अन्य

एन्जेलिकसँग सेरेना स्तब्ध

मेलबर्न- एन्जेलिक क्रेबरले विश्व नम्बर एक सेरेना विलियम्सलाई स्तब्ध पार्दै शनिबार पहिलोपल्ट अस्ट्रेलियन ओपन टेनिस जितेकी छिन्। सन् १९९९मा स्टेफी ग्राफपछि ग्रान्ड स्लाम जित्ने क्रेबर पहिलो जर्मन खेलाडी हुन्। उनी ३४ वर्षीया अमिरिकी खेलाडी सेरेनाले मेनबर्न पार्कको सातौं उपाधि तथा २२ औं ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा तगारो बनिन्। सेरना ग्रान्ड स्लामको एकल उपाधिमा ग्राफको कीर्तिमान बराबरी गर्न चाहन्थिन्।सातौं वरीयताकी क्रेबरले पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा सेरेनालाई २–१ को सेटमा परजित गरेकी हुन्। उनी ६–४, ३–६, ६–४ को सेटमा विजयी भइन्।

'मैले पहिलो राउन्ड खेल्दा म पछि परेको थिएँ र जर्मनी फर्कने योजना बनाउँदै खेलंे,' क्रेबरले भनिन्, 'मैले दोस्रो मौका पाएँ। सेरेनासँग फाइनल खेल्ने मौका पाएँ र यो जितले मेरो सपना पूरा भएकोछ। अब म ग्रान्डस्लाम च्याम्पियन भन्न सक्छु।'

पहिलो सेटमा सेरेनाले जर्मनकी २८ वर्षीया सुन्दरीमाथि दबाब सिर्जना गरेकी थिइन्। १५–३० ले पछि परेको अवस्थामा उनले दबाब चिर्दै खेल पक्षमा पारेकी थिइन्। क्रेबरले सशक्त सेरेनाविरुद्ध उत्कृष्ट रक्षात्मक टेनिस खेलिन्। कडा सट प्रहार गर्नेक्रममा सेरेनाले पहिलो सेटमा २३ गल्ती गरिन्।

त्यही गल्ती र समयमा तालमेल मिलाउन नसक्दा सम्भावित विजेताको रूपमा हेरिएकी सेरेना जर्मन प्रतिद्वन्द्वीविरुद्ध फर्कन सकिनन् र ३९ मिनेटमै पहिलो सेट गुमाइन्।

दोस्रो सेटमा गल्ती सच्याउँदै सेरेनाले पुनरागमन गरिन् रसेट आफ्नो पक्षमा पार्दै अन्तिम निर्णायक सेटसम्म पुर्यालइन्। तर, अन्तिम सेटमा सेरेनालाई मौका नदिई क्रेबरले तेस्रो सेट ६–४ ले जितिन्।

'निकै रोचक छ कि जब म यो प्रेस रूममा छिर्छु सबैको चाहना मैले जितून भन्ने हुन्छ। मेरो जीवनको प्रत्येक खेल,' सेरेनाले भनिन्, 'प्रत्येक खेल जित्ने उद्देश्य हुन्छ। तर, आज त्यो हुन सकेन। उनका लागि म साँच्चिकै खुसी छु। मैले उनलाई धेरैपल्ट हराएको थिएँ। उनले आज निकै उत्कृष्ट खेलिन् उनको प्रदर्शन सबैका लागि प्रेरणदायी हुनसक्छ। '

पुरुषतर्फ उपाधि लागि आइतबारबेलायती एन्डी मरे र नोभाक जोकोभिच प्रतिस्पर्धा हुनेछ। गत वर्ष जोकोभिचले मरेलाई हराएर उपाधि जितेका थिए।

प्रकाशित: १६ माघ २०७२ २१:३७ शनिबार