अन्य

१२ नक्कली डाक्टर पक्राउ

काठमाडौं— नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विभिन्न देशमा चिकित्साशास्त्र पढेर विभिन्न अस्पतालका चिकिसकका रुपमा कार्यरत १२ जना नक्कली डाक्टर पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदसँग सहकार्य गरी उनीहरुलाई पक्रेको हो । पक्राउ परेकामध्ये २ जना सरकारी चिकित्सकका रुपमा कार्यरत थिए भने १० जना निजीमा कार्यरत थिए।ब्युरो प्रमुख डिआइजी हेमन्त मल्लका अनुसार नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक दर्ता प्रमाणपत्र लिएको र दर्ता परीक्षामा अनुत्तीर्ण भए पनि रजिस्टर्ड चिकित्सक बनेर उपचारमा संलग्न रहेकालाई पक्रिएको हो ।

मल्लका अनुसार नक्कली चिकित्सक उपचारमा संलग्न रहेको सूचनाका आधारमा ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदले संयुक्त अप्रेसन सञ्चालन गरी नक्कली चिकित्सक पहिचान गरिएको हो ।

ब्युरोले शनिबार 'अप्रेसन क्वाक' नामकरण गरी पक्राउ परेका १२ जना र प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गरेको थियो । पक्राउ परेकामध्ये ८ जनाले नक्कली प्रमाणपत्रका आधारमा चिकित्साशास्त्र अध्ययनपछि नेपाल फर्किएर लाइसेन्ससमेत लिएका थिए भने ४ जना बिनालाइसेन्स चिकित्सकका रुपमा कार्यरत थिए ।

पक्राउ परेकामध्ये ८ जनाले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विभिन्न देशमा गएर एमबिबिएस पढेका छन् । उनीहरु नेपाल आएर नेपाल मेडिकल काउन्सिलको परीक्षामा उत्तीर्ण भएर लाइसेन्स लिएका थिए । उनीहरुले परीक्षामा अन्यलाई संलग्न गराएर प्रमाणपत्र लिएको प्रहरीको आशंका छ । ४ जना काउन्सिलमा दर्तै नभई चिकित्सकका रुपमा कार्यरत थिए ।

उनीहरुले प्रारम्भमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर रसिया, भारत, चीन, बंगलादेश, पाकिस्तान र फिलिपिन्सबाट एमबिबिएस, बिडिएस र एमडी गरेको फेला परेको डिआइजी मल्लले जानकारी दिए ।

पक्राउ परेकामध्ये एक जनाले नेपालको एसएलसी र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गरेका थिए भने भारतबाट प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गर्नेको संख्या १० छ । एक जनाले भारतबाट प्रवेशिका परीक्षा र प्रमाणपत्रको नक्कली प्रमाणपत्र पेस गरेको अनुसन्धानमा फेला परेको डिआइजी मल्लले जानकारी दिए ।

अस्पताल सञ्चालक नै नक्कली डाक्टर

बिएनसी अस्पताल झापामा कार्यरत रामबाबु गिरी, पशुपति मोडल अस्पताल इटहरीको प्रमुख पशुपति चौधरी, गोल्डेन अस्पताल विराटनगरका कार्यरत मोहम्मद कमरुल हक, कोसी अञ्चलका तुलसीकुमार महतो, ग्लोबल अस्पतालका मोहम्मद अहमद सिद्धिकी पक्राउ परेका छन् ।

यसैगरी, जनकपुर अञ्चल अस्पतालका सन्तोषकुमार यादव, चानसी मेडिकल हल जनकपुरका कल्याण विश्वास, कलेज आफ मेडिकल साइन्स भरतपुरका विनिता यादव, अजित मेडिकल हल जनकपुरका भगवान केवट, रामजानकी डेन्टल क्लिनिक जनकपुरका शैलेन्द्रकुमार महतो, स्वास्थ्य सेवा क्लिनिक कपिलवस्तुका अफजल हुसेन, ग्लोबल अस्पताल ललितपुरका श्यामबाबु साहलाई ब्युरोले पक्रेको हो ।

पक्राउ परेकामध्ये भगवान केवट मल्लाहले चीनको हुवे विश्वविद्यालयमा अध्ययन गरेका थिए । सन्तोषकुमार यादव चीनको ताइसन मेडिकल कलेज, शैलेन्द्रकुमार महतो भारतको एमएम नाक्वी इमाम डेन्टल कलेज, मोहम्मद कमरुल हक पाकिस्तानको डेमन्ट मोरेन्सी कलेज, तुलसीकुमार महतो चीनको छेङचाउ कलेज, श्यामबाबु साह वेफाङ मेडिकल युनिभर्सिटी, विनिता यादव र रामबाबु गिरी बंगलादेशको युनिभर्सिटी साइन्स एन्ड टेक्नोलोजी कलेज, पशुपति चौधरी भारतको पटना मेडिकल कलेज, मोहम्मद सिद्धिकी पाकिस्तानको सिन्ध मेडिकल कलेज, कल्याण विश्वास चीनको विफाङ मेडिकल कलेज र अफजल हुसेनले रुसको स्टेट निकाविक युनिभर्सिटीमा पढेका थिए ।

यीमध्ये शैलेन्द्रकुमार, भगवान, सन्तोषकुमार, मोहम्मद कमरुल, तुल्सीकुमार, श्यामबाबु, विनिता र रामबाबुले काउन्सिलबाट लाइसेन्स लिएका छन् भने अन्य चार जना बिनालाइसेन्स चिकित्सकका रुपमा काम गर्दै आएका थिए । रुसबाट एमडी गरेकी विनिताले चितवनको कलेज अफ मेडिकल साइन्सेस भरपुरमा एमबिबिएस पठाउँदै आएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार पक्रँदा उनी परीक्षाको प्रश्नपत्र बनाइरहेकी थिइन् ।

लाइसेन्स लिएकाहरुले परीक्षामा अर्कैलाई सहभागी गराएर उत्तीर्ण भएको आशंकामा सो पाटोबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लाइसेन्स खारेज हुने

पक्राउ परेकामाथि प्रहरीले ठगी अभियोगमा अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ भने काउन्सिलले लाइसेन्स खारेजी प्रक्रिया अगाडि बढाएको छ । काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले पक्राउ परेकाको लाइसेन्स खारेज गरिने र काउन्सिल ऐनको प्रावधान अनुसार नभएको पद लिए तीन वर्ष कैदको प्रावधान रहेकाले उनीहरुमाथि सोहीअनुसार समेत कारबाही हुने उनले बताए ।

प्रकाशित: २३ माघ २०७२ २०:३१ शनिबार