अन्य

इतिहाससँगै आत्मश्लाघा

लेखकद्वय सिडोनी स्मिथ र जुलिया वाट्सनले उनीहरूको पुस्तक 'रिडिङ अटोबायोग्राफी : अ गाइड फर इन्टरप्रेटिङ लाइफ न्यारेटिभ्स'को एपेन्डिक्समा सूचीबद्ध गरेका जीवनी लेखनका प्रमुख ५२ विधामध्ये 'आत्मलेखन' अर्थात् 'आत्मकथा' एक हो।यो विधाको ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने यो शब्द अर्थात् 'अटोबायोग्राफी' ग्रिक भाषाका शब्दहरू 'अटस' (आत्म), 'बाओस' (जीवन) र 'ग्राफे' (लेखन) बाट बनेको हो जसले 'आत्मजीवनी लेखन' बुझाउँछ। ब्रिटीस कवि तथा समालोचक स्टेफेन स्पेन्डरले यस विधालाई 'आफैंद्वारा आफ्नै बारेमा लेखिएको कथा' भनेर परिभाषित गरेका छन् भने फ्रेन्च विचारक फिलिपे लेजुनेले आत्मकथाको क्षेत्रलाई व्यापक बनाउँदै परिभाषित गर्दै लेखेका छन्, 'आत्मलेखन आफ्नो अस्तित्व वा पहिचान निर्माणको लागि विगतको बारेमा गद्यमा लेखिएको कथन हो।'

अठारांै शताब्दीका अंग्रेज कवि एवं विद्वान् एन इयर्सलेले आफ्नो कविता संग्रहको भूमिकामा यो शब्दको प्रयोग गरेको भए तापनि केही समालोचक भने रोबर्ट साउदीलाई यस शब्दको प्रथम प्रयोगकर्ताको श्रेय दिन्छन्। अर्का खोजकर्ता रोबर्ट फोल्केनफ्लिकले अटोबायोग्राफीको विस्तृत अध्ययनमा यो शब्दको सुरुवात अठारौं शताब्दीको अन्त्यमा भएको हो भनेर उल्लेख गरेका छन्।

पछिल्ला केही वर्षमा नेपालमा पनि आत्मलेखनको चलन ह्वात्तै बढेको छ। आफैंले लेखेर वा लेखाएर। यही सिलसिलाको निरन्तरतास्वरूप रमेशनाथ पाण्डेको 'कूटनीति र राजनीति' शीर्षकको आत्मकथा हालसालै बजारमा आएको छ।

पाण्डेको आत्मलेखनले अटोबायोग्राफी समालोचनाका पहिलो पुस्ताका विचारक जर्ज मिस्चको परिभाषालाई मात्र पुष्टि गर्छ। मिस्चले परिभाषामा भनेका छन्, 'आत्मलेखन तिनीहरूले लेख्छन्, जसले सार्वजनिक जीवन बिताएका छन्, जसले देशका महत्वपूर्ण ऐतिहासिक घटनाहरूमा भूमिका खेलेका छन्, जसले सामाजिक जीवनमा ख्याति वा कुख्याति कमाएका छन् र समाजको प्रतिनिधित्व गर्दछन्।'

पाण्डेले आफूलाई नेपाली समाजका राजनीतिक, सामाजिक क्षेत्रमा प्रभाव पार्न सफल व्यक्तिका रूपमा चित्रित गरेका छन्। युवावस्थादेखि नै सक्रिय रहेर आफू नेपाली राजनीति र कूटनीतिको एक अभिन्न अंग रहेको प्रमाणित गर्ने प्रयास नै यो पुस्तकको प्रमुख विषयवस्तु हो। हुनत 'आत्मलेखन' आत्मरति अर्थात् आत्मश्लाघा अभिव्यक्ति गर्ने विधा नै हो यद्यपि घटनाहरूको समीक्षात्मक विश्लेषण पाठकहरूको चाहना हुन सक्छ।

लेखकले आफ्ना दलिलहरूको प्रमाणस्वरूप देशी–विदेशी पत्रिकामा प्रकाशित लेख तथा समाचार, पारिवारिक तथा अफिसियल तस्बिरहरू, पोस्टकार्ड, बिपी कोइराला, क्रिस्टिना रोक्काले उनलाई पठाएका पत्रहरू, कार्टुन चित्र, सम्पादकलाई चिठी आदिलाई समेत समावेश गरेका छन्। किताबको अन्त्यको अन्तर्वार्ता लगायतका यी प्रमाणहरूको सहायताबाट उनी आफ्ना तर्कहरूलाई थप विश्वासिलो बनाउन चाहन्छन् तथापि घटनाको पत्रकारीय जानकारीले पुस्तकलाई साँघुर्याहएको छ।

पुस्तकमा उनले पत्रकार, राजनीतिज्ञ र कूटनीतिज्ञ हुदाँका अनुभवलाई सारगर्भित रूपमा प्रस्तुत गरेका छन्। पत्रकारको रूपमा 'नयाँ सन्देश' साप्ताहिक निकाल्न सुरु गरेदेखि बीचबीचमा भोग्नुपरेका प्रतिबन्ध र यसको निरन्तरताका सकस, अन्य पत्रिकासँगको संलग्नता तथा पत्रकारको नाताले देश–विदेश सयर गर्दाका सुखानुभूति र विभिन्न रमाइला क्षणहरू पुस्तकमा वर्णन गरेका छन्।

