अन्य

नेपाली भाषा अत्यन्तै लालित्यपूर्ण

अभय कुमारका निम्ति नेपाल र नेपाली भाषाले ठूलो अर्थ राख्छन्। त्यसैले उनी आफूले नेपाली भाषा सिक्दाको समयलाई अत्यन्तै स्नेहपूर्वक सम्झना गर्छन्। 'तपाईंले एक पटक भाषा सिकिसकेपछि फेरि त्यसलाई बिर्सन सक्नु हुन्न,' उनले कुराकानीका क्रममा भने।
आफ्नो काठमाडौं कार्यकाल पूरा गरी ब्राजिलका निम्ति रवाना हुनुअघि यी भारतीय कवि तथा कुटनीतिज्ञले नेपालसँगको आफ्नो नाता सधैँ ररिरहने बताए। यो उनको भावनात्मक अभिव्यक्ति मात्र होइन, बरु हाम्रो मुलु्कसँगको उनको सम्बन्ध साहित्य सिर्जनाका रुपमा समेत रहिरहने छ।

उनी अंग्रेजीमा लेख्ने कवि हुन्। तैपनि उनको 'जात्रा' शीर्षकको नेपाली कृति प्रकाशित भइसकेको छ। उनले नेपालमा बसेर लेखेको पृथ्वी गीत र सार्क गीतमा नेपाली गायिका श्रेया सोताङ र संगीतकार सपन घिमिरेले काम गरेका छन्। पृथ्वी गीतमा ८ भाषाको प्रयोग गरिएको छ र त्यसमध्येको एक नेपाली पनि हो।

काठमाडौं बसाइका क्रममा उनले यहाँको सांस्कृतिक, साहित्यिक समाजमा प्रभाव पार्न सक्ने कार्यक्रम– कविताका निम्ति 'पोयमाण्डू', सिनेमाका निम्ति 'सिनेमाण्डू', संवादको कार्यक्रमहरू 'कन्भर्सेसन' र 'भ्वाइस' संचालन गरेका थिए। उनले सुरु गरेको यो 'सफ्ट डिप्लोमेसी'का लागि पनि सबैले सम्झना गर्छन्।

अभयले जाँदाजाँदै आफ्ना काठमाडौं सिर्जना र नेपाल अनुभूतिलाई गुणराज लुइँटेलसँग यसरी प्रकट गरेका छन् :

नेपालमा तपाईं आफ्नो साहित्यिक यात्रालाई कसरी सम्झनु हुन्छ?

मेरो साहित्यिक विकासका निम्ति यहाँ रहँदाका मेरा तीन वर्ष निकै महत्वपूर्ण रहे। मेरो लेखनका निम्ति नेपाल ठूलो प्रेरणाको स्रोत बनेको छ। यो मुलुक बसाइका क्रममा मैले धेरै ठाउँमा घुम्ने अवसर पाएँ र ती अत्यन्तै रोमाञ्चक अनुभव थिए। मैले यात्रा गरेका सबै ठाउँका बारेमा लेखेको छु। अझ ती ठाउँका बारेमा लेखिएका कविताहरू अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिष्ठित साहित्यिक जर्नलहरूमा छापिएका छन्। आयरल्याण्डको एउटा पत्रिकाले दशैँसम्बन्धी मेरो एउटा कृति छापेको छ। त्यस्तै नेपालका अद्वितीय व्यक्तित्वहरू लक्ष्मीप्रसाद देवकोटा, भानुभक्त, अरनिकोसम्बन्धी मेरो अर्को सामग्री भेरमोन्टमा छापिएको छ। नेपाल, नेपाली र यहाँको संस्कृति विश्वलाई चिनाउने मौका पाएकोमा म गौरवान्वित छु।

खासगरी मैले नेपालमा पाएको प्रशंसा विशेष किसिमको छ। मेरा साहित्यिक कृतिहरूले नेपालको भावनालाई समाउन सकेको छ भन्ने विश्वास उनीहरूको छ। मैले नेपाली कलाकारहरूसँग पनि सहकार्य गर्ने मौका पाएँ। विशेष गरी मैले लेखेका पृथ्वी गीत र सार्क गीत सधैँ मेरो सम्झनामा आउँछन्। यिनीहरूलाई संगीतवद्ध गर्ने क्रममा मैले नेपाली कलाकारहरू विशेष गरी श्रेया सोताङसँग काम गर्दाको क्षण अत्यन्तै उपलब्धिपूर्ण लाग्यो। यी अनुभव र स्मृतिका निम्ति म आभारी छु।

नेपालमा तपाइँलाई सबैभन्दा धेरै प्रेरणा केले दियो?

