अन्य

रेडपाण्डाको छालासहित तस्कर पक्राउ

कोहलपुर- दुर्लभ वन्यजन्तु रेडपाण्डा(हाब्रे)को छालासहित दुई तस्कर कोहलपुरमा पक्राउ परेका छन्। नेपाल प्रहरीको सुदुरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कोहलपुर बसपार्कबाट रेडपाण्डा छालाको कारोवार गरिरहेको अवस्थामा कालिकोटको राम्नाकोट–१ का १९ वर्षीय भैरव बम र राचुली–४ का २३ वर्षीय क्ष्मणबहादुर शाहीलाई पक्राउ गरेको हो।


कोहलपुर–११ बसपार्कबाट शुक्रबार दिउँसो उनीहरु कारोबार गर्ने क्रममा रंगेहात समातिएका थिए। पक्राउ परेका दुवै दुर्लभ रेडपाण्डाका तस्कर रहेको सुदुरपश्चिम प्रहरी अनुसनधान ब्यूरोका इन्चार्ज बिरेन्द्र जोहारीले बताए। उनीहरुले अहिलेसम्म सात वटा रेडपाण्डाको छाला विक्रि गरेको खुलेको छ। तीन दिनपछिको लामो अनुसन्धान र निगरानीपछि उनीहरु पक्राउ परेका थिए। कालिकोटको उच्च पहाडी र हिमाली क्षेत्रमा रेडपाण्डाको हत्या गरि उनीहरुले लामो समयदेखि कारोवार गर्दै आएको पाएइएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार रेडपाण्डाको छाला नेपाली तीन लाख देखि नौँ लाख मूल्यमा कारोवार हुन्छ । प्रहरीले रेडपाण्डा छालासहित दुई तस्करलाई शुक्रबार नै जिल्ला वन कार्यालयमा बुझाइएको ।

हिमाली जिल्लामा पाईने विश्वको दुर्लभ वन्यजन्तु रेडपाण्डा(हाब्रे) नेपालमा पनि लोप हुँदै गएको छ। यो उचच पहाडी र हिमाली क्षेत्रका ३३ सय मिटर उचाईको निगालो, लालीगुराँस, गोव्रे सल्ला आदि मिश्रित जंगलमा बस्छ।

प्रकाशित: १५ माघ २०७२ ०५:३२ शुक्रबार