लेखक वाङले ४५० पृष्ठको पुस्कमा नेपालको इतिहास, भूगोल, संस्कृति, अर्थतन्त्र र सैन्य संरचना समेटिएको जानकारी दिए। बेइजिङमा नेपाल आध्ययनसँग सम्वद्ध करिब चार दर्जन सहभागीबीच प्रोफेसर वाङले नेपाल सम्बन्धी पहिलो पुस्तक लेख्दाको अनुभव सुनाउँदै दोस्रो संस्करणमा २००४ यताको नेपाल समेटिएको बताए। 'सन् २००० मा नेपाल जाँदा सायद नेपालबारे अध्ययन गर्ने मेरो पुस्तामा म पहिलो चिनियाँ थिएँ, त्यसैले राजा वीरेन्द्रले पनि मसँगको भेटमा पुस्तक लेख्न उत्प्रेरित गरे', वाङले भने।
चीनका लागि नेपाली राजदूत महेश मास्के र नेपालका लागि चिनियाँ पूर्व राजदूत लीउ तप्याओले पुस्तक लोकार्पण गरेका थिए। राजदूत मास्केले प्रोफसर वाङले नेपालका तत्कालीन राजा र माओवादी विद्रोही दुवै शक्तिलाई भेटेको उल्लेख गर्दै नेपालको शान्ति प्रक्रियालाई अगाडि बढाउन पनि उनको भूमिका रहेको बताए ।
चाइनिज एकेडेमी अफ सोसल साइन्सको लगानीमा सोसल साइन्स एकेडेमिक प्रेसले १९९८ यता 'गाइड टु वर्ल्ड नेशन' परियोजना अन्तर्गत १६३ देश तथा अन्तर्राष्ट्रिय संघसंस्थाबारे लेखिएका १४४ पुस्तक चिनियाँ भाषामा प्रकाशित गरिसकेको छ। प्रकाशन संस्थाका प्रमुख स्ये सौ क्वाङ्गले चीन–नेपाल दौत्य सम्बन्धको ६०औँ वर्षगाँठको कोसेलीको रुपमा वाङको पुस्तकको दोस्रो संस्करण आएको बताए।
'चीनमा नेपालबारे सबभन्दा धेरै पढिएको पुस्तक यही हो र यसको पहिलो संस्करणले चिनियाँ नागरिकमा नेपालबारे आँखा खोलेको थियो, दोस्रोले चिनियाँ पाठकमा नेपाल सम्बन्धी बुझाई अझै गहिरो बनाउने विश्वास छ', क्वाङ्गले भने।
प्रकाशित: १७ मंसिर २०७२ ०२:०० बिहीबार