अन्य

सार्वजनिक स्थानमा हुक्का तान्नेलाई कारवाही गरिने

काठमाडौं— काठमाडौंका सार्वजनिक ठाउँ तथा सर्वसाधरण जमघट हुने होटल एवं रेष्टुरेन्टमा सुर्तीजन्य पदार्थ खानेलाई कारवाही हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले अहिले सम्झाइबुझाइको काम गरिरहेकामा केही दिनभित्र जरिवानासहित कारवाहीको तयारी गरेको हो।

हुक्का, चुरोट, खैनी लगायत सूर्तिजन्य पदार्थ सेवन गर्नेलाई यस्तो कारवाहीको तयारी भैरहेको जिल्ला प्रशासनले जनाएको छ। 'अरु समयको भन्दा अहिले बढि गुनासो आइरहेको छ,' काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले नागरिकन्युजसँग भने, 'गर्नुपर्ने निरन्तर हो तर अहिले अत्याधिक धेरै गुनासाहरु आएका कारण अभियानकै कारण सुरु गर्नुपर्ने देखेको छु।'

उनका अनुसार सुर्ति र सुर्तिजन्य पदार्थको सार्वजनिक स्थानमा सेवन नगराउँनका लागि यस्तो तयारी थालिएको हो। काठमाडौंका विभिन्न होटल, रेष्टुरेन्ट लगायत क्षेत्रमा युवायुवतीहरुको भीडभाड भैरहेको खबरलाई काठमाडौं प्रशासनले समाधानको प्रयास थालेको उनले जानकारी दिए।


'होटल तथा रेष्टुरेन्टहरुमा पनि सर्वसाधरण मानिस हुन्छन्। सबैलाई हुक्का, चुरोटको धुवा मन नपर्न सक्छ,' उनले भने, 'त्यसैले पिउने छुट्टै कोठाको व्यवस्था गर्नुपर्छ।'

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ ले कारवाहिको अधिकार दिएपनि अहिलेसम्म मौन रहेको प्रशासनले अभियानका साथ लाग्ने तयारी गरको सुवेदीले जानकारी दिए । 'सुरुमा सम्झाउने र पछि नमाने कानुनी कारवाही गर्ने तयारीमा छौं,' उनले भने, 'यसका लागि हामी होटल व्यवसायीहरुसँग छलफल गरिरहेका छौं ।'

प्रहरीले करिब दुइ महिनादेखि अनुगमन गरिरहेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । अनुगमनका क्रममा देखिएका सुर्तिजन्य पदार्थ सेवकलाई सम्झाउने काम भैरहेको उनले जानकारी दिए ।

'अहिले पनि कतिपय ठाउँमा सुधार भैरहेको खबर आएको छ,' उनले भने, 'अभियानका रुपमा जाँदा कारवाही सहित जान्छौं ।' उनका अनुसार परिसरले काठमाडौं १४ वटै प्रहरी वृतहरुलाई अनुगमनका लागि निर्देशन दिइसकेको छ ।

प्रकाशित: १५ पुस २०७२ ०८:२१ बुधबार