अन्य

'लस्ट इन ट्रान्जिसन' सार्वजनिक

काठमाडौं- संयुक्त राष्ट्रसंघको उच्च ओहदा रही लामो समय विदेश बसेका कुलचन्द्र गौतमले आफ्नो पुस्तक 'लस्ट इन ट्रान्जिसन' शनिबार पाठकमाझ ल्याएका छन्। राष्ट्रसंघको उपमहासचिव समेत रहिसकेका गौतमको पुस्तक विमोचन पूर्व राष्ट्रपति डा. रामवरण यादवले गरेका हुन्।
विमोचन समारोहमा यादवले गौतमले अन्तर्राष्ट्रिय अनुभवसहित नेपालको संक्रमणकाललाई देखेको बताए। समर्पण र पीडाको बीचबाट आफू हिँडेको र संविधान दिनुपर्ने नैतिक दायित्व भएकाले आफूले त्यसलाई पूरा गरेको यादवले सुनाए। यादवले यसबीचमा मुलुकले भोग्नुपरेका पीडा पनि उल्लेख गरेका थिए।

कार्यक्रममा विश्लेषक हरि शर्माले पुस्तकको परिचय गराउँदै यो राजनीतिक टिप्पणी भए पनि लेखकले आफ्ना अनुभव समावेश गरेको बताए। पुस्तकको वर्णनशैली चलनचल्तीभन्दा बेग्लै रहेको बताउँदै शर्माले नेपालमा विकासको सम्भावनाबारे बाटो देखाएर सकारात्मक संकेतका साथ पुस्तक टुंग्याइएको अवगत गराए।

मुलुकमा दसवर्षे माओवादी द्वन्द्व, त्यसपछिको लामो संक्रमणकाल, संविधानसभाको चुनावदेखि लिएर सभाबाट संविधान बनाउनका निम्ति सतहमा देखिएका अन्तर्संघर्षको पृष्ठभूमि केलाउन गौतमको पुस्तकले सहयोग गर्ने शर्माले बताए।

नेपालको शान्ति प्रक्रियामा भएका त्रुटि र अन्तर्राष्ट्रिय समुदायबाट समेत भएगरेका कमजोरीलाई गौतमले पुस्तकमा औंल्याएका छन्। जस्तोसुकै अवस्थामा पनि मानवअधिकार, विधिको शासन र प्रजातन्त्रको मामलामा जिम्मेवार पक्षले सम्झौता गर्नै नमिल्ने मान्यता गौतमको छ।

'प्रजातन्त्र र समुन्नतिका आधार तयार हुँदै गइरहेका बेला पहिलेदेखि हेपिएका र सीमान्तकृतहरुको भावना उठाएर माओवादीले सत्ता र शक्तिसम्मको पहुँच बनायो,' गौतम भन्छन्, 'प्रजातन्त्र पुनर्बहाली हुँदैगरेको इतिहासको एउटा महŒवपूर्ण क्षणबाट यसले मुलुकलाई युद्धको भूमरीमा डुबाउँदै लग्यो।'

स्वयं आफू नै उपमहासचिव रहेको राष्ट्रसंघको नेपालस्थित नियोग (अनमिन)ले त्यतिबेला कसरी पूर्वाग्रहपूर्ण तरिकाले काम गरेको थियो भन्ने कुरा गौतमले पुस्तकमा सविस्तार वर्णन गरेका छन्। पुस्तकको उपसंहारमा गौतमले यतिबेला भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीबारे बहस गर्दै ठूला छिमेकीसँग यस्तो बेला कसरी सम्झौता गर्दा आफ्नो हकअधिकार सुरक्षित रहनसक्छ भन्ने सुझाव पनि दिएका छन्।

गौतमलाई आफ्नो प्रकाशन गृहमा लेखकका रुपमा स्वागत गर्न पाउँदा खुशीलागेको नेपालयका किरणकृष्ण श्रेष्ठले बताए। 'यो पुस्तकको शीर्षकै संक्रमणमा रुमलिएको मुलुकलाई लिएर तयार पारिएको छ,' श्रेष्ठले भने, 'संक्रमण कालकै अर्का प्रतीक व्यक्तित्व पूर्व राष्ट्रपतिलाई यो हस्तान्तरण गरेर समस्त पाठकलाई सुम्पेका छौं।'

पुस्तकको मूल्य ६ सय ७५ रुपैयाँ राखिएको छ।

प्रकाशित: २६ मंसिर २०७२ २१:३५ शनिबार