अन्य

बहानैबहानामा बेचिन्छन् चेली

काठमाडौं- आफ्नै दिदीले भारतमा बेच्न लैजालिन् भन्ने कुरा उनले कल्पनासम्म गरेकी थिइनन्। गत असोजमा दिदीसँग घुम्न भनी उनी भारतको दिल्ली पुगेकी थिइन्। केही दिन दिदीको परिवारसँग घुमिन्। केही दिनपछि दिदीले चिनेजानेको आफन्तको घरमा एकछिन बस्न भन्दै छाडेर हिँडिन्। केही दिनपछि कलकत्ता घुम्न जाने भन्दै त्यहाँ पुर्यानइयो। त्यहाँको एक होटलमा एकछिन बस्न भनेकी दिदी गायब भइन्।पछि नेपाली दिदीबहिनीकै सहारामा माइती नेपाललाई खबर गरेपछि उनको कात्तिकमा उद्धार भयो। उनी अहिले माइती नेपालको सहारामा छिन्। साथमा तीन वर्षको बच्चासमेत रहेकी उनका पति वैदेशिक रोजगारमा छन्। माइती नेपालले उनलाई परिवारसँग पुनर्मिलन गराउने तयारी गरिरहेको छ। रमिला भने अब कसरी पतिसँग भेट्ने, के भन्ने भनेर चिन्तामा डुबेकी छन्। 'अहिलेसम्म भेट भएको छैन, अब के हुन्छ?' उनले भनिन्। दोषीलाई कारबाही गर्न माइती नेपालले पहल गर्न लागेको उनले जनाइन्।

काभे्रकी गीता शर्मा (नामथर परिवर्तन)लाई भने घरेलु हिंसाले बेचिने अवस्थासम्म पुर्यालएको हो। पतिले दैनिक रक्सी सेवन गरी दिने यातनाले उनलाई घरमा बस्नै नसक्ने भएपछि गत असारमा घर छाडेर काठमाडौं आइन्। काठमाडौंको गौशालामा भाँडा माझ्दै गर्दा राजेश नाम गरेको व्यक्तिले भेटे। उसैको मार्फत प्रकाश भन्ने दोस्रो व्यक्तिसँग भेट गराइयो। भेट गराउनुको एउटै कारण थियो– दिल्लीमा दुई लाखसम्म कमाउने काम लगाइदिने प्रलोभन। यही प्रलोभनमा परी उनी प्रकाशसँग भारत जाँदै थिइन्।

जानुअघि नाकामा कसरी बोल्ने भन्ने कुरा प्रकाशले गीतालाई सिकाएका थिए। उनलाई प्रकाशको श्रीमती बनाएर लैजाने प्रपन्च रचियो। आफ्नै श्रीमतीको चुरा, सिन्दुर, लुगा लगाएर लगिँदै थियो। चितवन र पर्साको सिमाना बाँदरझुला पुगेपछि त्यहाँका स्थानीयले सोधेपछि माइती नेपाल शाखा ठोरीमा पुर्याएए। प्रकाश बीचैमा फरार भए। माइती नेपालले गीतालाई अहिले शरण दिएर राखेको छ। न घर न बच्चा, साथमा न कमाइको अवस्थामा पुगेको गीता यतिखेर सबैभन्दा सानो काखे बालकसँग भेट्न आतुर छिन्। आफू बेचिनबाट बचे पनि प्रकाशले अरु दिदीबहिनीलाई बेच्ला भन्ने चिन्ता लागेको उनले नागरिकसँग बताइन्। 'मैले नाकामा दाइ नै भनेकाले बचेकी हुँ, नत्र बेचिन्थें,' उनले भनिन्।

सोमबार माइती नेपालले सिमानामा गरेको पत्रकार सम्मेलनमा यी दुई महिलासहित अन्य हिंसामा परेका महिला उपस्थित थिए। उनीहरु सबै विभिन्न बहानामा बेचिन पुगेका र बेचिनबाट जोगिएकाहरु थिए।

माइती नेपालको आँकडाअनुसार सन् २०१५ मा ४४ जना बेचबिखन र बेचबिखनको जोखिममा परेका महिलाको उद्धार गरिएको छ। उनीहरुमाथिका दोषीउपर खोज अनुसन्धान तथा मुद्दा चलिरहेको छ।

पछिल्लो चरणमा भारतबाहेक काममा लैजाने बहानामा तेस्रो मुलुकमा समेत बेचबिखनमा परी नेपाली चेलीले यातना झेल्नुपरेको माइती नेपालले जनाएको छ। दिल्ली, बम्बै, महाराष्ट्र, कोलकता, साउदी अरब, मनिपुर, उडिसा, बंगलादेश, श्रीलंका लगायत ठाउँमा चेलीबेटी बेचबिखनमा पर्ने गरेका छन्। साथै तिनको ती ठाउँबाट उद्धार पनि गरिएको छ।

बेचबिखन र यसको जोखिममा पर्नेहरु अधिकांश कामको खोजीमा हिँडेका महिला पर्ने गरेको माइती नेपालले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७२ २०:१० सोमबार