नेपाली संस्कृति, भाषा र कलाकृतिमा रहेको अद्वितीयपनले यस्तो वातावरण र शक्तिले तपाईंलाई सधैँ प्रेरणा दिइरहन्छ। मैले नेपाली भाषा पनि सिकेँ। यो भाषाको संरचनाले मलाई अत्यन्तै लोभ्यायो। यो नेपाली भाषा अत्यन्तै लालित्यपूर्ण छ। सबै किसिमका साहित्यिक रचनाका निम्ति यसलाई प्रयोग गर्नं सकिन्छ। वाक्य पूरा हुने बेलासम्म पनि अब के होला भन्ने उत्सुकता रहन्छ। दोहोरी भाषिक प्रयोगको अर्को एउटा उदाहरण हो। मैले यस्तो प्रयोग अत्यत्र कतै देखेको छैन। चाँगुनारायणका खुडि्कला वा वशन्तपुरमा उभिएर अरु मानिसले कुरा गरेको सुन्दा तपाईंले अत्यन्तै आनन्दको महसुस गर्न सक्नु हुन्छ। यो त राजधानी काठमाडौंको मात्र कुरा भयो, सिंगै देशसम्पूर्णरुपमा प्रेरणाको स्रोतका रुपमा रहेको छ। भक्तपुरको हाकुपटासीमा प्रयोग भएको कालो र रातो रंगको प्रयोग भनेको उत्कृष्ट फ्युजन हो। पाटनका कलात्मक झ्यालहरूले उस्तै प्रेरणा दिन्छन्। जहाजबाट नेपाललाई हेर्दा स्वर्गमा उडेको जस्तो अनुभूति हुन्छ।

तपाईंले आफ्नो कुटनीतिक जिम्मेवारी र साहित्यिक प्यासन बीच कुनै तादात्म्य पाउनु भएको छ?

भाषिक अभिव्यक्तिका हिसाबले यी दुबैमा उल्लेख्य समानता छ। कविता र कुटनीति दुबै संवेदनशीलताले छुने विषय हुने भएकाले शब्दहरूको प्रयोग अत्यन्तै निपूर्ण किसिमले गर्नुपर्ने हुन्छ। भनिन्छ, उत्कृष्ट कुटनीति त्यही हो, जहाँ कुटनीतिक व्यवहार भइरहेको थाहा हुँदैन। उत्कृष्ट कविता पनि सीधा व्यक्त हुँदैन। दुबैमा लाक्षणिक शब्दको प्रयोग हुन्छ। दुबै सूक्ष्म किसिमका हुन्छन्। तिनलाई राम्ररी प्रयोग गरियो भने तिनले मानिसहरूलाई जोड्छन्। शासन कलाका माध्यमबाट गरिने पहलमा पनि कविताले उत्कृष्ट किसिमले मद्दत गर्छ। कुटनीति र कविताबीच धेरै समानता छन् र व्यक्तिमा दुबैले पार्ने प्रभाव ठूलो छ।

तपाईंले आफ्नो जिम्मेवारीसँगै कवितालाई कसरी सँगै लिएर हिंड्न सक्नु भयो?

कविताको स्वाभाविक प्रवाह ममा छ। यो प्राकृतिक हो। मैले माछापुच्छ्रेको कविता लेख्दा थोरै त्यसको इतिहास, थोरै मिथ र मेरो अनुभूति समावेश गरेको छु। त्यसैले यस्ता कविताहरूले कुनै पनि पृष्ठभूमिका व्यक्तिहरूलाई सजिलै आकर्षित गर्छ। मेरो कामसँगै कविताहरू मसँग यात्रा गर्छन्। कविता मेरो आत्माको निम्ति दैनिक भोजनजस्तो हो। त्यसैकारण म कविता लेख्नका निम्ति समय निकाल्छु। मेरो समय पनि अरुको जस्तै २४ घण्टा नै हो। तर, म क्रिकेट वा फूटबलका लागि समय नदिएर कवितालाई दिन्छु।

तपाईंले नेपालबाट आफूसँग के लिएर जानु हुन्छ?

नेपालीहरूको जस्तै कठिनाइलाई पनि सामना गर्न सक्ने क्षमता हो। जस्तै अप्ठ्यारोमा पनि नेपालीहरू मुस्कुराइरहेका हुन्छन्। त्यसैले नेपालसँग मेरो जीवनभरि सम्बन्ध हुन्छ। मैले नेपाली भाषा पनि सिकेँ। यो सिकिसकेको भाषा बिर्सन मिल्दैन। मैले नेपालमा धेरै माया पनि पाएँ। मैले नेपाल र नेपालीका बारेमा सोच र चिन्ता सधैँ राख्छु। नेपाल फलोस्, फुलोस्, सम्पन्न बनोस्। मेरो यही कामना छ।

यति राम्रो नेपाली भाषा चाहिँ कसरी सिक्नु भयो?

पहिले अखबार पढेर सिकेँ। गत वर्ष म विश्वविद्यालय पनि गएँ र त्यहाँको परिक्षा उत्तीर्ण गरे। अब मेरो भाषाको सूचीमा रसियन, हिन्दी र अंग्रेजीसँगै नेपाली पनि थपिएको छ। नेपाली भाषा मेरो जीवनभर मसँगै रहन्छ।

प्रकाशित: २५ पुस २०७२ ००:०६ शनिबार