अन्य

कहिलेसम्म गुँडुल्किने टहरामा ?

सिन्धुपाल्चोक- वैशाख १२ को विनाशकारी भूकम्पले बस्ती भुँईमा मिलाएको स्याउले–७ बाङ्बा गाउँको खण्डहर अझै उस्तै छ। तामाङ समुदायको झुम्म घरहरु उसैगरी एकै ठाउँमा थुप्रिएका छन्। भूकम्पको आठ महिना बिते पनि भग्नावशेष पन्छाउने हिम्मत जुटाउन सकेका छैनन् गाउँलेले। ढलेका घरअगाडि मंसिरको घाम ताप्दै ६० वर्षीय हितवीर तामाङ नुवाइ–धुवाइमा व्यस्त छन्।शरीरको मयल माड्दै उनले प्रश्न गरे, 'सरकारले कहिलेदेखि घर बनाउन दिन्छ? कस्ता–कस्ता घर बनाउने कुरा गर्छन्?'

उनी सरकारी प्रतिनिधि हुन् कि भनेर झुक्किएका रहेछन् नागरिक प्रतिनिधिसँग। 'गाउँमा आइपुग्ने सबैलाई नयाँ घर बनाउने विषयमा सोध्छु, कसैले केही जवाफ दिँदैनन्,' हितवीरले सुनाए।

भूकम्पले उनका ढुंगामाटाका चार वटै घर ढाल्यो। तीन छोराबुहारीसहित नौ सदस्यीय उनको परिवार जस्ताको अस्थायी टहरोमा गुँडुल्किएर बसेको छ। तीन छोराका लागि भनेर उनले थपेका तीन घर वर्षअघि मात्र बनिसकेका थिए। कष्टपूर्ण बितेको बर्खा र मंसिर सुरुमै सुरु भएको ठन्डीले अत्तालिएका उनी जतिसक्दो छिटो नयाँ घर बनाएर सर्न चाहन्छन्। तर सरकारले नयाँ घर बनाउन रोकेको उनको बुझाइ छ। 'घर बनाउन सरकारको आदेश चाहिन्छ रे! आठ महिना बित्यो, आदेशै आएन,' उनले भने।

जस्ताको टहरोले दिएको सास्तीबाट अवाक् उनलाई कहिले त ढुंगामाटाकै परम्परागत घर बनाउन झ्वाक चलेर आउँछ। भूकम्पपछि यस्ता घर आफ्ना लागि आफैंले 'चिहान' बनाउनु सरह रहेका बुझेका उनी थामिन बाध्य छन्। बर्खामा टहरोभित्रै भलबाढी छिरेर आजित हितबीरले हिउँदमा सुविस्ता हुने सोचेका थिए। 'बर्खा भन्दा चिसो सहन गाह्रो हुँदो रहेछ,' उनी भन्छन्, 'नयाँ घर बनाउन सरकारले निकास दिए हुन्थ्यो।'टहरोको बास आपत्विपत्मा केही महिनाको लागि मात्र भएको उनको बुझाइ छ।

साँघुरो टहरोमा नअट्दा त्यो त्रासदीमा परिवारै मिलेर मानो खाएर उब्जाएको अन्न घरबाहिरै छ। टहरो भित्र शीत छल्ने पीर, बाहिर अनाज कसरी जोगाउने भन्ने चिन्ता। चिसो खनिन्छ शरीरमाथि, मुसा, घरेलु र जंगली जनावर अन्नपातमा झुत्ति खेल्छन्। 'यसरी कति दिन बाँच्ने?' हितबीर डराए, 'आफैं घर बनाउन पनि नपाउने रे। सरकार एउटा निर्णय दिँदैन।'

पुनर्निर्माण प्राधिकरण गठनमा भएको ढिलाईले भूकम्पबाट सर्वाधिक जनधनको क्षति ब्यहोरेका सिन्धुपाल्चोकवासी द्धिवीधामा छन्, आफै घरसंरचना बनाउने या प्राधिकरण कुरेर बसिरहने? यही द्धिवीधाका कारण सिन्धुपाल्चोकमा पुनःनिर्माण सुरु हुन सकेको छैन। गाउँ, बस्ती खण्डहर छन् । सुलुत्त जमिनमा सुतेका गाउँ उठ्ने संकेत छैन। पूर्वतातोपानीदेखि पश्चिम हेलम्बुसम्म जस्ता र त्रिपाले टहरोको कहर र सास्ती मात्रै छ। पुनर्निर्माण प्राधिकरण गठनको पर्खाइमा छन् जिल्लाका भूकम्प पीडित। पुनर्निमाणको पर्खाइमा रहेका उनीहरु तत्काल भवन निर्माण संहिता र भूकम्प प्रतिरोधी घरको डिजाइन चाहन्छन्।

