अन्य

स्वादिलो भेडेटार

सुनसरी र धनकुटाको सीमा भेडेटार (१,४२० मिटर)। पूर्वी पहाडी जिल्लाको प्रवेशद्वार। शीतल हिल स्टेसन, जहाँ बादलको लुकामारी चलिरहन्छ। चिसो भएर के भो र, न्यानो घाम लाग्छ। डाँडामा हेर्ने कुरा धेरै छन्। कलाकृतिले झकिझकाउ 'मन शान्त ग्यालरी रिसोर्ट'मा कलाकार रोजन राईको कला हेर्न पाइन्छ। राजारानी मार्गमा शंखेश्वर महादेव मन्दिर छ। शंख आकारको १८ फिट अग्लो मन्दिर। भित्र गुफामा शंखेश्वर भगवान् छन्।भेडेटार बजारबाट १० किलोमिटर दुरीमा सिम्सुवा झरना। ५५ मिटर लामो झरनामा क्यानोनिङ गर्ने सुविधा छ। भेडेटारबाट तीन किमिमा पाथिभरा मन्दिर। लिम्बु राजा सायोक हाङले बनाएको साँगुरीगढी त्यतै छ।

भेडेटारको शैलुङ डाँडामा टावर छ। बेलायती युवराज चार्ल्स २०३८ मा भेडेटार पुगेका थिए। उनले त्यहाँ शैलुङ डाँडा (१,४७० मिटर) बाट कुम्भकर्ण, सगरमाथा र मकालु हिमाल अवलोकन गरेका थिए।

भेडेटारबाट चार किमिमा नाम्जे गाउँ छ। अमेरिकी समाचार संस्था सिएनएनले विश्वका घुम्नैपर्ने १२ वटा गाउँको सूचीमा नाम्जेलाई राखेको थियो। त्यहाँ मगरको बाहुल्य छ। मगरका पुर्खाको लास गाडिएका २१३ चिहानमा भएका ढुंगा बटुलेर अमेरिकीले त्यहाँ आत्मा बस्ने घर बनाएका छन्। जुन सामूहिक चिहान हो।

छोटी मोरङमा सांस्कृतिक पार्क बन्दै छ। परम्परागत पहिरन झल्काउने गरी नेपालका १२५ जातिको मूर्ति बनाउने योजना छ। तीन बिघा जमिनमा पार्क।

भेडेटारमा ४० हाराहारी होटलमा एकै रात पाँच सय जना सजिलै बास बस्न सक्छन्। नौ वटा होटल थपिँदै छन्। तोङ्बा र कान–जिब्रो (बँगुरको) भेडेटारका आकर्षक परिकार हुन्।

अंग्रेजी नयाँ वर्ष सन् २०१६ को अवसरमा भेडेटारमा पुस १६ देखि १८ सम्म चौथो फुड फेस्टिवल हुँदै छ। होटल एशोसिएसन भेडेटारले आयोजना गर्ने फेस्टिवलमा राई, लिम्बु, मगर, नेवार संस्कृतिमा प्रचलित परिकार पाइन्छ। तिनका सांस्कृतिक झाँकीहरू यहाँ प्रदर्शन हुनेछन्।

नाकाबन्दीका बाबजुद महोत्सवमा १५ हजारभन्दा बढी पर्यटक भित्र्याउने एशोसिएसनको लक्ष्य छ। '३० लाख भन्दा बढीको कारोबार हुने आशा छ,' लावतीले भने।

कसरी पुग्ने : काठमाडौं–धरान ५५० किमि। धरान–भेडेटार १७ किमि। काठमाडौंबाट बिहान पाँच र दिउँसो तीन बजे धरान जाने डिलक्स गाडी छुट्छन्। बसमा १२ घन्टा। होटल एशोसिएसन भेडेटारका अनुसार महोत्सव अवसरमा धरान–भेडेटार सार्वजनिक बस चल्छन्।

प्रकाशित: ३ पुस २०७२ २२:१२ शुक्रबार