प्रहरीले प्रयोग गर्ने मोडलको सो पेस्तोल संगठनको भएको आशंकामा टाइप ५४ को सिरियल नम्बर २९०२०८२७ प्रहरी प्रधान कार्यालयमा रहेको हतियारको विवरणमा भिडाउँदा २०४५ सालमा प्रहरी प्रधान कार्यालयले तत्कालीन जिल्ला प्रहरी कार्यालय भक्तपुरको नाममा दिएको खुलेको थियो। भक्तपुर प्रहरीले सो हतियारको विवरण खोज्दा २०६२ माघ १ गते दधिकोटमा रहेको इलाका प्रहरी कार्यालयमा भएको माओवादी आक्रमणमा पेस्तोल लुटेको पत्ता लागेको महशाखाका एसपी सहकुल थापाले जानकारी दिए।
राजाको प्रत्यक्ष शासनकालमा नगर निर्वाचनको तयारी भएपछि तत्कालीन नेकपा माओवादीले थानकोटसँगै दधिकोटस्थित इलाका प्रहरी कार्यालयमा आक्रमण गरेको थियो। बेलुकाको समय पारेर भएको आक्रमणमा नेपाल प्रहरीका सई हरिप्रसाद वाग्लेको मृत्यु भएको थियो भने ८ प्रहरी र १ सर्वसाधारण घाइते भएका थिए। ठाकुरको साथबाट फेला परेको हतियार वाग्लेको नाममा जारी भएको खुलेपछि सशस्त्र द्वन्द्वताका माओवादीले लुटेको हतियार रहेको खुलेको हो।
प्रहरीको गोली लागेर घाइते भएका ठाकुरको वीर अस्पतालमा उपचार भइरहेकाले प्रहरीले सो हतियार उनले कोसँग लिएका हुन्, प्रहरीले खुलाउन सकेको छैन। अस्पतालमा रहेका उनले प्रहरीसामु बयान दिन मानेका छैनन्। जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत रहँदा प्रहरीको एसएलआर चोरी गरी भूमिगत समूहलाई बेचेको आरोपमा उनी २०६९ साउन २० पक्राउ परेका थिए। २०६७ भदौमा प्रहरी कार्यालयबाट हतियार हराएको थियो। प्रारम्भिक अनुसन्धानमा घटनामा ठाकुर नतानिए पनि हिरामन साह कानु र बिकाउ चौधरीको पक्राउपछि एसएलआर ठाकुरले चोरी गरी कोठामा लुकाएर राखेको र २०६९ मा भूमिगत सशस्त्र समूह तराई जनतान्त्रिकका अग्नि भन्ने सुनिल जैसवाललाई १ लाख २६ हजार बेचेको खुलेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइए पनि प्रहरी सुरक्षा घेराबाटै भागेका थिए।
महाशाखाका एसपी थापाका अनुसार ठाकुरसँगै संलग्न रहेको आशंकामा पक्राउ परेका राजकुमार पटेल र उनीबीचको सम्बन्ध खुल्न सकेको छैन। पटेललाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाए पनि उनले आफूले ठाकुरलाई नचिन्ने बयान दोहोर्याैइरहेका छन्।
प्रकाशित: १४ मंसिर २०७२ २१:१२ सोमबार