किसान र मजदुर एउटै वस्तीका जिम्मेवार सदस्य थिए । नाम अनुसारकै काम गर्थे । वस्तीमा सुन फलाउनु पर्छ भन्ने मान्यता किसानको थियो । वस्तीलाई रङ्ग्याउने र सुन्दर वस्तीका रुपमा स्थापित गर्ने मजदुरको रहर थियो । आर्थिक हैसियत खासै राम्रो नभए पनि जसोतसो गुजारा चलाएकै थिए । साक्षरमात्रै भए पनि देश र राजनीतिप्रतिको चासो निकै कडा थियो । उनीहरुको एकआपसमा बडो मिल्ती थियो । आ–आफ्नो कामले दिनभर दुइतिर भए पनि साँझ पर्नासाथ टोपीले पसिना पुछ्दै एकै ठाउँमा भेटिन आउँथे । देशको अशान्त अवस्था, दिनदिनको गृह युद्ध आदिका कारण चिन्तित थिए उनीहरु । कुराकानी पनि यस्तै विषयमा गर्थे । उनीहरुका श्रीमती पनि त्यसरी नै मिल्थे । त्यसैको सकरात्मक प्रभाव उनीहरुका सन्तानमा पनि परेको थियो ।
देश अशान्त थियो । डा. भोला रिजालका शब्द गाइरहन्थ्यो रेडियो:
"बन्द गर नेपालीले नेपालीलाई मार्न
किन यस्तो खेल खेल्छौ सधैं आफू हार्न
हारे पनि हार हुन्छ जिते पनि हार
दाजुभाइले दाजुभाइलाई बिन्ती नमार"
सीप सिकाउने झुपडी, कर्म गर्ने हात खोजिरहन्थे कर्णदासहरु, बेखवर चार भाइ छोराको पिरलोले बूढो बाबुको टाउको खाएको सुस्केरा हाल्थे बद्री पंगेनीहरु । एम्बुस पड्किएको, दोहोरो भीडन्त भएको, दर्जनौंको सङ्ख्यामा हताहती भएको, उत्तिकै सङ्ख्यामा घाइते भएको अशुभ समाचार सुनाउथ्यो रेडियो ।
मजदुर र किसानको वस्ती साँच्च्ै सुन्दर थियो । सबै खाले मानिसको बसोबास थियो त्यहाँ । धार्मिक, सामाजिक, जातीय, सांस्कृतिक विविधता प्रष्टै देखिन्थ्यो । उनीहरुबीच एकता मजबुत थियो । मिलेर बस्थे, बाँडेर खान्थे । सुखमा खाइलाग्नु, दुःखमा रोइलाग्नु भन्ने उखान चरितार्थ भएको वस्ती थियो त्यो ।
देशको अवस्था बिग्रँदै गए पछि भने अपरिचित व्यक्तिहरुको आउजाऊ खुब बढेको थियो । त्यसैले होला आठ बजे भित्रैमा खानपिन भ्याएर ढोकाको आग्लो लगाइहाल्थे बासिन्दा ।
एक दिन बस्तीमा अनौठो घटना घट्यो । गाउँका दुई युवती एकाएक बेखबर बने । ती मध्ये एउटी किसानकी छोरी थिई र अर्की मजदुरकी । घाँस दाउरा गर्दा होस् वा मेलापर्म गर्दा उनीहरु सँगै हिँड्थे । समान उमेरका ती केटीको लगभग रुची पनि समान थियो । सकेसम्म एकै रङको उस्तै पहिरन गर्न रुचाउथे । बस्तीमा आँखामा राखे पनि नबिझाउने रतीका रुपमा उनीहरु परिचित थिए ।
दिनभर सँगै घाँस दाउरा गरेका छोरी एकाएक साँझ पख हराउँदा किसान र मजदुर फसादमा परे । दिन जमाना खराब भएको निष्कर्ष निकालेका ती बाबुहरुले बेला बेला छोरीलाई सम्झाउने गर्थे "समय ठीक छैन । फुकी फुकी पाइला चाल्नु । दिन उमेरका छौ, उत्तिकै राम्रा पनि । जालान्धरसँग जोगिनू । जङ्गल जाँदा धेरै टाढा नजानू र एक्लै पनि नजानू । शङ्कास्पद बस्तु हत्तपत्त नछुनू । विष्फोटक पदार्थ हुन सक्छ ।" यसरी नै छोरीहरुलाई सम्झाउथे उनीहरु । छोरीहरुले आपूmहरु अब हुर्किएको भन्दै निश्चिन्त हुन बाबुहरुलाई आग्रह गर्थे । भर्खर युवा वयमा प्रवेश गरेका तिनै छोरी एकाएक अलप हुँदा किसान र मजदुरको परिवारलाई हुन सम्मको पीडा भयो ।
