अन्य

लाटोकोसेरो चोरी–निकासी गर्ने दुई पक्राउ

इटहरी- शंकटमा रहेरे पनि संरक्षणको प्राथमिकतामा नपरेको लाटोकोसेरोको बर्षेनी सयौंको संख्यामा चोरी–निकासी हुने गरेको छ। चोरी–निकासी गर्ने क्रममा इटहरीबाट प्रहरीले आइतबार बिहान छ वटा लाटोकोसेरोको बच्चासहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीले विहान २ बजे इटहरी वडा नं. १ बाट को १५ प ५७३८ नम्बरको मोटरसाइकलमा धरान ल्याउँदै गर्दा धरान वडा नं. १३ का विशाल तामाङ् र सोही ठाउँका रोशन भूजेललाई पक्राउ गरिएको हो। पक्राउ पर्नेले उर्लाबारीबाट लाटोकोसेरो ल्याएको खुलेको छ।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि जिल्ला वन कार्यालय सुनसरीको जिम्मा लगाएको इटहरीका डिएसपी ओम अधिकारीले बताए । बुटी तथा औषधी बनाउनका लागि लाटोकोसेरोको चोरी–निकासी विशेषगरी खाडी मुलुकमा हुने गरेको प्रहरीले जनाएको छ।

नेपालमा लाटोकोसेरो किसानहरुको साथी भएकाले यसको संरक्षण आवश्यक भएपनि बर्षेनी सयौंको संख्यामा चोरी–निकासी हुने गरेको चरा विज्ञले बताएका छन् । लाटोकोसेरो संसारमा दुई सय २६ प्रजातिको छ । नेपालमा भने २१ प्रजातिको पाइन्छ । नेपालमा तराई, मध्यपहाडी र उच्च हिमाली क्षेत्रमा लाटोकोसेरो पाइने गरेको चराविज्ञ हेमसागर बरालले जानकारी दिए । उनका अनुसार नेपालमा लाटोकोसेरोको यकिन संख्या पत्ता लगाइएको छैन् ।

नेपालबाट चरा प्रजातिका वन्य जन्तु तस्कर हुने क्रममा लाटोकोसेरा अग्र पङतिमा स्थानमा पर्ने चराविज्ञ बरालले जानकारी दिए । लाटोकोसेरो चोरी–निकासी गर्नेलाई राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा चलाएर कारबाही गरिने जिल्ला वन कार्यालय सुनसरीले जनाएको छ । यो ऐन अन्तर्गत मुद्धा चलाएर कारबाही हुँदा दुई बर्षसम्म कैद र दश हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ ।

प्रकाशित: २६ पुस २०७२ ०४:४४ आइतबार