राजनीतिज्ञका रूपमा लगभग सत्र वर्षको उमेरदेखि नै नेपाली राजनीतिमा सक्रिय हुँदै आएका प्रमाण प्रस्तुत गरेको छ, पाण्डेको अटोबायोग्राफीकल 'आई'ले। यद्यपि भनिएको अर्थात् 'न्यारेटेड आई'ले व्यक्त गरेका कुराको निर्णायकचाहिँ पाठकवर्ग नै हुन्। यति सानै उमेरदेखि नै राजनीतिको प्रभाव परेका पाण्डे परराष्ट्र मन्त्री समेत भए, देशको प्रतिनिधि भएर देश देशावर घुमे तथापि राजदूत बन्ने चाहना भने पूरा नभएको कुरालाई पटकपटक अभिव्यक्त गरेका छन्।

नेपालका नेताहरूले राष्ट्रियता कसरी बन्धक राखेका रहेछन् भन्ने कुराको झलक पनि पाइन्छ पुस्तकमा। आफू विभिन्न भूमिकामा रहेको बेला सम्पर्क र सम्बन्धमा आएका व्यक्तिहरूप्रति उनको गजबको मूल्यांकन छ। आफूलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने सिलसिलाको प्रसंगमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वभावलाई यसरी जोडेका छन्, 'आफ्नो स्वार्थ पूरा गर्ने मामिलाबाहेक वचन पालना गर्ने स्वभावै थिएन। कुरा फेर्ने, अन्तिम घडीमा सम्पर्कमा नै नआउने उहाँको बानी नै थियो।' सोही प्रसंगमा उनले माधव नेपाल र बामदेव गौतमलाई अडान भएका नेताका रूपमा चित्रण गरेका छन्।

उनको पुस्तकमा नेपालका छिमेकी राष्ट्र भारत र चीन तथा मित्रराष्ट्र अमेरिका, रुस, ब्रिटेनसँगको विभिन्न कालखण्डमा रहँदै आएको नेपालको सम्बन्धलाई समेत उजागर गर्न खोजेका छन्। सार्कको स्थापना, इरानी क्रान्ति, सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, नेपालको माओवादी आन्दोलन र विदेशी भूमिकाजस्ता विषय समेटेर पुस्तकलाई 'ऐतिहासिक स्वरूप' दिने प्रयास गरेका छन्। उनले बेलायतले नेपालको गुन तिर्न नसकेको तथा भारतको कर्मचारीतन्त्र भने कमजोर प्रधानमन्त्री भएको बेला देश नै चलाउने गरेको भन्ने तर्क गरेका छन्। २०१७ सालको सेरोफेरोबाट सुरु भएको पुस्तक त्यसयताका महत्वपूर्ण ऐतिहासिक सूचनाहरू उतार्न भने सफल छ।

उनको कच्चा उमेरमा नै तत्कालीन राजनीतिका दुई ध्रुव— राजा महेन्द्र र बिपी कोइरालालाई एकै ठाउँमा ल्याउन उनले खेलेको भूमिका अवश्य नै महŒवपूर्ण छ। यस सर्न्दभमा तत्कालीन फिल्ड मार्सल निरसमसेर समेत चकित परेको कुरालाई उनले यसरी लेखेका छन्, 'त्यस्तो संगीन बेलामा राजा र बिपीबीच वार्ता गराउने मानिस भर्खर जुँगाको रेखामात्रै बसेको केटो होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ।' यद्यपि जेलमा रहेका बिपीलाई उनले भेट्दाको प्रतिक्रिया र बिपीले परिवारमा पठाएको एक चिठीमा लेखिएको 'रमेशलाई पनि छिट्टै नहडबडाउनु भन्नु। उसका बारे तिमीले सुनेका कुरा साँचो वा झुट्टा पनि हुुन सक्छन्। त्यसैले सतर्क रहनु' भन्ने वाक्यबाट पनि बिपीको पाण्डे प्रतिको विश्वास थाहा हुन्छ।

पाण्डे पछिल्लो समयमा खच्किँदै गएको नेपालको कूटनीतिप्रति चिन्तित देखिन्छन्। विसं २०२६ र २०४४ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी राष्ट्रमा निर्वाचित नेपाल त्यसपछि राष्ट्रसंघको कुनै महŒवपूर्ण पदहरूमा स्थान नपाउनुमा हाम्रो कूटनीतिलाई दोषी देख्छन्। विसं २०६१ मा युनेस्कोको कार्यकारी समितिमा नेपाल पराजित हुनु यसको उदाहरण ठान्छन्, पाण्डे।

समग्रमा, विचारक मिस्चले भनेझैं पाण्डेले पनि आफूलाई नेपाली पत्रकारिता, राजनीति र कूटनीतिको केन्द्रमा नै राखेर यो पुस्तक लेखेका छन्। जुनसुकै समस्याको पनि समाधानका लागि नेताहरु आफूकहाँ आउने प्रसंग पटकपटक उल्लेख गरेर प्रायशः आफ्ना सकारात्मक कुरालाई केन्द्रमा राखेका छन्, लेखकले। यो आत्मलेखनले विश्व इतिहास तथा राष्ट्रिय इतिहासका विभिन्न घटनाक्रमलाई उल्लेख गरे तापनि पाण्डेको 'अटोबायोग्राफिकल आई' सधैं केन्द्रको वरिपरि नै घुमेको देखाएका छन्।

कृति : आत्मकथा

लेखक : रमेशनाथ पाण्डे

प्रकाशक : साङ्ग्रिला बुक्स

पृष्ठ : ७३२, मूल्य : ७७७/–

प्रकाशित: ४ मंसिर २०७२ २२:३६ शुक्रबार