सुरुमा वस्तीका अरु मानिसले थाहा नपाउने गरी उनीहरुले छोरी खोज तलास गरे । केही सीप नलागे पछि बस्तीभरी हार गुहार मागियो । इष्टमित्र, कुलकुटुम्ब जताततै खबर भयो । तर, छोरीहरुको अत्तोपत्तो भएन । बस्तीका अरु मानिस पनि खोजीमा यत्रतत्र लाग्न थाले । पुग्नु पर्ने ठाउँमा पुगे, खोज्नु पर्ने ठाउँमा खोजे । मायाले खाएपछि पाप सोचिने रहेछ क्यारे । अग्ला भीर, गहिरा ताल सबैतिर खोजी भयो । तर, उपलब्धी शून्य नै भयो ।
बस्तीका अरु मानिस बिस्तार बिस्तार अरु काममा पनि लाग्नु पर्ने भयो । चिया पसल र भट्टीमा केटी हराएको विषयमा विभिन्न अड्कल बाजी गरिए । व्यक्ति पिच्छेका तर्क उम्रिए । जस्तै
– उमेरका केटीहरु हुन् । रुप र बैंसमा दुवै धनी छन् । पक्कै बाबुआमाले कुरो बुझिदिएनन् । गास, बास र कपास मात्रै पाएर को धानिन्छ र बैँसमा ? सहबासको खोजीमा एकएक जना भुसतिघ्रे समातेर हिँडे होलान् कतै । अर्को वर्ष नाति–नातिना च्यापेर आइहाल्छन् नि । खोज्ने दुःख नगरे हुन्छ ।
– होइन, ती बालखीहरु त्यस्ता होइनन् । पक्कै केही असजिलोमा परे होलान् । घाँस दाउराका लागि जङ्गल गइरहन्छन् । कुनै पापीले केही पाप गरेर फालिदियो कि ! लौन, केही त गर्नै प¥यो ।
– बस्तीमा विभिन्न खाले मानिसको आऊजाऊ बढेको छ, कोही छट्टु बस्तीमा पसेर ललाई फकाइ सीमा त कटाएन ?
– मजदुर र किसानकै आन्दोलन हो भन्ने झोला बोकेर हिँड्नेहरुसँगै उनीहरु पनि जङ्गल त पसेनन् ?
– सुराकी वा विद्रोहीमध्ये कुनै आरोपमा अपहरण वा पक्राउमा पो परे कि !
यस्तै शङ्का–उपशङ्कामा बस्ती रुमलिन थाल्यो । केटीहरुको परिवारमा अनौठो सन्नाटा छाउन थाल्यो । किसान र मजदुर दिनभरी खोजी कार्यमा खटिन्थे र साँझ निन्याउरो अनुहारमा सुस्केरा हाल्दै घर फर्किन्थे । परिवारका अरु सदस्य पनि रुने, कराउने र टोलाउने बाहेक अन्य काममा सरिक हुन छोडेको हप्ता बित्न थाल्यो । कहिले आँखा फर्फरायो भन्दै रुन्थे कहिले बाडुल्की लायो भन्दै । खानेखुट्ने, सुत्ने उठ्ने कुनै ठेगान भएन ती दुईको परिवारमा ।
किसानको छोरो सानै भएकाले उसलाई घटनाले कुनै प्रभाव पार्न सकेन तर मजदुरका दुई जुम्ल्याहा छोरीमध्येकी कान्छी छोरीमात्रै घरमा रही । ऊ पनि दिदी बेखबर भएदेखि झण्डै बिच्छिप्त जस्तै भएकी छे ।
