अन्य

बेलायती जमेको दिन

मेलबर्न- विश्व नम्बर दुई एन्डी मरे अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा स्पेनका डेविड फेररलाई हराएको खुसी मनाइरहँदा अर्को कोर्टमा बेलायतकै जोहान्ना कोन्टाले पनि प्रतियोगिताको अन्तिम चारमा स्थान बनाइन्।

चारपटकका उपविजेता मरेले फेररलाई हराउन निकै संघर्ष गर्नुपर्योय। पहिलो सेट जितेका मरेले दोस्रो सेट गुमाए पनि त्यसपछि लगातार दुई सेट जितेरअन्तिम चारको स्थान पक्का गरेका हुन्। ३ घन्टा २० मिनेट कोर्टमा बिताएका मरेले सेमिफाइनलमा क्यानडाका मिलोस राओनिकसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछन्। मरेले फेररविरुद्ध ६–३, ६–७ (५/६), ६–२, ६–३ को सेटमा जित निकालेका हुन्।

मरेको यो छैटौं अस्ट्रेलियन ओपन सेमिफाइनल हो भने समग्र ग्लान्डस्लाममा उनको १८ औं सेमिफाइनल हो। यस प्रतियोगितामा आफ्नो प्रदर्शन सुधार गर्दै आएका मरेले पछिल्लो चार संस्करण उपविजेतामा चित्त बुझाएका छन्।

तर, बुधबार कोन्टाले चीनकी झाङ सुईलाई पराजित गरेपछि प्रतियोगितामा पहिलोपल्ट मरेले फाइनल चरणमा बेलायती साथीको साथ पाएका छन्। सन् १९८३ पछि पहिलोपल्ट बेलायती महिलाले ग्रान्डस्लामको सेमिफाइलनमा स्थान बनाएका हुन्। १९७७ को अस्ट्रेलियन ओपनमा जोन लोएड र सु बार्करपछि बेलायती पुरुष र महिला एकै ग्रान्डस्लामको सेमिफाइनल पुगेको यो पहिलो हो।

बेलायती खेलाडीको दिन रहेको बुधबार मरेका भाइ जमिइ ब्राजिली जोडी ब्रुनो सोएरेससँगै पुरुष डबल्सको सेमिफाइनलमा स्थान बनाउन सफल भए। नोभेम्बरमा डेभिस कपअर्न्तगत बेल्जियमलाई पराजित गरेपछि बेलायती टेनिसका लागि यो विशेष दिन रहेको मरेले बताए। १९३६ पछि पहिलो पटक उनीहरूले उक्त प्रतियागिता जितेका थिए।

'करिब सबैखाले विधामा हाम्रा साथीहरूले राम्रो गर्दै प्रतियोगितामा अघि बढ्नु निकै खुसीको क्षण हो। त्यसमा पनि अस्ट्रेलियन ओपनमा यस्तो संयोग जुर्नु सुखद हो। आशा गरौं हामीसँगै अघि बढ्नेछौं,' मरेले भने, 'सबैले आ–आफ्नो खेल जित्नु सामान्य हो तर प्रतियोगिताको यो स्तरमा जित्नु ठूलो कुरा हो। गत वर्षको अन्त्यतिर डेभिस कपमा हामीले जुन सफलता पाएका थियौं त्यसपछि आज पाएको यो सफलता बेलायती टेनिसका लागि सुखद क्षण हो।'

फेररले मरेका लागि आफू कठिन प्रतिद्वन्द्वी रहेको प्रमाणित गरे। मरेले शारीरिक रूपमा कडा मिहिनेत गर्नुपर्योह। आँधी आउने सम्भावनाबाट बच्न तेस्रो सेटपछि रोड लेभर एरेनाको छाना लगाएपछि मरेलाई फाइदा पुगेको थियो।

'तेस्रो सेटमा छाना लगाएपछि मैले सहज महसुस गरेँ,' मरेले भने, 'ढिलो गरी सुरुभएको पहिलो खेलको निकै महŒव थियो। मैले केही बे्रक प्वाइन्ट जोगाएँ। तर, खेल निकै राम्रो रह्यो।'

अर्को खेलमा राओनिकले फ्रान्सका गेल मोन्पि्कल्सलाई ६–३, ३–६, ६–३, ६–४ को सेटले हराउँदै सेमिफाइलन यात्रा तय गरेका हुन्। २५ वर्षे राओनिक दुई वर्षअघि विम्बल्डनको सेमिफाइनलमा रोजर फेडेररसँग पराजित भएका थिए।

'अब झन् मेरा लागि चुनौतीपूर्ण छ। मलाई विश्वास छ कि त्यसको समाधानलाई मसँग समय छ,' राओनिकले भने।

महिलातर्फ कोन्टाले सुईमाथि ६–४, ६–१ को सेटमा जित निकालेकी हुन् भने अर्को खेलमा जर्मनीकी एन्जेलिक क्रेबरले बेलारुसकी छैटौं वरयीताकी भिक्टोरिया अजारेन्कालाई ६–३, ७–५ ले पराजित गरिन्। क्रेबरले सेमिफाइनलमा कोन्टासँग प्रतिस्पर्धा गर्नेछिन्।

प्रकाशित: १३ माघ २०७२ २२:१३ बुधबार