अन्य

सुटिङको छनोट, टेनिस जारी

काठमाडौं- १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडी छनोट भएका छन्। विभिन्न चार स्पर्धामा समान ६–६ महिला/पुरुष गरी १२ खेलाडी छनोट भएको आयोजक नेपाल सुटिङ संघले जनाएको छ।

बिहीबार सम्पन्न छनोट प्रतियोगिताबाट प्रत्येक स्पर्धामा शीर्ष तीन स्थानभित्र पर्ने खेलाडी भारतमा हुने सागका लागि छनोट भएका हुन्।

पुरुष १० मिटर एयर राइफलमा दाङका पवन घिमिरे (५६९ अंक) पहिलो, सुनसरीका टीकाराम श्रेष्ठ (५६६ अंक) दोस्रो र ललितपुरका असिम यादव (५६१ अंक) तेस्रो भए। सोही स्पर्धाको महिलामा रुपन्देहीकी स्नेह राज्यलक्ष्मी राणा (३८९ अंक) पहिलो, नेपाल प्रहरीका फूलमाया क्याप्छाकी (३८५ अंक) दोस्रो र अस्मिता राई (३८५ अंक) तेस्रो भए।

सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताको पुरुष १० मिटर एयर पेस्तोलमा बाँकेका बद्रुउद्दिन अन्सारी (५५२ अंक) पहिलो, आर्मीका कुवेर केसी (५४८ अंक) दोस्रो र काठमाडौंका सुमन तुलाधर (५३९ अंक) तेस्रो भए।

महिलामा सबै पुलिसका खेलाडी छनोट भए। सविता बस्नेत (३६३ अंक) पहिलो, सीमा तुलाधर (३६० अंक) दोस्रो तथा मनिता राई (३५७ अंक) तेस्रो भए।

पुरुषमा ६ सय र महिलामा ४ सय पूर्णांकमा प्रतिस्पर्धा भएको थियो। सागको पाँचौं संस्करणदेखि सुटिङमा भाग लिन थालेको नेपालले १ स्वर्ण, १ रजत र ६ कांस्य पदक जितेको इतिहास छ।

प्रकाशित: २४ मंसिर २०७२ २१:५९ बिहीबार