अन्य

'कथाले जति माग्छ, त्यति लोकेसन'

फिल्म 'पशुपतिप्रसाद'लाई समीक्षकले राम्रो ठहराएपछि निर्देशक दीपेन्द्र के. खनाल अहिले फुरुङ्ङ छन् । फिल्म 'द युगदेखि युगसम्म'बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू भएका उनी सधैँ केही फरक गर्न रुचाउँछन् । लामो समयपछि 'धर्मा'बाट अभिनेत्री मनीषा कोइरालालाई उनैले नेपाली फिल्ममा पुनरागमन गराए । पहिलोपटक नेपालमा थ्रीडी फिल्म 'भिजिलान्ते' देखि यौन मनोविज्ञानमा आधारित फिल्म 'चपली हाइट' पनि उनैले बनाए । उनीसँग अनिल यादवले गरेको निर्देशन संवादःफिल्म 'चपली हाइट'पछि तपार्इंले बनाएका प्रायः फिल्ममा एउटा समानता देखियो– एउटै लोकेसनमा फिल्मको छायांकन सक्ने । यो तपाईंको निर्देशकीय विशेषता हो ?

म अभावको बीचमा काम गर्न रुचाउँदिनँ । थोरै बजेटमा धेरै लोकेसन र धेरै पात्र राखेर फिल्म खेलाउँदा भनेजस्तो फिल्म बन्न सक्दैन । म कथाले जति माग्छ, त्यतिमात्र लोकेसन खोज्न रुचाउँछु । फिल्ममा तडकभडक देखाएर बढी खर्च गर्न मन लाग्दैन । फिल्मले भन्न खोजेको कुरा दिनसकूँ जस्तो लाग्छ । मैले 'चपली हाइट' लाई चपलीकै एउटा घरको दुई कोठा र गार्डेनमा खिचाएर सकेको थिएँ । एउटा गीतको त पूरै छायांकन एउटा कोठामा मात्र गरिएको थियो । 'भिजिलान्ते' पनि नुवाकोटको बेतिनी जंगलबाट सुरु गरेर काठमाडौँको रानीवनमा टुंग्याइएको थियो । 'झोले'को ८० प्रतिशत सुटिङ गोदावरीको एउटा घरमा सकिएको थियो । अहिले प्रदर्शन भइरहेको 'पशुपतिप्रसाद' पनि पशुपतिनाथ मन्दिर परिसरमै केन्द्रित छ । यो फिल्मको छायांकन झन् १३ दिनमै सकिएको हो ।

यी चारै फिल्म केही हदसम्म सफल पनि भए । तर, त्यसअघि बनाउनुभएका दुई फिल्म यसरी खिचिएका पनि थिएनन्, सोचेजस्तो सफल पनि भएनन् । त्यही भएर तपाईं 'कम बजेट' र 'थोरै लोकेसन'मा केन्द्रित भएजस्तो देखियो नि !

नढाँटी भन्नुपर्दा ती दुई फिल्म मेरो टाइपका थिएनन् । 'द युगदेखि युगसम्म' बनाउँदाको समय यस्तो थियो कि त्यतिबेला राजेश हमाल, विराज भट्टलाई फिल्ममा लिइएन भने हलले फिल्म लगाउन दिँदैन थिए । कलाकार चयनमा वितरक पूर्ण हाबी थियो । निर्देशकको स्वतन्त्रता थिएन । 'धर्मा' बनाउँदा पनि मैले मनीषा कोइरालाई 'हिरो'का रूपमा देखाउन खोजेको थिएँ । पछि निर्माताको छोरालाई हिरो बनाउनुप¥यो । त्यही कारण मैले 'चपली हाइट'मा ठूलो जोखिम मोलेँ । 'बरु एकदम 'लो बजेट'मा फिल्म बनाउँछु तर राम्रो बनाउँछु' भनेर लागेको थिएँ । सफल पनि भएँ ।

फिल्म 'पशुपतिप्रसाद'भित्र लगभग २३ मिनेटको 'म्युट सिन' छ । 'झोले'मा पनि त्यस्तो सिन देखिएको थियो । 'म्युट सिन'मा दर्शकलाई बाँध्नु चुनौती होइन र ?

हो । दक्षिण भारतीय फिल्ममा त संवादबिना 'पन्च' नै पुग्दैन भन्ने सोच हाबी छ । तर, मलाई कुनै एउटा चरित्र स्थापित भइसकेपछि, दर्शकको मनमा बसिसकेपछि 'म्युट सिन'मा खेल्न मन लाग्छ । कतिपय कुरा बोलेर भन्दा मौन भएर बढी अभिव्यक्त गर्न सकिन्छ जस्तो लाग्छ । 'पशुपतिप्रसाद'मा पनि मैले त्यही गरेको हुँ । यो मेरो व्यक्तिगत स्वभावसँग पनि मिल्छ ।

फिल्म बनाउनुअघि तपाईंलाई कथाको के कुराले छुन्छ र तपाईं फिल्म बनाउन तयार हुनुहुन्छ ?

