उनीहरूले मिथिला चित्रमा रङ भर्दा मण्डलको मनमा खुसी भरिन्छ। मिथिला चित्रकलामा जुटेका फरक समुदायका उनीहरू रङ घुलेजस्तै एक–अर्काको खानपिन, संस्कृति र जीवनशैलीमा रमाइलो पाराले घुलमिल भइरहेको देख्न सकिन्छ। 'कामसँगै मेरो संस्कृति जीवन्त भइरहेको महसुस हुन्छ,' जनकपुरबाट आएका मण्डलले सुनाए।
चित्र कोर्ने क्रममा अनुषाको मोबाइलमा बज्दै गरेको लोकदोहोरी सरिता मण्डल चाख मानेर सुन्छिन्। सरिताको मोबाइलमा बज्दै गरेको मिथिला धुन वैद्य गुनगुनाउँछिन्। कहिले मगर संस्कृतिको कुरा हुन्छ, कहिले साकेला र चण्डीको चर्चा चल्छ। 'सबै समुदायको बारेमा यहीँ बसेर बुझ्ने मौका मिलेको छ,' मण्डल सुनाउँछन्, 'सबै नेपाल एकै ठाउँमा भेटेको जस्तो लाग्छ।'
कामको सिलसिलामा दुई दशकअगाडि राजधानी आएका मण्डल आठ वर्षदेखि थिमिमा छन्। सुरुमा नजिकै रहेको प्रजापतिको पसलमा निर्माण हुने माटाका भाँडामा मिथिला चित्र कोर्दे आएका उनले अहिले मिथिला चित्रअंकित हस्तकलाका सामग्री निर्माण गर्दै आएका छन्। 'वैशाख १२ गतेको भूकम्पमा पनि हामी सबै समुदायका मानिस एकै पालमुनि मिलेर बस्यौं,' उनले भने, 'नजिक भएर बस्दा एक–अर्कोको सम्बन्ध राम्रो हुँदो रहेछ।' एक–अर्कालाई राम्ररी बुझ्न सके कोही पराई नहुने उनले बुझेका छन्।
मण्डलको पसलमा कामको क्रममा फरक समुदायको जमघट भएजस्तै यति बेला मुलुकका विभिन्न भागबाट राजधानीमा आएका विभिन्न जातजाति एक–अर्कासँग घुलमिल हुने क्रम बढ्दो छ। भर्खरै सकिएको छठ पर्वको अवसरमा नदी किनारमा देखिएको सद्भाव होस् या देउसी भैलोमा देखिएको समावेशी गीत–संगीतको नाचगान। नेपाली समाज एक–आपसमा सजिलै घुलमिल हुने गरेको भेटिन्छ। गुरुङ भेषभूषामा सजिएर भैली खैल्दै आएका बाहुन चेली हुन् या दौरा सुरुवालमा सजिएर देउसी खेल्दै गरेका नेवार पुरुष। दुवैले संस्कृति भट्याइरहेका थिए। लाउडस्पिकरमा बज्ने 'माथिमाथि शैलुंगेमा चांैरी डुलाउनेलाई' देखि 'घुम्तीनेर लेट भयो'जस्ता धुन सुन्ने सबै ताली बजाउन बाध्य हुन्छन्।
वाग्मती किनारमा जनकपुरकी रामदुलारी साहसँगै छठ मनाउन आएकी जोरपाटीकी धनलक्ष्मी श्रेष्ठले साथीको पर्व सँगै मनाउन पाउँदा रमाइलो लागेको सुनाएकी थिइन्। उता रामदुलारीलाई साथीसँग पर्व मनाउनुको मज्जा त थियो नै त्योभन्दा बढ्ता खुसी धनलक्ष्मी र आफ्नी छोरीबीचको मित्रताले दिएको थियो। 'उनीहरूले सँगै सूर्यलाई अर्घ दिएको देखेर मलाई निक्कै खुसी लाग्यो,' उनले भनिन्, 'उनीहरू सधैं यसै गरी मिलून् भन्ने चाहन्छु।' चाडपर्वले एक–अर्कालाई जोड्ने काम गरेको उनको बुझाइ छ। एक–अर्काको संस्कृतिमा घुलमिल हुन पाएकोमा उनीहरू खुसी देखिए।
यति बेला काठमाडौं राजनीतिक राजधानीमात्र नभई सांस्कृतिक राजधानीका रूपमा पनि चिनिन थालेको छ। यहाँ हिमालका शेर्पाहरू ल्होछार मनाउँछन्। तराईका थारूहरू सखिया नाच्छन्। पूर्वी पहाडका राई–लिम्बूहरू उँधौली–उँभौली मनाउँछन्। सुदूरपश्चिमका बासिन्दा देउडा नाच्छन्। राजधानीमा पनि विशेषगरी टुँडिखेल त सिंगो देशजस्तै लाग्छ। घोडादौड र राजनीतिक भाषणस्थलका लागि चिनिँदै आएको राजधानीको टुँडिखेल पछिल्लो समय विभिन्न जातजातिको मेला–महोत्सवले 'साझा फूलबारी' बनेको छ। त्यो पनि देशका अनेक जातजाति, भाषाभाषीको साँस्कृतिक पहिचान प्रस्फुटन गर्ने मेला, जुन आफैंमा बहुल, विविध र समावेशी हुन्छ।
ती उत्सव या पर्वमा सम्बन्धित जातिका मानिसमात्र नभई अन्य जातिको उपस्थिति पनि देखिन्छ, जुन सांस्कृतिक सहिष्णुताका हिसाबले एकताको बलियो आधार बनेको छ। संस्कृतिका कारण सबै समुदायका मानिसले एक–अर्कालाई बुझ्ने अवसर पाएका छन्।
