पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित अध्ययन भ्रमणलाई नेपाल पर्यटन बोर्ड र हिमालयन म्याप हाउसको सहयोग थियो। समूहमा म पनि थिएँ। करिब १ घन्टा १५ मिनेट काठमाडौंदेखि धनगढीसम्म हवाई र धनगढीबाट १० घन्टा गाडी यात्रामा हाम्रो समूह बझाङको कँडेल गाविसस्थित जयपृथ्वीनगर पुग्यो। यहाँबाट सूर्मासरोवर हुँदै सैपाल बेस क्याम्पसम्मको पदयात्रा सुरु हुन्छ।
जयपृथ्वीनगर समुद्री सतहबाट २,२१४ मिटर उचाइमा पर्छ। चिसो हावापानी भएको यो स्थान ऐतिहासिक महत्वको छ। मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको जन्मथलो पछि गएर जयपृथ्वीनगर नामकरण गरिएको स्थानीय बताउँछन्। उक्त दरबार जीर्ण छ। दरबारमा प्रयोग गरिएका इँटा चौरमा छरिएका छन् भने कति त स्थानीयले रहर गर्दै लगेको सत्यवादी उच्च माविका प्रधानाध्यापक भैरवबहादुर कडायत बताउँछन्।
दरबारको भग्नावशेषमात्र देख्न सकिन्छ तर कडायत त्यसलाई उत्खनन गरी संरक्षण गर्न सके ऐतिहासिक तथा पुरातात्िवक महत्वका सामग्री फेला पर्न सक्ने बताउँछन्। दरबार अझै एक तला जमिनमुनिसम्म छ। सोही स्थानको सत्यवादी उमाविको पनि आफ्नै कथा छ। राजा जयपृथ्वीको शिक्षाप्रेमी सोच ससुरा चन्द्रशमशेरलाई मन नपरेपछि १९६७ सालमा काठमाडौंको नक्सालमा रहेको सत्यवादी स्कुललाई बझाङमा स्थानान्तरण गरी भारतबाट शिक्षक ल्याएर अध्यापन सुरु गराए। यो स्थान चिसो ठाउँमा भएकाले जाडोमा यहाँ र चौघानपाटामा सञ्चालित सत्यवादी स्कुल चैनपुर नजिकै भोपुरमा सर्ने गर्दथ्यो। गर्मी सुरु भएपछि फेरि यहाँ र चौघानपाटामा पुनः विद्यालय सञ्चालन गर्ने गरेको स्थानीय बूढापाका बताउँछन्।
पदयात्राको पहिलो दिन जयपृथ्वीनगरबाट ठाकुलेसम्म हुन्छ। करिब छ घन्टा हिँडेपछि ३,३६४ मिटरको ठाकुले डाँडामा पुगिन्छ। बिहानीपखको सूर्योदय, टाढा–टाढासम्म फैलिएको भूगोल र डाँडाले मनलाई रोमाञ्चित बनाउँछ।
दोस्रो दिनको पदयात्रा सूर्मा गाविसस्थित दौ तालसम्म। बाटोमा जंगल, केही भैंसी खर्क, गाउँबस्ती, देवीदेवताका मन्दिर भेटिन्छन्। सात घन्टा हिँडेपछि साँझपख दौ ताल पुगिन्छ।
सूर्मासरोवर तीर्थयात्रामा जाने यात्रु यही बाटो भएर जाने गर्छन्। पहिलोपटक सूर्मासरोवर जानेले त्यो ताल हेर्नु हँुदैन भन्ने मान्यता छ। पहिला सूर्मासरोवर ताल यसैलाई मान्ने गरे पनि पछि सूर्मादेवीले आफ्नो बासस्थान स्थानान्तरण गरेपछि प्रमुख ताल नहेरी यो ताल हेर्न नहुने बुझाइ उनीहरूको छ।