म आफैँ पनि भावनामा बहने मान्छे हुँ । त्यही भएर कथाभित्रको 'इमोसन'ले मलाई बढी छुन्छ । 'झोले' र 'भिजिलान्ते'मा पनि इमोसन थियो । 'पशुपतिप्रसाद'मा पनि छ । सुरु–सुरुमा मैले जस्तो फिल्म बनाए पनि मेरो स्वभावचाहिँ 'पशुपतिप्रसाद' नै हो । मेरो समाजप्रतिको दृष्टिकोण, सम्बन्ध, सोच आदि 'पशुपतिप्रसाद'सँग मिल्छ ।

'पशुपतिप्रसाद' तपाईंकै कथा हो । यो चरित्र कसरी जन्मिएको हो ?

डेढ वर्षअघि मैले एक दैनिक पत्रिकामा चोरीको आरोपमा रत्नपार्कमा एक व्यक्ति पिटिएर मारिएको समाचार पढेँ । मेरो मनमा चसक्क घोच्यो । सोचेँ– 'समाज किन यति क्रूर भइरहेको छ ? मान्छे नै मार्न त नहुने ।' मोबाइल पसलमा पुगेका दुई व्यक्तिमध्ये एक बाँचेको रहेछ, अर्को मारिएको रहेछ । चारपाँच दिनपछि फेरि त्यही समाचारको 'फलोअप' आयो । त्यो व्यक्ति निर्दोष रहेको खबर थियो । त्यो सुनेर म एकदमै दुःखी भएँ । जुन व्यक्ति पिटिएर मारिएको थियो, उसको हुलिया सामान्य रहेछ । ऊ हेडफोन किन्न खोजिरहेको रहेछ । तर, बाहिरी आवरण हेरेर पसलेले उसलाई पत्याएनछ । म पछि त्यो पसलमा पनि पुगेँ । त्यो विषयमा बुझ्न खोज्दा पसलेले मसँग पनि नराम्रो व्यवहार गर्यो । यही घटनाका कारण जन्मिएको क्यारेक्टर हो, 'पशुपतिप्रसाद' । जो निर्दोष हुँदाहुँदै पनि समाजबाट दोषी ठहरिन्छ ।

तपाईंको निर्देशकीय यात्रा चर्चित अभिनेता राजेश हमाललाई 'एक्सन–कट' गराएर सुरु भएको हो । पहिलोपल्ट नै हमाललाई अभिनय गराउँदा कत्तिको नर्भस हुनुहुन्थ्यो ?

त्यतिबेला मसँग फिल्ममा काम गर्ने जो कोहीलाई सोध्दा हुन्छ, म कति पनि नर्भस थिइनँ । मेरो पहिलो फिल्मदेखि अहिलेसम्म पनि म त्यति नै 'कन्फिडेन्ट' छु । यो प्रश्न सोध्दा मलाई त्यतिबेलाको एउटा घटना याद आयो । 'द युगदेखि युगसम्म'को छायांकनताका राजेश दाइसँग 'क्लाइमेक्स'को सिन खिचिरहेको थिएँ । बहिनीले छाडेर जाने र राजेश दाइ रुने सिने थियो । बहिनीसँगको बिछोडपछिको पीडा र रुवाइ म राजेश दाइको मुहारमा खोजिरहेको थिएँ । त्यो टेक मैले २८ पटकमा पक्का गरेको थिएँ । त्यतिबेला धेरै टेक लिइसकेपछि राजेश दाइको सहयोगीले आएर मलाई 'तुलसी घिमिरेले त दुई टेकभन्दा बढी लिँदा राजेश दाइलाई सोध्नुहुन्छ । अब अलि बढी भयो कि ? बन्द गर्नुपर्ला' भन्नुभएको थियो । मैले राजेश दाइले त केही भन्नुभएको छैन भनेर चित्त नबुझिञ्जेल टेक लिएको थिएँ ।

'पशुपतिप्रसाद'सम्म आइपुग्दा तपाईंको बुझाइमा निर्देशक हुनुको अर्थ के रहेछ ?

बडो गम्भीर प्रश्न हो यो । सुरु–सुरुमा मलाई लाग्थ्यो, 'निर्देशक त्यो व्यक्ति हो, जसले स्क्रिप्टमा भएको कुरालाई पर्दामा उतार्छ ।' अहिले बुझ्दै छु– 'निर्देशकले त समाज बुझेको हुनुपर्दो रहेछ । परिपक्व हुनुपर्छ । समाज, भावना, राजनीति, देश, विदेश, नैतिकता सबै कुरा बुझेको हुनुपर्छ ।' चल्ने चित्र खिच्ने क्याप्टेनमात्र होइन रहेछ निर्देशक । त्यही भएर, कहिलेकाहीँ त हतारिएँ कि जस्तो महसुस हुन्छ ।

प्रकाशित: २४ माघ २०७२ ०१:३६ आइतबार