समाजशास्त्रका प्राध्यापक बलराम आचार्य नेपाली समाज प्राचीन समयदेखि नै अत्यन्तै मिलनसार स्वभावको भएको बताउदै यहाँ सदैव सौहार्दताको माहोल रहेको बताउँछन्। 'हाम्रो समाज मेल्टिङ पटजस्तो छ,' उनले भने, 'सामाजिक र सांस्कृतिक घुलनले एक–अर्कालाई मजबुतसँग जोडेको छ।' आर्य र मंगोल समुदायको सम्मिश्रण रहेको नेपाली समाजमा कला–संस्कृति एक–अर्कासँग जोडिएको छ। यहाँ बुद्ध र शिव एउटै मन्दिरमा भेटिन्छन्। तराई, पहाड र हिमाललाई एउटै पर्वले जोड्न सक्छ।
नेपाली समाजमा पछिल्लो समय देखिएको समस्यालाई बोक्रे समस्या बताउँदै उनले गुदीमा केही समस्या नभएको उनले बताए। 'राजनीति गर्नेले केही बिग्रहका कुरा गर्छन्,' उनी भन्छन्, 'तर यथार्थताको धरातलमा सबै मिलेर बसेका हुन्छन्।' अभाव र अप्ठ्याराका बाबजुद समाज एक हुँदै आएको उनले सुनाए। 'पछिल्लो भूकम्पको समस्यामा सबै समुदाय मिलेर एक–आपसलाई सहयोग गरेको हामीले देख्यांै,' उनले भने, 'यही नेपाली समाजको मूल पहिचान हो।'
बाराका सिकन्दर यादव कामको सिलसिलामा दुई दशकअगाडि राजधानी आएका हुन्। उनी सबैसँग मिल्छन्। निर्माण काममा संलग्न उनले हजारांै पक्की घर निर्माण गरे। घरसँगसँगै उनले यहाँको समुदायमा मजबुत सम्बन्ध निर्माण गरेका छन्। 'अब त मेरो भान्जा ‐दरोगा शर्मा) लाई पनि यहाँका दाजुभाइले भान्जा भन्न थाल्नुभएको छ,' उनले मुस्कुराउँदै भने, 'मैले यहाँ आफ्नो संसार बनाइसकेँ।' केही समयअगाडि यहाँका केही साथीभाइलाई छठ पर्व देखाउन उनले आफ्नो गाउँ लगेका थिए। 'सबै जना खुसीले रमाउनुभयो,' उनी खुी छन्, 'म पनि यहाँको पर्वमा उहाँहरू जत्तिकै रमाउने गरेको छु।' सिकन्दरको घर पुगेका मूलपानीका विनोद गजुरेल सिकन्दरको गाउँलेले गरेको न्यानो स्वागत अझै सम्झन्छन्। जाँदा आफूहरू निक्कै रमाएको सुनाए। 'उनका घरपरिवारले मात्र होइन गाउँलेले पनि पाहुनको रूपमा स्वागत गरे,' उनले भने, 'निक्कै रमाइलो वातावरणमा हामीले त्यहाँ समय बितायौं।'
बनेपाकी नविना अधिकारी सूर्यविनायकमा बस्छिन्। नेवार बाहुल्य यो समाजमा उनी आफू यहीँ घुलमिल हुँदै आएकी छिन्। 'साथीहरू बिस्केटको भोज खुवाउँछन्, म कुलदेवताको पूजाको प्रसादी बाँड्छु,' उनले भनिन्, 'मलाई फरक समुदायमा आएको कहिल्यै महसुस भएन।' काम गरेर जीविका चलाउनेको लागि सबै समुदाय उत्तिकै प्यारो लाग्ने उनको भनाइ छ।
संस्कृतविद् तेजेश्वरबाबु ग्वंगःका अनुसार नेपाली समाजलाई प्रकृतिले नै समावेशी बनाएको छ। नेपालीहरू हिमाल, पहाड, तराई जहाँ पुगे पनि त्यहीँको जनजीवन र संस्कृतिमा सजिलै घुलमिल गर्ने गरेको उनले बताए । 'हिमालको शेर्पा तराई झर्दा बख्खु छाडिसकेको हुन्छ,' उनले सुनाए, 'कुनै मधेसी हिमाल पुग्दा ज्याकेट भिरिसकेको हुन्छ।' धार्मिक, सांस्कृतिक, भेषभूषा र कर्मले नेपाली समाजलाई एक बनाएको उनले सुनाए।
कला–संस्कृति कुनै व्यक्ति, जाति वा देशको मात्र हुँदैन। यो सबैको साझा हुन्छ। यही साझा संस्कृतिले सबैलाई एकजुट बनाइरहेको छ। संस्कृतिले नेपाली–नेपालीमात्र होइन संसारभरका नागरिकलाई समेत जोड्ने काम गरेको ग्वंगः बताउँछन्। 'त्यसैले त नेपालका कला–संस्कृतिहरू विश्वसम्पदा सूचीमा परेका छन्,' उनले भने, 'यसले संसारलाई नजिक्याउने काम गरेको छ।' लिँडेढिपी र रुढीवादका कारण समाजमा कहीँकतै विग्रह आएजस्तो देखिए पनि सर्वसाधरणबीच भने सहिष्णु भावना र एकताको चाहना रहेको उनले बताए।
प्रकाशित: ११ मंसिर २०७२ २१:१८ शुक्रबार