करिब आधा किलोमिटरमा फैलिएको ताल गाउँबीचमा भएकाले चेतना अभावमा प्रदूषित छ। ताल संरक्षण समिति अहिले ताल घेरबारमा जुटेको छ। यसमा राज्य, पर्यटन बोर्डजस्ता संस्थाको सहयोग भए संरक्षणमा थप बल पुग्ने उनीहरूको विश्वास छ।
दौ तालको यात्रा निकै एडभेन्चरस छ। तीन दिन लगातार उकालो, डरलाग्दो भीरको बाटो हिँड्नुपर्ने हुन्छ। दौ तालमा रहेको अन्तिम मानव बस्ती आधा घन्टाको यात्रापछि छुट्छ। नाउलीबाट धुली नपुगुन्जेल मानव बस्ती भेट्न सकिँदैन। २,२६० मिटरस्थित दौ तालको उचाइबाट ४,८५० को चाँदे शिखर क्रस गर्नुपर्छ।
पदयात्रा मार्गमा भीर, हाई अल्टिच्युड सिकनेस, विषको बोटबाट जोगिनुपर्ने हुन्छ। अहिलेको अवस्थामा सूर्मासरोवरको पदयात्रा गर्न एक्सटि्रमिस्ट ट्रेकरका लागिमात्र सम्भव हुन सक्ने इडवार्डसको बुझाइ छ।
आकर्षक गन्तव्य सूर्मासरोवर पुग्न हाम्रो समूहलाई हम्मेहम्मेको अवस्थाबाट गुज्रनुपर्योन। ४,४०० मिटर उचाइमा पुगेपछि समूहमा रहेका १० मध्ये छ जना सामान्य बिरामी भए। दुई जनालाई पखाला लाग्यो भने चार जनाको टाउको दुख्यो। जति उचाइमा गयो त्यति चारैतिरको दृश्यले मन लोभ्याए पनि वरिपरिका भीरले मनमा ढ्यांग्रो बजाइरह्यो।
दौ तालबाट ढटेली, ढटेलीबाट मधुखर्क र तेस्रो दिन चाँदेशिखर पास गरेर सूर्मासरोवर पुग्ने लक्ष्य साबिकबमोजिम अगाडि बढे पनि खराब मौसमका कारण चाँदेशिखर पास गर्न र त्यहाँबाट छर्लंग देखिने अपि शैपाल हिमशृखंला दृश्यावलोकन तृप्त हुनेगरी सम्भव भएन।
सूर्मासरोवर पुग्ने यो मेरो तेस्रो प्रयास थियो। यसअघिका प्रयास असफल भइसकेका थिए। पहिलोपटक वैशाखको महिना पर्यो । विनातयारी १०–१५ फिटको हिउँमाथि सफलता पाउन सकिएन। दोस्रोपटक ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको सहयोगमा रारादेखि खप्तड हुँदै सूर्मासरोवरसम्म पदमार्ग अध्ययन कार्यक्रम बझाङको तमैलमा पुगेपछि भएको भारी वर्षाले सफल हुन दिएन।
यसपटक पनि हाम्रो समूहका प्रमुख इडवार्डस ठाकुले डाँडाको बसाइमै बिरामी भए। जाडो छल्न निकै प्रयास गरे पनि अमेरिकी नागरिकलाई ठाकुलेको चिसो हावाले भ्याइदिएछ। जसोतसो फकाउँदै दौ तालबाट ढटेली पुर्या एपछि एक्कासि मौसममा आएको परिवर्तनले असिना झारिदियो। बिहान उठ्दा त जाने बाटो हिउँले टम्म। त्यसैमाथि त्यही स्थानमा खाइखेलेका पाँच जना भरिया नै बिरामी परेपछि तेस्रोपटकको प्रयास पनि असफल हुने अवस्था नजिक पुग्यो।
अनुभवी गाइड ज्ञान बुढा र दुई जना स्थानीय भरिया तथा गाइडको सहायताले सबैभन्दा चुनौतीमा रहेको चाँदे शिखर त क्रस गरियो। यद्यपि असिनाले भने स्वागत गर्न भ्यायो।
