अन्य

फरार लागुऔषध कारोबारी पक्राउ

ललितपुर-प्रहरीले ६ वर्षदेखि फरार रहेका एकजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले सैवुका सुमन बानियाँलाई मंगलबार जावलाखेलबाट पक्राउ गरेको हो।परिसरका प्रवक्ता डिएसपी दयानिधी ज्ञवालीले बानियाँ अदालतले लागुऔषध कारोबारी ठहर गर्दै कैद र जरिवानाको फैसला पछि फरार रहेका प्रतिवादी हुन।

उनका अनुसार ललितपुर जिल्ला अदालतले बानियाँलाई एक वर्ष कैद र १० हजार जरिवानाको फैसला २०६६ माघ १० मा गरेको हो । अदालतको आदेशले धरौटीमा छुटेका बानियाँ त्यसपछि फरार भएका थिए ।

प्रहरीले बानियाँ सहितको समुहले लागुऔषध खैरोहिरोइनको कारोवार गर्दै गरेको अवस्थामा २०६५ चैत्र १६ मा पक्राउ गरि कारबाही चलाएको थियो । परिसरका अनुसार अदालतको आदेशले धरौटी रकम बुझाएर छुटेका बानियाँलाई अन्तिम फैसलामा लागुऔषध कारोवारी ठहर गर्दै कैद तथा जरिवाना तोकिएको हो ।

प्रकाशित: १२ माघ २०७२ ०७:२५ मंगलबार