क्रिकेट सफलताको खुसियालीमा हजारौं समर्थक सडकमा उत्रिएका थिए भने देशका विभिन्न सहरमा हावामा बन्दुक पड्काएको थियो। जिम्बावेविरुद्धको शृंखला ३–२ ले अफगानिस्तानले जितेपछि देशवासीले उत्सव मनाएका थिए। बुधबारको सफलतापछि अफगानिस्तान एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष १० भित्र परेको छ।
हेलमन्डको राजधानी लस्कर गाहको एक अस्पतालले खुसियाली मनाउने समयमा हावामा पड्काइएको बन्दुकको गोली लागेर १७/१८ वर्षे एक युवकको मृत्यु भएको जनाएको छ।
काबुल पुलिसका प्रवक्ता अब्दुल बसिर मुजाहिदले खुसियाली मनाउने क्रममा कम्तीमा तीनजना घाइते भएको र त्यो उत्सव मनाउन संलग्नमध्ये ३५ जना पक्राउ परेको शुक्रबार बताएका छन्। हावामा बन्दुक पड्काउने अफगानिस्तानको परम्परा नै हो। तर, त्यो आफैमा खतरनाक हुन्छ। त्यसै कारण पनि भिडियो सन्देशमार्फत राष्ट्रपति असरफ घानीले ऐतिहासिक जितको खुसीमा हतियारसहित सहभागी नहुन आग्रह गरेका थिए। राष्ट्रपति घानीले क्रिकेट शृंखलाको जितमा देशवासीलाई बधाई दिएका थिए।
अफगानिस्तानले दोस्रोपल्ट जिम्बावेविरुद्ध शृंखला जितेको थियो। यसअघि अक्टोबरमा पनि अफगानिस्तानले यस्तै सफलता पाएको थियो। तालिवानी शासनबाट मुक्त भएको अफगानिस्तानले त्यसयता क्रिकेटमा एकपछि अर्को सफलता हासिल गर्दै आएको छ। तालिवानी समयमा अफगानिस्तानमा कमै मात्र खेलकुद आयोजना हुन्थे। काबुलमा रहेको फुटबल रंगशाला यातना दिन प्रयोग हुँदै आएको थियो। युद्धका कारण दशकभन्दा लामो समय पाकिस्तानको शरणार्थी सिविरमा रहँदा दसौं हजार अफगानीले क्रिकेट सिकेका थिए।
तालिवानी शासनको अन्त्यपछि अफगानिस्तानमा तीब्र गतिमा क्रिकेट विकास भइरहेको छ। अहिले खुला चौरको सानो ठाउँमा पनि अफगानिस्तानमा क्रिकेट खेलिन्छ।
प्रकाशित: २४ पुस २०७२ २१:२० शुक्रबार