चाँदे शिखरबाट करिब आधा घन्टा हिँडेपछि चारैतिर पहाडले घेरिएको स्थानमा सूर्मासरोवर देखियो। गाइड मानबहादुर बोहोराले औंलाले देखाउँदै भने, 'त्यही हो हजुर सूर्मासरोवर।'
इडवार्डस नेपाली बोल्ने र बुझ्ने पनि। एक छिनको मौनता तोड्दै उनले अंग्रेजीमै ठोके, 'किशोर लेक इज सरप्राइजिङ्ली स्मल!' मसँग कुनै शब्द भएन। जिल्ल परेँ, यति धेरै चर्चामा रहेको सूर्मासरोवर यति सानो त नहुनु पर्ने। सानले फेरि थपे 'बट माउन्टेनस आर इनक्रेडिबल।'
४,३३३ मिटर उचाइमा रहेको सूर्माताल पानी कम भए पनि आधा किलोमिटर क्षेत्रफलमा फैलिएको छ। ताल नजिक पुग्दा भने कम्ता आनन्द महसुस भएन, कुनै भौतिक सामग्रीको प्रयोग नगरी ढुंगाबाट तयार पारिएको सूर्मादेवीको मन्दिर, तालको कञ्चन पानी र वरपरको दृश्यले कति दिन देखिको थकित मनले चरम आनन्द अनुभूति गर्योव।
जनैपूर्णिमामा लाग्ने मेलामा त्यहाँ चढाएका पैसा, सामाग्री, सुन, चाँदी छरपस्टै देखिए। त्यति बेला चढाउनेहरूले तालमा फ्याल्ने, अहिले तालको पानी कम हुँदा सबै पूजासामग्री र चढाएका चिजवस्तु सबै देखिए।
सूर्मासरोवरलाई आधी कैलाशका नामले पनि चिनिन्छ। यहाँ दर्शन गर्न सके कैलाश पर्वत दर्शन गरेबराबर पुण्य प्राप्त हुने हिन्दुको विश्वास छ। यद्यपि स्थानीय विश्वास र मान्यता भने केही फरक छ।
भगवती दुर्गाको १६ बहिनीमध्ये एक सूर्मादेवी सबैसँग रिसाएर सूर्मासरोवरमा आएर बसेपछि तीर्थालु त्यहीँ पुगेर पुजा गर्न थालेको मानबहादुरले जानकारी दिए।
एकपटक बझाङी राजा सूर्मासरोवर पुगेर आफूले लगाएको औंठी तालमा चढाएका रहेछन्। करिब दुई दिनको यात्रापश्चात् सूर्मा गाउँ नजिकैको प्राकृतिक धारामा पानी पिउन लाग्दा हातमा औंठी आएपछि राजा अचम्भित भएको स्थानीय पुष्कर बोहोराले बताए। जनैपूर्णिमामा यहाँ बृहत् मेला लाग्छ। मेला भर्नेहरू एक महिनाअघिदेखि नै पवित्र भएर खाली खुट्टा सूर्मासरोवरसम्म पुग्छन्।
सूर्मासरोवर अवलोकनपश्चात् हामी चार बजेतिर क्याम्पसाइट तालको निक्सारीमा पुग्यौं। राति एकाएक असिनापानी पर्न थालेपछि निराश समूह आ–आफ्नो टेन्टभित्र छिर्योक। पदयात्राको तेस्रो दिनदेखि बिग्रन सुरु गरेको मौसमले धीत मर्नेगरी तस्बिर लिन दिएन। बिहान मौसम खुल्ला भन्ने कुनै आशा मनमा रहेन।
बिहान साढे पाँच बजेतिर उठ्दा त टेन्टको चेन नै खुलेन, धेरै प्रयास गरेपछि चेनमा टासिएको बरफ झरेपछि खुल्यो। पहिलो नजर आकाशमै गयो। समय ठिक अँध्यारो र उज्यालो हुने बेलाको भए पनि आकाशमा रहेका तारा र खुल्ला आकाश प्रस्टै देखियो। कतै बादलको एक टुक्रा पनि देखिएन। उत्तर पश्चिमतिर रहेका जेठी बहुरानी र अन्य हिमाल छर्लंगै देखिए।
