अन्य

धरौटीमा छुटेर पुरानै धन्दामा

काठमाडौं-प्रहरीलाई हैरान बनाएका 'नोटोरियस' कल बाइपासका सञ्चालक बंगलादेशी नागरिक जावेद खान बल्ल पक्राउ परेका छन् । बंगलादेशबाट नेपाल आएर संगठित रुपमा अबैध कलबाइपासको धन्दामा सक्रिय खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।


खान २ वर्षअघि कल बाइपासकै अभियोगमा पक्राउ परेका थिए । ब्युरोले २०७० साउन २ मा ग्रान्डी अपार्टमेन्टबाट कल बाइपासका उपकरणसहित पक्राउ गरेका उनलाई काठमाडौं जिल्ला अदालतले एक लाख धरौटीमा तारेखमा छाडेको थियो । तारेखमा रिहा भए लगत्तै पुन पुरानै धन्दामा फर्किएका उनलाई ब्युरोले २ वर्षदेखी पुन खोजी शुरु गरेकोमा २ साता अगाडि स्वयम्भुबाट पक्राउ परेका हुन् ।

ब्युरोका प्रमुख डिआइजी हेमन्त मल्लका अनुसार खानले कल बाइपास भएको स्थान र अन्य अभियुक्तसँग सम्पर्कमै नबसेका कारण पक्राउ गर्न निकै कठिन भएको थियो । उनले कल बाइपासको उपकरणको नियन्त्रणमा मोवाइलबाट एसएमएस गरेकै आधारमा खुल्ने र बन्द हुने नयाँ प्रविधि प्रयोग सुरु गरेकाले समेत उनलाई पहिल्याउन प्रहरीलाई हम्मे परेको थियो ।

उनी घरभाडामा लिँदा मध्यस्थकर्ताको प्रयोग गर्थे भने घरबेटीलाई शंका नहोस् भनेर बेलुका रेस्टुरेन्टमा काम गर्ने भएकाले दिनमा मात्रै कोठामा बस्ने बताउँथे । उनले कल बाइवासका लागि आवश्यक उपकरण अनलाइनमार्फत अर्डर दिएर खरिद गर्थे ।

सीमकार्ड लिन अन्य व्यक्तिको नागरिकता, लाइसेन्स र पासपोर्टको नक्कल प्रयोग गरी एसएमएसकै भरमा कल बाइपासका उपकरण अन–अफ हुने प्रविधि प्रयोग गर्दै आएका थिए । प्रहरीका अनुसार उनले कल बाइपासबापतको रकम हुन्डी र मनी ट्रान्सफरमार्फत लेनदेन गरेकाले समेत प्रहरीले उनलाई फेला पार्न हम्मे नै प¥यो ।

ब्युरोका अनुसार बंगलादेशबाट नेपाल आएर स्वयम्भुमा बस्दै आएका २९ खानले नेपालमा कल बाइपासमा सक्रिय बंगलादेशी समूहसँग मिलेर अबैध कलबाइपास गराउँदै आएका थिए । विदेशबाट कल बाइपासमा प्रयोग हुने उपकरण मगाएर सहयोगी परिचालन गरी कलबाइपास गराउँदै आएका उनी आफू भने अन्तर्राष्ट्रिय कल क्यारियरसँग समन्वय गर्न सक्रिय थिए ।

दुई वर्षअघि उनी पक्राउ परे पनि अदालतबाट धरौटीमा छुटेपछी उनी अदालती प्रक्रियामा संलग्नै भएनन् । उनी मुद्दाको तारेखमा अदालतमा उपस्थित नभएपछि अदालतले उनलाई दुई वर्ष कैद र १ लाख जरिवाना फैसला गरे पनि उनी फेला नपर्दा फैसला कार्यान्वयनै हुन सकेन ।

उता, ब्युरोले उपत्यकामा अवैध कलबाइपास हुने स्थान पहिचान गर्दै छापा मारेर उपकरणसहित धन्दामा संलग्न कारोबारी पक्राउ गर्यो । जति स्थानमा ब्युरोले फेला पारे, ती सबै सहयोगी थिए भने मुख्य नाइके उनै खान थिए । धरौटीमा अदालतबाट मुक्त भएपछि उनले काठमाडौंसँगै उपत्यकाबाहिर समेत आफ्नो जालो विस्तार गरे ।

ब्युरो टोलीले २०७१ असार ६ मा बसुन्धारामा छापा मारेर उनका सहयोगीलाई उपकरणसहित पक्राउ गर्यो । उपत्यकाबाहिर मकवानपुर हेटौंडामा सुरज जोशीसहितलाई पक्राउ गर्दासमेत त्यसका नाइकेसमेत उनै खान रहेको खुल्यो । ब्युरोले खानले अवैध कल बाइपास गराएको काठमाडौंको च्यासल, बाफल, सामाखुसी, नेपालटारमा छापा मारेर उपकरण जफत गर्दै सहयोगी पक्राउ गर्यो ।

२०७२ मंसिर २७ मा काठमाडौंको सामाखुसी टाउन प्लानिङमा उपकरणसहित सहयोगी पक्राउ परेपछि ब्युरो खाननजिक पुगेको थियो । दोस्रो दिन ताहाचलमा भुषण श्रेष्ठको घरमा छापा मार्न पुगेको प्रहरीले बल्ल खानलाई फेला पार्यो । प्रहरीले खानको धन्दामा लगानी गरेको आरोपमा सिन्धुपाल्चोकका दिवाकर नकर्मी, सहयोगी नवीन कायस्थ र जयराम गौतमलाई समेत पक्राउ गरेको छ ।

ब्युरोले करिब ६ वर्षबीचमा कल बाइपास भइरहेका ८९ स्थानमा छापा मारेर १ सय ५ र ३६ जना विदेशी नागरिकलाई पक्राउ गरिसकेको छ ।

प्रकाशित: २१ पुस २०७२ २०:२८ मंगलबार