अन्य

सप्तरीमा फेरि प्रहरी चौकी जलाइयो

सप्तरी- सप्तरी जिल्लाको विभिन्न स्थानमा प्रहरीले चलाएको गोलीबाट तीन जनाको मृत्यु भएको आक्रोशमा मधेसी मोर्चाका प्रदर्शनकारीहरुले आज बिहान एक प्रहरी चौकीमा आगजनी गरेका छन्। जिल्लाको कोलाडी बसाइन-१ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजनी गरेको राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिए।शनिबार रातिदेखि तनाव रहेको सप्तरी आज बिहानबाट पुनः ठाउँठाउँमा प्रदर्शन सुरु भएको छ। सदरमुकाम राजविराजमा बिहानदेखि आन्दोलकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेको मोर्चाले जनाएको छ।

सप्तरी प्रशासनले सदरमुकाम राजविराज तथा पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि पश्चिमको बलान खोलासम्म अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ। रासस

मधेसकेन्द्रित दलहरूको आन्दोलन 'अराजक' बन्दै गएको ठहर गर्दै सरकारले नेपाल–भारत सीमा नाका र राजमार्गमा सेना खटाउने तयारी गरेको छ। गृहमन्त्रालय मातहतको सुरक्षा संगठनले मात्रै अवरोध हटाएर राजमार्गमा आवागमन सञ्चालन गर्न सम्भव नदेखिएको तथा आन्दोलनरत मधेसी मोर्चासँग तत्काल सहमति नहुने निष्कर्ष निकाल्दै सरकारले अवरोध हटाउन सेना खटाउने तयारी गरेको हो।

प्रकाशित: ६ मंसिर २०७२ २२:४६ आइतबार