भूकम्पबाट जिल्लाका ७० हजार घरधुरीमध्ये ९० प्रतिशत संरचना ध्वस्त भएको थियो। ती संरचना भूकम्पको चिनोको रुपमा खण्डहर र भग्नावशेषमा रुपान्तरित छन् अहिले पनि। यस्ता दृश्यले भूकम्प मात्र सम्झाइ रहेको छ। ध्वस्त झण्डै ६० हजार घरधुरीका डेढ लाख भन्दाबढी जनसंख्या अहिले अस्थायी टहरोमा आश्रित छन्। उनीहरु टहरोमा ठण्डीबाट कठ्यांग्रिन थालेका छन्। चिसोले घरैपिच्छे घाँटी, रुघा, ज्वरो, दम र खोकीका बिरामी छन्। केटाकेटी र वृद्धवृद्धा जोगाउन हम्मे परेको छ। मौसम फेरिए पनि उनीहरुका दुःख र सास्ती फेरिएका छैनन्। बरु अनगिन्ति समस्याका चाङ थपिँदो छ।

भलबाढीबीच उनीहरुले कहालीलाग्दो बर्खा गुजारे।

टहरोभित्र पानी उम्रन्थ्यो, भल पस्थ्यो, सोहोर्दैमा हैरान थिए। हिउँदमा केही सुविस्ता हुने ठानेका थिए उनीहरुले। तर ठन्डी लिएर आएको हिँउदले अझ बढी सास्ती दिने संकेत गरिरहेको छ। भुँईबाट पानी उम्रन छाडेको होइन, जस्ताको छानो र जस्ताकै बारबेर गरी बनाइएको टहरोभित्र बिहानीपख शीतको सानो भलै बग्छ।

बल्लाङगाउँका सामाजिक कार्यकर्ता रामशरण अधिकारी प्राधिकरण गठनमा भएको ढिलाइले पुनर्निर्माण सुरु हुन नसकेको बताउँछन्। 'आठ महिनासम्म एउटा प्राधिकरण बनाउन नसक्ने यो के काइदा हो?' अरुझैं टहरोभित्र लुगलुग काँपेर बसिरहेका उनी आक्रोश पोख्छन्। धेरै पीडित आफूखुसी घर बनाउन चाहन्छन्, तर उनीहरुको चाहनाअघि त्यही प्राधिकरण तगारो बनेर उभिएको छ। सरकारले पुनर्निर्माणमा दिने भनेको २ लाख अनुदान र सहज ब्याजदरको बैंक ऋण प्रवाह गर्ने कार्यविधि बनेपनि प्राधिकरण गठन नहुँदा सबै काम रोकिएको छ।

हिमाली गाविसले घेरिएको अधिकांस जिल्लावासीको जीभनभरको कमाइ भन्नु नै घरसंरचना थियो। त्यही घर पनि भूकम्पले ढालिदिएपछि उनीहरुसँग शरीरबाहेक केही छैन। २ लाख रुपैयाँले पूरानै संरचनाको घर नबन्ने उनीहरुको ठम्याइ छ। उपत्यका बाहिरका भूकम्प प्रभावित जिल्लामा घर बनाउन १५ लाख रुपैयाँसम्म ऋण दिने भनिए पनि त्यो पाउन उनीहरुसँग बैंक धरौटी छैन। अनुदान र ऋणमध्ये एक मात्र पाउने हुँदा भूकम्प पीडित थप पिरलो र द्विविधामा छन्।

'सबै जग्गाजमिन बैंकमा राखेर ऋण लिँदा ३ लाख पनि आउँदैन। अनुदानको २ लाखले घर र ऋणमध्ये एउटा लिँदा घर बनाउने सपना मात्र हुन्छ,' बाङ्बा गाउँकै ४८ वर्षीय जरे तामाङ भन्छन्, 'गरीबको हितमा हुने केही देखिएन।' पुनर्निर्माण हुन नसक्दा कतिपय गाउँमा ढुंगामाटोकै परम्परागत घर धमाधम बनिरहेका छन्। भोटसिपा, स्याउले, सिपापोखरे, कुविण्डे लगायत गाउँमा धेरै परम्परागत घर बनिसकेका छन्।

सदरमुकाम चौतारा, मेलम्ची र बाह्रविसे क्षेत्रका बासिन्दा तत्काल आफैं घर बनाउन चाहन्छन्। बजारबासी भएकाले उनीहरु घर बनाउन सक्षम पनि छन्। पश्चिमका आठ गाविस मिलेर मेलम्ची र चार गाविस समेटिएर चौतारा नगरपालिका भर्खरै कार्यान्वयनमा आएकाले नक्सा पास रोकिएको छ। प्राधिकरण गठन नभएकै कारण नक्सा पास रोकेको नगरपालिकाका अधिकारी बताउँछन्। सहरी भवन विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका अनुसार ढुंगामाटाका भूकम्पप्रतिरोधी १७ प्रकारका घरका डिजाइन प्राप्त भइसकेको छ। सबैभन्दा सस्तो मानिने यी डिजाइनका न्यून लागत लाग्ने घर बनाउनै साढे ४ लाख रुपैयाँ खर्च हुने भवन डिभिजनका अधिकारी बताउँछन्।

प्रकाशित: १८ मंसिर २०७२ २२:११ शुक्रबार