हिजो हामीले क्रस गरेको चाँदेशिखर, सूर्मासरोवर वरपर रहेका इनक्रेडिबल माउन्टेन त हिमालका रूपमा परिणत भइसकेछन्। चारैतिर हिमालै हिमालको बीचमा हामी। प्रशस्तै फोटो खिचेर, दृश्यावलोकनको आनन्द लिएपछि हाम्रो यात्रा अगाडि बढ्यो। अन्तमा हामी चैनपुर हुदै १७औं दिनमा काठमाडौं फिर्ता भयौं।
निक्सारीबाट धनसेरा, निलकोठी, चौरपानी, कुमकाटे (सैपाल बेसक्याम्प), चौरपानी, धुली, काँडा, धलौन, तलकोट पुगेपछि सूर्मासरोवरदेखि सैपाल बेसक्याम्पसम्मको राउन्ड पदयात्रा सकिन्छ। तलकोटबाट चैनपुरसम्म पुग्न जिप भेटिन्छन्, चैनपुरबाट धनगढीसम्म पिच बाटो छ, आठ घन्टामा धनगढी पुग्न सकिन्छ।
हामीसँग गएका पाँच भरिया र गाइड त्यसै क्षेत्रका थिए। सबै आफ्नो आर्थिक अवस्थाप्रति चिन्तित देखिन्थे र त्यस क्षेत्रको पर्यटकीय भविष्यप्रति आशावादी पनि।
त्यस क्षेत्रमा पाइने महत्वपूर्ण जडिबुटी यार्चागुम्बा तथा अन्य जडिबुटीको मूल्य र उपलब्धताले ओरालो बाटो लिएपछि उनीहरू निकै चिन्तित छन्। प्रत्येक वर्ष सिजन कुर्योम तर न यार्चा भेटिन्छ न भनेअनुसार पहिलेजस्तो मूल्य नै। यार्चाका कारण धेरै घरपरिवार ठाउँ नै छाडेर जानुपर्ने अवस्था आएको मानबहादुरले बताए। दुई–तीन वर्षयता यार्चा सोचेजस्तो भेटिएन, मूल्य पनि सोचेजस्तो नपाएपछि ठाउँ नै छोडेर हिँड्नुपर्ने अवस्था आयो।
सूर्मासरोवरको तल्लो क्षेत्रमा पुगेपछि हामीले दिनमा करिब पाँच–छ पटकसम्म बन्दुक पड्केको आवाज सुन्यौं। यसरी वन्यजन्तुको चोरी–सिकारी बढ्दै जाने हो भने पर्यावरणको अवस्था के हुने?
स्थानीय तयार भएर राज्यले लगानी गरे सैपाल सूर्मासरोवर क्षेत्रलाई समयमै संरक्षण क्षेत्र घोषणा गर्नुको विकल्प छैन। त्यो पर्यटनका दृष्टिबाट होस् या स्थानीय बासिन्दाको भोलिको भविष्यका हितमा, या पर्यावरण संरक्षणको पक्षमा नै किन नहोस्।
सूर्मासरोवर क्षेत्रमा जाने बाटो अत्यन्तै कठिन छ। पर्यटन मन्त्रालयबाट बर्सेनि पाँचदेखि आठ लाखसम्म बजेट तथा कार्यक्रम छुट्याइन्छ तर रकम सदुपयोग भएको देखिँदैन। जिविसले राजनीतिक संयन्त्रको समिति बनाएर योजना अघि बढाउँछ तर काम कहिल्यै हुँदैन। अनुगमन न जिविसले गर्छ न मन्त्रालयले, स्थानीय सरोकारवालाको गुनासो यस्तै छ। बरु जनश्रमदानबाट बनेका बाटा हेर्न र हिँड्न लायक छन्।
प्रकाशित: ११ मंसिर २०७२ २१:०५ शुक्रबार