मुगु-आफैले जन्माएका चार छोराछोरी हराएको नाटक गरेर हत्या गर्ने ह्याङ्गलु ६ रिगा गाँउका नन्द बहादुर रोकाया प्रहरी नियन्त्रणमा छन्। उनले प्रेमिकाको लहैलहैमा लागेर चारजना नाबालक छोराछोरीको कोदालोले हानेर हत्या गरेको स्विकारेका छन्।
असोज ९ गते छाेराछोरी हराएको भनि नाटक गरेका रोकायाले सोहीदिन बिहान चारबजे नै चारैजना सन्तानको हत्या गरेका खुलेको छ। श्रीमती मेलामा गएको मौका पारेर सुतिरहेका चारैजना छोराछोरीको ज्यान लिएको उनले प्रहरी बयानमा खुलाएका छन्। ९ वर्षीया छोरी सुन्तली रोकाया, ६ वर्षका छोरा युवराज, ४ वर्षकी छोरी विपना र २ वर्षका छोरा दिप रोकायाको उनले हत्या गरेका हुन्। चारैजना छोराछोरीलाई बिहान झिसमिसेमै ओछयानबाट उठाएर घर नजिकैको बारीमा रहेको खरीको फल खान जने भन्दै घरदेखि १ सय मिटर टाढा पुर्याएका थिए। पत्नी बिहान सखारै मेला गएको माैकामा छोराछोरी उठाएर बारीमा लगेर कोदालोले हानेर चारैजनाको हत्या गरेका प्रहरी बयानमा खुलेको हो। प्रहरी श्रोतका अनुसार हत्या गर्नुको मुख्य कारण रोकायाकी प्रेमीका बताइएको छ। प्रहरी श्रोतका अनुसार सोझो स्वभावकी पत्नीको अाँखा छलेर सन्तानको हत्या गरेर उनले प्रेमिका भित्र्याउने योजना बुनेका थिए।
प्रहरीले ति युवती पक्राउ गरेको बताए पनि अनुसन्धान जारी रहेको भन्दै नाम भने खुलाएको छैन।
बिहानै मेला गएकी नन्दकी २५ बर्षीया पत्नी बाँचु रोकाया बिहान ९ बजे घर फर्किदा छाेरोछोरी घरमा थिएनन्। रातीसम्म छोराछोरी नफर्केपछि अर्कोदिन सुकाढिक प्रहरीमा जानकारी गराएर खोजीकार्य थालिएको थियो। प्रहरी र स्थानीयले खोजी गर्दा तीनदिनसम्म चारैजना छोराछोरी फेला परेनन्।
१३ गते प्रहरीले बारीको एक छेउमा माखा भन्केको अवस्थामा चारैजनाको शव खाल्टोमा पुरिएको अवस्थामा फेला परेको थियो। प्रहरीले शंकाको अाधारमा रोकायालाई नियन्त्रणमा लिएर बयान लिएपछि तथ्य खुलेको हो। शव पोष्टमार्टमका लागि मंगलबार सदरमुकाम गमगढी लगिएको थियो। चारैजनाको शव मंगलबार दाहसंस्कार गरिएको छ।
नन्दबहादुरले घरमा हुँदा छोराछोरीलाई असाध्यै माया गर्थे। उनी केहीसमयका लागि घर बाहिर गएको बेला अर्कै युवतीसँग नजिकिएका थिए। घर फर्केपछि पनि उनको ति युवतीसँग लामो फोन सम्पर्क हुने गरेको थियो। पत्नी बाँचुले पतिमाथि शंका गरेकी भएपनि सोझो स्वभावकी भएकाले केही भन्न नसकेको प्रहरी अनुसन्धानमा खुलेको छ।
सात दिनका लागि जिल्ला अदालतबाट म्याद थप गरि रोकायालाइ प्रहरी हिरासतमा राखिएको निमित्त प्रहरी नायव उपरीक्षक लोकबहादुर जिसीले बताए।
प्रकाशित: १५ मंसिर २०७२ ०७:०६ मंगलबार