियाको पावर छ । पुस्तक चित्त बुझ्यो, उहाँहरूले नै प्रचार गरिदिनुहुन्छ । त्यसैले पुस्तक बजारमा आयो है भन्नेसम्म जानकारीचाहिँ दिनुपर्छ, त्यसपछि खासै प्रचारको आवश्यकता पर्देन । 'कर्नाली ब्लुज' पनि हल्ला गरेजति प्रचार गरिएको चिज होइन, पाठकहरूले नै प्रचार गरिदिनुभएको हो ।
यसपटक 'फिरफिरे'को प्रमोसनका लागि नयाँ 'स्टन्ट' गर्नु जरुरी थियो?
स्टन्ट कहाँ गरिएको थियो र ? अचेल आफ्नो पुस्तक आउने बेला सबैले अलिअलि प्रचार त गरिहाल्छन् । अरूको प्रचार थोरै लाग्ला, मैले गरेको अलिकति प्रचार स्टन्ट नै लाग्ला । घण्टा सबैले बजाएका छन् । कसैको सानो सुनिएला, कसैको ठूलो । फरक यति हो ।
'यत्तिको राम्रो लेखिन्छ, मदन पुरस्कार पाइन्छ अब त' भन्ने मोह छ कि छैन ?
छैन । 'कर्नाली ब्लुज' प्रकाशन भएको पाँच वर्षपछि विचार गर्दा पुरस्कार नपाएकोमा साह्रै खुशी लागेको छ । किनभने, मैले मेरो लेखन के रैछ भन्ने जाँच्ने मौका पनि पाएँ । नेपाली साहित्यमा अधिकांश किताब मदन पुरस्कार पाएपछि चर्चित भएका छन् । बिक्रीमा ३० हजार प्रति नाघ्ने प्रायः किताबमा मदन पुरस्कारको ट्याग लागेको छ । तर, 'कर्नाली ब्लुज'ले पुरस्कारैबिना ३० हजार नाघेको हो । र, यसले मलाई पूर्णकालीन लेखक हुने आँट पनि दियो । यदि त्यसबेला 'कर्नाली ब्लुज'ले मदन पुरस्कार पाएको भए मलाई जीवनभरि दोधार भइरहन्थ्यो– साँच्चै, मेरो लेखनले यतिको माया पाएको हो कि मदन पुरस्कारले दिलाएको हो ? अचेल त्यो दोधारबिना मख्ख हुन पाएको छु, यतिको माया मैले लेखनले नै पाएको हो भनेर ।
अहिलेको नेपाली साहित्य स्तरीय हुने क्रममा छ कि बिकाउमात्रै ?
बिक्ने सबै बेकार हुँदैनन् र नबिक्ने सबै उत्कृष्ट हुँदैनन् । टिकाउ पनि छन्, बिकाउ पनि छन् । स्तरीयताको मापन गर्न केही समय कुर्नुपर्ने हुन्छ । २०३० को दशकमा पनि टन्नै उपन्यास आएका थिए । अहिले ७० को दशकमा मूल्यांकन गर्दा पाँचसात वटाको मात्र नाम आउँछ । ६० वा ७० को दशकबाट पनि त्यसरी नै छानिएलान् । म अहिलेको लेखनलाई लिएर एकदमै आशावादी छु । अचेल आफ्नो समुदाय र संस्कृतिको बारेमा लेख्न त्यही समुदायका लेखक पनि आएका छन् । अहिलेको लेखनको सुन्दरता र सामथ्र्य नै यही हो । मैले भन्दै आएको छु, लेखिरहेका बेला लेखनीको मूल्यांकन गर्न गाह्रो हुन्छ । लेखिरहेका बेला देवकोटालाई पागल, रिमाललाई बौलाहा, शंकर लामिछानेलाई चोर र भूपीलाई तुकबन्दी कवि पनि भनिएकै हो ।
सार्वजनिक कार्यक्रममा कमै देखिएकाले कसैले 'भाउ खायो' भनेका छैनन् ?
कवि हुँदा १० वर्ष मैले सार्वजनिक कार्यक्रममै धाएर बिताएको थिएँ । पछि आख्यान लेख्न थालेपछि त्यो छुट्यो । उपन्यासलाई धेरै समय दिनुपर्ने हुन्छ, पढ्नुपर्ने हुन्छ, खोज्नुपर्ने हुन्छ । त्यसैले सार्वजिनक कार्यक्रममा त्यति जाने मौका मिल्दैन अचेल । भाउ खायो भन्नेको त लहरो नै होला । मलाई लेखकको अनुहार कार्यक्रममा उभिएर देखिँदैन जस्तो लाग्छ । लेखकको अनुहार त उसले लेखेका पुस्तक र हरफहरूले देखाउँछ जस्तो लाग्छ । त्यसैले मानिसहरूले मलाई पुस्तककै पानाहरूमा देखून् भन्ने लाग्छ ।
प्रकाशित: २ फाल्गुन २०७२ ०१:१५ आइतबार