अब किसान र मजदुरसँग अन्तिम एउटा उपाय थियो–पुलिसको दैलो घच्घच्याउने । तर, यस्तो अवस्थामा प्रभावकारी ढङ्गले खोजी गरिदेलान् भन्नेमा सत प्रतिशत ढुक्क भने हुन सकेका थिएनन् । तैपनि केही हुन्छ कि भन्ने झिनो आशा लिएर सुरक्षा निकायको दैलोमा पुगे उनीहरु । यस्तो विषम परिस्थितिमा उमेर पुगेका युवती हराएको विषयलाई सुरुमा पुलिसले त्यति धेरै चासो दिएन । निधार खुम्च्याउँदै एउटा फुलिसले भन्यो –"अब हामी बिरुद्ध आइलाग्ने तयारीमा जङ्गल पसे होलान् नि । गतिलो शिक्षा नदिए पछि यस्तै हो ।"
"त्यसको त हामी जिम्मा लिन्छौं हजुर । उनीहरु दुवै त्यस्ता होइनन् ।"–मजदुरले हात जोडेर भन्यो । "त्यस्तो को हो भन्ने कुरा निधारमा लेखेको हुन्छ र ?" "परिबन्धमा परेर, धम्कीमा परेर गएका भए भगवान जानून् । होइन भने उनीहरु त्यसरी जानै सक्दैनन् ।"–किसान एकहोरो भट्याउन थाल्यो । "त्यसो भए कुनै केटो समातेर पो हिँडे कि ! बढेका केटीहरु । कसैसँग उठबस्, हिमचिम आदि थियो तपाईका छोरीहरुको ?"
"ख्वै त्यस्तो पनि लाग्दैन । केटाहरुसँग त खुलेर गफ पनि गर्दैनथे । " "इष्टमित्रहरुकहाँ पो गएका छन् कि , कि कसैसँग शत्रुता थियो ?" "छैनन् हजुर छैनन् , आफन्त त कुरै छाडौं, सामान्य नाता पर्नेकहाँ पनि पुग्यौं । कतै छैनन् । त्यस्तो कोही शत्रु भएजस्तो पनि लाग्दैन । "
"किन यति ढिलो आउनु भएको त ? भोलिपल्टै यहाँ आएको भए कम्तीमा सुरक्षा नाकामा विशेष निगरानी राख्न सकिन्थ्यो । त्यही पनि हामी प्रयास गर्छौँ । तीन नम्बर कोठामा गएर लिखित निवेदन दर्ता गराउनुहोस् । रेडियोबाट पनि सूचना प्रसारित गर्नु पर्छ ।"
उनीहरु निवेदन दर्ता गराउन तिर लागे । त्यहाँ पनि सुरुमा त खासै महत्त्व दिइएन । पछि "छोरीहरु खोजी गरी पाऊँ" भन्ने निवेदन संयुक्त रुपमा दर्ता गरियो ।
पर्सि पल्ट रेडियोले सूचना प्रचारित ग¥य:
"युवतीहरु हराएको सूचना"
"कालो कपालमा रातो रिवन बाँधेर दुई चुल्ठी बाटेका, निलो किनारा भएको रातो कपडामा चन्द्र सूर्य अङ्कित चोलो लगाएका, गहुँ गोरा वर्णका शान्ति नेपाली र सुरक्षा नेपाली नाम गरेका दुई युवती यही मिति २०६१ साल जेठ १९ गते सुन्दर नेपाल बस्तीबाट हराइ रहेका हुँदा फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी चौकीमा बुझाइदिनु हुन अनुरोध गरिन्छ ।"
त्यसदिन पछि रेडियोले कहिल्यै युवती फेला परेको सूचना भनेको पनि छैन । उनीहरु फेला परेका पनि छैनन् । सुरक्षाकी जुम्ल्याही बहिनी उन्नति बिच्छिप्त बनेर टोलाई रहन्छे । शान्तिको भाइ संविधान उतिबेला अबोध थियो, अब त्यही बुझ्ने भएपछि केही गर्छ कि भन्ने आशमा मजदुर र किसानको परिवार बसेका छन् ।
हरेक दिन घर अगाडिको टौवामा कालो काग आएर कराई रहन्छ । त्यही कागतिर फर्किएर गहाभरी आँसु लिँदै बोलिरहन्छे किसानकी श्रीमती –"शुभ बोल ! शुभ बोल !!
प्रकाशित: १५ माघ २०७२ २२:४५ शुक्रबार